इरान वार्ता भइरहेको कुरा स्वीकार गर्न 'डराएको' ट्रम्पको दाबी, तेहरान के भन्छ?

ट्रम्प

तस्बिर स्रोत, Reuters

पढ्ने समय: ३ मिनेट

राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले शान्ति वार्तामा भाग लिइरहेको र गत महिना इजरेल र अमेरिकाले सुरु गरेको युद्ध अन्त्य गर्न सम्झौता गर्न आतुर रहेको कुरामा जोड दिएका छन्।

इरानले भने त्यसलाई प्रस्ट रूपमा अस्वीकार गरेको छ।

बुधवार इरानी विदेशमन्त्री अब्बास अराग्चीले अमेरिकाले विभिन्न प्रस्तावहरू सहितसन्देश पठाए तापनि कुनै वार्ता नभएको बताएका छन्।

अब्बास अराग्चीले वाशिङटनले वार्ताको कुरा गर्नु र अब बिनासर्त आत्मसमर्पणको माग नगर्नु हार स्वीकार्नु रहेको बताउँछन्।

उनले तेहरानले युद्ध आफ्ना सर्तहरू अनुरूप सकियोस् भन्ने चाहेको बताउँदै त्यसमा अमेरिका र इजरेलले फेरि आक्रमण नगर्ने सुनिश्चितता र इरानीहरूले भोगेको क्षतिको क्षतिपूर्ति समावेश रहेको बताए।

वार्ताबारे दुवै पक्ष के भनिरहेका छन्?

अब्बास अराग्ची

तस्बिर स्रोत, Reuters

ट्रम्पले इरानले "वार्ता गरिरहेको" कुरामा जोड दिँदै "उनीहरू आफ्नै मानिसहरूद्वारा मारिने बुझेर त्यसो भन्न डराइरहेको" बताएका छन्। उनले थपे: "उनीहरू हामीबाट मारिने कुराले पनि डराउँछन्।"

बुधवार बोल्दै ह्वाइटहाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले विगत तीन दिनदेखि इरानसँग "उपयोगी वार्ता" मा व्यस्त रहेको बताइन्।

उनले अमेरिकी कारबाही "तालिकाभन्दा अगाडि" रहेको र इरानी सत्ताले "फर्कने बाटो" खोजिरहेको बताइन्।

उक्त भनाइ इरानी विदेशमन्त्री अब्बास अराग्चीको अभिव्यक्तिको लयको पूरै विपरीत छ।

अराग्चीले "हाल वार्ताको कुनै मनसाय नभएको" र देशले आफ्नो "प्रतिरक्षा" गरिरहने बताएका छन्।

उनले अमेरिका र इरानबीच "मित्र राष्ट्रहरू" मार्फत् आदानप्रदान भएका सन्देशहरूलाई "संवाद" मान्न नसकिने बताए।

"यो इजरेलको युद्ध हो र यस क्षेत्रका जनता र अमेरिकाका जनताले यसको मूल्य चुकाइरहेका छन्," अराग्चीले भने।

युद्ध अन्त्यको 'प्रस्ताव'

इरानले आफ्ना कैयौँ खाडी छिमेकी देशमा हमला गरिरहेको छ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, इरानले आफ्ना कैयौँ खाडी छिमेकी देशहरूमा समेत हमला गरिरहेको छ

युद्ध अन्त्य गर्ने प्रस्तावहरूका बारेमा समेत विरोधाभासपूर्ण विवरणहरू आएका छन्।

बुधवार इरानले युद्धविराममा पुग्न अमेरिकाबाट १५-बुँदे योजना प्राप्त गरेको विवरण आएको थियो।

तेहरानका तर्फबाट एक इरानी "वरिष्ठ राजनीतिक-सुरक्षा अधिकारी" लाई सरकारी प्रेस टीभीले उद्धृत गर्दै युद्ध अन्त्य गर्न पाँच सर्तहरू रहेको जनाएको छ।

त्यसमा "युद्धका क्षति र क्षतिपूर्ति" को भुक्तानी तथा सबै मोर्चाहरूमा युद्धको अन्त्य समावेश छ।

तर दुवै पक्षबाट लडाइँ जारी छ।

इरानी क्षेप्यास्त्र आक्रमणको खबरपछि इजरेली ऊर्जा केन्द्रबाट धुवाँ उडिरहेको देखिएको छ। तेहरानमा इरानी हवाई प्रतिरक्षा प्रणालीहरूको आवाज सुनिएको छ।

'अविश्वास'

इरानमा भएका अमेरिका-इजरेली आक्रमणले तेहरानका आवासीय क्षेत्रहरू ध्वस्त पारेको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिका-इजरेली आक्रमणले तेहरानका आवासीय क्षेत्रहरू ध्वस्त पारेको छ

बीबीसी पर्सिअनका सम्पादक अमिर अजिमीका अनुसार वाशिङटनले तेहरानसँग प्रगतिको बारेमा कुरा गर्नासाथ इरानले यसलाई सिधै अस्वीकार गर्नुले दुई पक्षहरू बीचका अघिल्लो वार्ताबाट उत्पन्न भएको गहिरो अविश्वासलाई प्रतिविम्बित गर्ने बताउँछन्।

"उनीहरूले दुई पटक तनाव कम गर्ने आशा देखाएका छन्। दुवै पटक त्यसपछि इरानमा इजरेली र अमेरिकी सैन्य हमलाहरू भए," उनी भन्छन्।

"इरानको दृष्टिकोणमा वार्ताले युद्धको सम्भावनालाई कम गरेको छैन; उनीहरू युद्ध हुनुभन्दा ठिक अगाडि आएका छन्। त्यसैले ट्रम्पको दाबीलाई शङ्काको नजरले हेरिएको छ।"

तर इरानले वार्ता अस्वीकारको अर्थ उनीहरू वार्ताको विरुद्धमा रहेको भन्ने चाहिँ नहुने उनी बताउँछन्।

"कूटनीतिलाई समर्थन गर्ने अधिकारीहरू पनि दबावमा छन्।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।