खाडी देशहरूले इरानविरुद्ध जबाफी कारबाही नगर्नुका कारण

तस्बिर स्रोत, Reuters
- Author, लुइस बरुको
- Role, बीबीसी विश्व सेवा
- पढ्ने समय: ७ मिनेट
इरानले अमेरिका र इजरेलसँगको युद्धको क्रममा खाडी क्षेत्रमा क्षेप्यास्त्र हमलाहरू जारी राखिरहेको छ।
गत सात इजरेलले इरानस्थित विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यासखानी साउथ पार्समा हमला गरेपछि इरानले कतारको रास लफान ऊर्जा केन्द्रमा हमला गर्यो।
अहिलेसम्म कतार र अन्य खाडी राष्ट्रहरूले बारम्बार निसाना बनाइए पनि इरानविरुद्ध जबाफी कारबाही नगर्ने निर्णय गरेका छन्। उनीहरू किन आक्रमण गर्नबाट पछि हटिरहेका छन् र र कुन कारणले उनीहरूलाई कारबाहीतर्फ उन्मुख गराउन सक्छ?
उच्च जोखिम, सीमित फाइदा

अमेरिका र इजरेलले २८ फेब्रुअरीमा इरानविरुद्ध संयुक्त सैन्य अभियान सुरु गरेलगत्तै तेहरानले इजरेलमाथि मात्र होइन, अमेरिकासँग साझेदारी गरेका खाडी राष्ट्रहरूमाथि पनि आक्रमण गरेर प्रतिक्रिया दियो।
बाहरेन, कुवेत, साउदी अरब, कतार, ओमान र विशेष गरी यूएई उसका मुख्य निसाना बनेका छन्।
उक्त क्षेत्रका अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गर्नुका साथै खाडीका अधिकारीहरूका अनुसार इरानले विमानस्थल, होटेल, आवासीय क्षेत्र र विशेष गरी ऊर्जा संरचनाजस्ता निःशस्त्र पूर्वाधारहरूमा पनि प्रहार गरेको छ।
तैपनि अहिलेसम्म खाडी राज्यहरूले इरानविरुद्ध कुनै पनि हमला गरेका छैनन् र प्रत्यक्ष रूपमा युद्धमा सामेल भएका पनि छैनन्।
"उनीहरूको धारणामा यो उनीहरूको युद्ध होइन र प्रतिकार गर्दा उनीहरू कमजोर दर्शकबाट अझ ठूलो निसाना बन्न सक्छन् किनभने उनीहरूले गुमाउनुपर्ने कुरा पाउनेभन्दा धेरै छन्," अमेरिकी थिङ्कट्याङ्क सेन्टर फर इन्टर्न्याश्नल पोलिसीका वरिष्ठ गैरआवासीय फेलो सिना टूसी भन्छन्।
टुसीका अनुसार पछाडि हट्ने यो निर्णय "जोखिम, रणनीतिक हिसाबकिताब र सीमित फाइदाको संयोजन"बाट आएको हो।
उनले उल्लेख गरेअनुसार खाडी राष्ट्रहरूको अर्थतन्त्र ऊर्जा पूर्वाधार, समुद्री ढुवानी र लगानीकर्ताको विश्वासमा निर्भर छ "जसलाई इरानले अवरुद्ध गर्न सक्ने क्षमता देखाइसकेको छ।"

उनका अनुसार इरानले पर्सिअन गल्फ र स्ट्रेट अफ होर्मुज विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण दुई जलमार्गहरूलाई आफ्नो मुख्य दबावको साधनका रूपमा प्रयोग गर्दै आएको कुरा ख्याल गर्नुपर्छ।
यद्यपि, ट्रेन्ड्स रिसर्च एन्ड एड्भाइजरीका वरिष्ठ प्रबन्ध निर्देशक तथा ट्रम्प प्रशासनको पहिलो कार्यकालका पेन्टागन अधिकारी बिलाल साबका अनुसार यदि खाडी देशहरूले इरानमाथि आक्रमण नगर्ने क्रम जारी राखे भने "उनीहरूले तेहरानलाई उसले [अरू देशमा] बिनापरिणाम गम्भीर क्षति पुर्याउन सक्ने सन्देश दिइरहेका छन्।"
"प्रत्याक्रमणको उद्देश्य छोटो अवधिमा इरानलाई आक्रमण रोक्न बाध्य पार्नु र दीर्घकालमा भविष्यका आक्रमणहरू विरुद्ध केही स्तरको प्रतिरोध सिर्जना गर्नु हुने छ।"
उनले जोखिम "निकै ठूलो" हुने बताए किनभने उनका अनुसार खाडी राष्ट्रहरूको आक्रमणले युद्धमा सार्थक प्रभाव पार्छ कि पार्दैन वा रणनीतिक रूपमा बुद्धिमानी हुन्छ कि हुँदैन भन्ने अझै स्पष्ट छैन।
साथै खाडी राष्ट्रहरूमा इजरेलसँग खुला रूपमा उभिन र आफ्नो क्षेत्रका लागि उसका लक्ष्यहरूसँग आफूलाई जोड्न हिचकिचाहट पनि रहेको किङ्ग्स कलेज लन्डनका अन्तर्राष्ट्रिय सुरक्षा विषयका प्राध्यापक रोब जाइस्ट पिन्फोल्डले बताएका छन्।
उनले थपे, "इजरेलले अमेरिकालाई युद्धमा तानेको हो भन्ने पनि छ।"
'सन् २००३ का भूतहरू मडारिइरहेका छन्'

पिन्फोल्डका अनुसार धेरै खाडी देशका नेताहरूका लागि अमेरिकी नेतृत्वमा सन् २००३मा भएको इराक युद्धको प्रभाव अझै पनि क्षेत्रीय सोचमा गहिरो रूपमा देखिन्छ।
सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गरेर सद्दाम हुसेनको सरकारलाई छिट्टै हटायो। तर त्यसपछि सत्तामा शून्यता देखा पर्यो, जसले विद्रोह, साम्प्रदायिक हिंसा र इराक तथा अन्य क्षेत्रमा समेत वर्षौँसम्म अस्थिरता निम्त्यायो।
"सन् २००३ का भूतहरू अझै मडारिरहेका छन्," पिन्फोल्ड भन्छन्।
"उनीहरूमा यसले अराजकता र अस्थिरताको ढोका खोलिदियो र इरानलाई आफ्नो प्रभाव विस्तार गर्ने अवसर पनि दियो भन्ने डर पैदा भयो। अन्ततः उनीहरूको त्यो डर सही सावित भयो।"
पिन्फोल्डका अनुसार अहिले खाडी राष्ट्रहरूलाई अमेरिका "स्पष्ट उद्देश्य वा युद्धपछि के गर्ने भन्ने योजनाबिना खुला अभियान" चलाइरहेको छ भन्ने डर छ, जसले अन्ततः मध्यपूर्व क्षेत्रलाई "अस्तव्यस्त अवस्थामै छोड्ने छ।"

तस्बिर स्रोत, EPA
तर अमेरिका र इजरेलले यो युद्ध सुरु गरेकामा असन्तुष्टि भए पनि खाडी राष्ट्रहरू अझै पनि अमेरिकी सैन्य सुरक्षामा धेरै निर्भर छन्।
अमेरिकी सैन्य अड्डा र सैनिकहरूलाई आफ्नो भूमिमा राख्नुका साथै केही खाडी देशहरू गुप्तचर सूचना साझेदारी गर्छन् र अमेरिकी हवाई रक्षा प्रणालीमा निर्भर छन्।
खाडी क्षेत्रका अधिकारीहरूका अनुसार यस्तो हवाई प्रतिरक्षाले इरानले गरेका धेरै क्षेप्यास्त्र हमलाहरूलाई रोकिदिएका छन्।
पिन्फोल्ड भन्छन्, "राजनीतिक स्तरमा उनीहरूले अमेरिकामाथि प्रश्न उठाइरहेका भए पनि सञ्चालकीय र सैन्य स्तरमा त्यो सम्बन्ध परीक्षणमा खरो उत्रिएको छ।"
गत महिना आक्रमण सुरु गरेपछि, अमेरिकाले आफ्नो सैन्य अभियानका विभिन्न उद्देश्यहरू प्रस्तुत गरेको छ, जसमा इरानको परमाणु हतियार बनाउने क्षमता नष्ट गर्नेदेखि पूर्ण शासन परिवर्तनसम्म रहेका छन्।
अझै पनि पिन्फोल्डका अनुसार खाडी देशका नेताहरू यो द्वन्द्व अन्त्य गर्ने एक मात्र उपाय कूटनीति नै हो भन्ने ठान्छन्।
"उनीहरूमाथि आक्रमण नहोस् भन्ने सुनिश्चित गर्ने एक मात्र उपाय भनेको कुनै न कुनै सम्झौता गर्नु र वार्तामार्फत् समाधान निकाल्नु हो," उनी भन्छन्।

विखण्डित क्षेत्रीय गतिशीलता

तस्बिर स्रोत, Reuters
पिन्फोल्डका अनुसार इरानले सबै खाडी राष्ट्रहरूलाई "समान तीव्रतामा" निसाना बनाएको छैन, जसले ती देशहरूसँग उसको फरकफरक सम्बन्धलाई झल्काउँछ।
यूएई युद्धका क्रममा सबैभन्दा बढी आक्रमण झेल्ने देशहरूमध्ये एक बनेको छ।
सन् २०२० मा यूएई र बाहरेन दुवैले इजरेलसँग सम्बन्ध सामान्य बनाएका थिए।
यसविपरीत इरान र पश्चिमा शक्तिहरूबीच मध्यस्थकर्ताको रूपमा लामो समयदेखि भूमिका खेल्दै आएको ओमानलाई तेहरानले निकै कम निसाना बनाएको छ।
"ओमान नै नयाँ इरानी सर्वोच्च नेता मोज्तबा खामेनेईलाई बधाई दिने एक मात्र खाडी राष्ट्र थियो," पिन्फोल्डले भने, "त्यो कुरालाई अन्य खाडी राजधानीहरूमा राम्रोसँग लिइएन।"
दुबई पब्लिक पोलिसी रिसर्च सेन्टरका महानिर्देशक मोहम्मद बहारूनले भने, "इरानले खाडी देशहरूलाई आफूविरुद्ध विस्तार हुँदै गएको गठबन्धनतर्फ धकेलिरहेको छ।"
"खाडी देशहरूलाई आक्रमण गरेर इरानले उनीहरूलाई शत्रु बनाउँदै छ र कसैले नचाहेको व्यापक युद्धको जोखिम बढाउँदै छ," उनले थपे।
बुधवार साउदी अरबमा खाडी देशका विदेशमन्त्रीहरूको बैठकपछि अरब राष्ट्रहरूले संयुक्त राष्ट्रसङ्घको धारा ५१ अनुसार आत्मरक्षाको आफ्नो अधिकारलाई जोड दिएका छन्।

जबाफी कारबाहीलाई केले उक्साउन सक्छ?

तस्बिर स्रोत, Reuters
अहिलेसम्म खाडी राष्ट्रहरूले जबाफी कारबाहीका लागि आफूलाई रोके पनि "राजनीतिक गणित छिट्टै परिवर्तन हुन सक्छ," यूकेस्थित थिङ्क-ट्याङ्क रोयल यूनाइटेड सर्भिसेस इन्स्टिट्यूट (आरयूएसआई) का वरिष्ठ को-फेलो डा. एचए हेलिअरले भने। खास गरी ऊर्जा निर्यातमा अवरोध पुर्याउने आक्रमण जारी रहे वा झन् तीव्र भए त्यस्तो परिवर्तन हुन सक्ने उनले बताएका हुन्।
उनका अनुसार सोच परिवर्तन गराउने एउटा सम्भावना भनेको ऊर्जा पूर्वाधारमा ठूलो स्तरको आक्रमण हुनु हुन सक्छ।
गत बिहीवार कतारको रास लफान ऊर्जा केन्द्रमा आक्रमण गरेपछि इरानले आफ्ना संरचनामाथि आक्रमण जारी रहे "अमेरिकाका खाडी साझेदारहरूको पूर्ण विनाश" गर्ने चेतावनी दिएको थियो।
खाडी राष्ट्रहरूको धारणा परिवर्तन हुने अर्को अवस्था भनेको इरानका क्षेत्रीय समूहहरूले उनीहरूलाई सीधै निसाना बनाउनु हुन सक्छ।
"यदि उनीहरूलाई हुथीहरूले आक्रमण गरे… त्यो अवस्थामा नयाँ मोर्चा खुल्ने छ," पिन्फोल्ड भन्छन्।
यस्तो परिस्थितिमा खाडी राष्ट्रहरूले यो द्वन्द्व अब केवल अमेरिका र इजरेलको मात्र नभई आफ्नै युद्ध पनि भएको रूपमा लिन सक्ने सम्भावना रहेको उनी बताउँछन्।

तस्बिर स्रोत, Reuters
अहिलेका लागि खाडी देशहरूले प्रतिकार नगरेका भए पनि पिन्फोल्डका अनुसार इरानको रणनीति "अत्यन्तै उच्च जोखिमयुक्त" छ।
उनी भन्छन्, "इरानले खाडी राष्ट्रहरूसँग भएका सबै सम्बन्धहरू बिगार्दै छ, जसले देखाउँछ कि इरानले यो द्वन्द्वलाई कति अस्तित्वगत रूपमा लिएको छ।"
हेलिअरका अनुसार खास गरी सर्वसाधारणहरूप्रति लक्षित आक्रमण हुने अवस्थामा खाडी देशहरूले अनन्तकालसम्म यस्तो आक्रमण "स्वीकार गर्ने छैनन्।"
अन्ततः उनको विचारमा इरानको खाडी देशहरूलाई दबावमा पारेर वाशिङ्टनलाई नियन्त्रण गर्न लगाउने उच्च जोखिमयुक्त रणनीतिले उल्टो परिणाम दिने सम्भावना बढी छ।
"सुरुमा उनीहरूले अमेरिका–इजरेलको युद्धको विरोध गरे पनि अब इरानको प्रत्याक्रमणबाट आफ्नै सुरक्षा जोखिममा परेको ठानेर तत्काल खतरालाई अन्त्य गर्न अमेरिकी अभियानलाई समर्थन गर्नु नै उचित हुन्छ भन्ने निष्कर्षमा पुग्न सक्छन्," पिन्फोल्ड भन्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




























