युद्ध अन्त्य गर्न वार्ता भएको ट्रम्पको दाबी, इरानी अधिकारी भन्छन् 'भ्रामक समाचार'

डोनल्ड ट्रम्प

तस्बिर स्रोत, EPA

पढ्ने समय: ३ मिनेट

संयुक्त राज्य अमेरिका र इरानका अधिकारीहरूले जारी युद्ध गर्न दुई पक्षबीच "वार्ता" भएको विषयमा परस्पर बाझिने टिप्पणी गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुई देशबीच "शत्रुता पूर्णतः समाधान गर्न" मध्यपूर्वमा कुराकानी भइरहेको बताएका छन्। तर इरानी संसद्‌का सभामुखले उक्त दाबीको खण्डन गर्दै त्यसलाई "भ्रामक समाचार"को सङ्ज्ञा दिएका छन्।

तेहरानसँग "फलदायक छलफल" भएको भन्दै ट्रम्पले सामाजिक सञ्जालमा गरिएको पोस्टमा इरानका ऊर्जा पूर्वाधारमाथि हुन सक्ने आक्रमण पाँच दिनका निम्ति स्थगित गरिएको जनाएका छन्।

ट्रम्पले यो साताभरि छलफलले निरन्तरता पाउने उल्लेख गरेका छन्।

"यी गहन, विस्तृत र रचनात्मक छलफलका भाव र शैलीको आधारमा, जसले पूरै साता निरन्तरता पाउने छ, मैले युद्ध मामिला हेर्ने निकायलाई इरानका विद्युत् केन्द्रहरू र ऊर्जा संरचनाहरूमा पाँच दिनका निम्ति सबै किसिमका सैन्य कारबाही स्थगन गर्न भनेको छु जुन जारी बैठक र छलफलमा निर्भर हुने छ," सोशल ट्रूथमा उनले लेखेका छन्।

इरानको प्रतिक्रिया

यद्यपि कतिपय इरानी अधिकारीले अमेरिकासँग कुराकानी भएको भन्ने ट्रम्पको भनाइलाई अस्वीकार गरेका छन्।

इरानी संसद्का सभामुखले त्यस्तो कुनै छलफल नभएको भन्दै त्यस्तो दाबी "तेल बजारलाई प्रभावित पार्ने" दाउ भएको टिप्पणी गरेका छन्।

"अमेरिकासँग कुनै वार्ता गरिएको छैन। वित्तीय र तेल बजारलाई प्रभावित पार्न अनि अमेरिका र इजरेललाई फसेको दलदलबाट उम्काउन भ्रामक समाचार प्रयोग गरिँदै छ," मुहम्मद-बागेर गलिबाफले एक्समा लेखेका छन्।

ट्रम्पले इरानमाथि हमला स्थगित गर्दै चाँडै शान्ति सम्झौता हुन सक्ने बताएपछि सोमवार विश्वबजारमा कच्चा तेलको मूल्य घटेको थियो।

तर पछि ब्रेन्ट क्रूडको मूल्य बढेर प्रतिब्यारल १०० डलर नाघेको छ।

इरानलाई 'एउटा अर्को अवसर'

एउटा कार्यक्रममा सम्बोधन गर्न टेनसी पुगेका ट्रम्पले इरान युद्धबारे सङ्क्षिप्त प्रतिक्रिया दिँदै अमेरिका "एउटा बृहत् सम्झौता" को सम्भावनामा केन्द्रित भएको बताए।

"मेरो सारा जीवन (सम्झौतासम्बन्धी) कुराकानीमा बितेको छ तर इरानसँग हामी लामो समयदेखि छलफल गरिरहेका छौँ। यस पटक उनीहरू वास्तवमै गम्भीर छन्।"

सँगसँगै उनले इरान परमाणुअस्त्र नराख्ने विषयमा सहमत भएको आफूले ठानेको पनि बताए।

उनले युद्ध सुरु भएपछि इरानको नेतृत्वपङ्क्तिका धेरै जनाको मृत्यु भएको दोहोर्‍याउँदै इरानसँग शान्तिका निम्ति "एउटा अर्को अवसर" भएको बताए।

तर उनले अमेरिकाले कोसँग छलफल गरिरहेको छ भन्ने स्पष्ट पारेनन्।

मध्यपूर्वको स्थिति

लेबननको बेरुत

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, प्राप्त पछिल्लो तस्बिरमा लेबननको बेरुतस्थित एउटा भवनबाट धुवाँको मुस्लो निस्किरहेको देख्न सकिन्छ

मध्यपूर्वमा तनाव जारी छ। इरानको तेहरानमा हमला जारी रहेका विवरणहरू आएका छन्।

इरानमा पुन: आक्रमण सुरु भएको जानकारी तीन भिन्न स्रोतबाट आफूले पाएको बीबीसी पर्सियनका संवाददाताले जनाएका छन्।

इरानी सञ्चारमाध्यमहरूका अनुसार राजधानी तेहरानमा हवाई प्रतिरक्षा प्रणालीलाई सक्रिय तुल्याइएको छ।

त्यस्तै इरानको इस्लामिक रेभलूशनरी गार्ड कोरसँग सम्बन्धित समाचारसंस्था 'फार्स'ले अमेरिका र इजरेलमाथि मध्यइरानको इस्फहानमा ग्याससम्बन्धी प्रशासनिक भवन र ग्यासको चाप घटाउने स्टेशनमा हमला गरेको आरोप लगाएको छ।

फार्सका अनुसार हमलाबाट ती पूर्वाधारका केही भाग र आसपासका घरहरूमा क्षति पुगेको छ।

उक्त समाचारसंस्थाले पश्चिम इरानको खुर्रम्शारस्थित ऊर्जाकेन्द्रलाई ग्यास आपूर्ति गर्ने पाइपलाइनलाई निसाना बनाइएको विवरण आएको जनाएको छ। यद्यपि त्यहाँका गभर्नरले घटनामा कोही हताहत नभएको बताएका छन्।

लेबननको बेरुतमा पनि हमला भइरहेको विवरण आएको छ। लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो महिना सङ्घर्ष सुरु भएयता १,०३९ जना मारिएका छन्।

साउदी अरबको रक्षा मन्त्रालयले सोमवार साँझ देशको पूर्वी क्षेत्रमा चारवटा ड्रोनलाई नष्ट गरिएको जनाएको। तर साउदी अरबले ती घटनामा कोही हताहत भए वा नभएको जानकारी दिएको छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।