के खाडी मुलुकमा नेपालीले रोजगारी गुमाउन थालेका हुन्?

एक श्रमिकले काम गरिरहेको जस्तो देखिने तस्बिर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, खाडी मुलुकहरूमा ठूलो सङ्ख्यामा नेपाली श्रमिकहरू कार्यरत छन्
    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ५ मिनेट

खाडी मुलुकहरूमा जारी द्वन्द्व लम्बिँदै जाँदा त्यसको असर सो क्षेत्रमा कार्यरत नेपालीहरूमा पनि बिस्तारै देखिन थालेको उनीहरूले बताएका छन्।

खास गरी ऊर्जा क्षेत्रमा काम गर्ने नेपालीहरूमा युद्धको असर देखिन थालेको कतारस्थित एक नेपाली व्यवसायीले बीबीसीलाई बताए।

यद्यपि खाडी देशहरूमा रहेका नेपाली नियोगका अधिकारीहरूले अहिले नै रोजगारी गुम्ने अवस्था भने नआएको बताएका छन्।

हाल द्वन्द्वको चपेटामा परेका खाडी मुलुकहरूमा दक्ष, अर्धदक्ष र अदक्ष गरी ठूलो सङ्ख्यामा नेपालीहरू कार्यरत रहेका तथ्याङ्क छ।

अमेरिका र इजरेलले हमला गरेपछि इरानले इजरेली सहर तथा विभिन्न खाडी देशमा रहेका अमेरिकी सैन्य संरचनालाई निसाना बनाएको बताउँदै आएको छ।

इरानले यूएई, साउदी अरब र कतारलगायत देशमा रहेका अमेरिकी अखडा तथा उसका सेनाले प्रयोग गर्ने गरेका सैन्य इलाकाका भवन एवं अन्य संरचनामा आक्रमण गरिरहेको उनीहरूले बताएका छन्।

पुरानो काम छोडे, नयाँ गुमाए

सप्तरीका २७ वर्षीय पुष्पकुमार (नाम परिवर्तन) ले यूएईको एउटा रेस्टुराँमा शेफका रूपमा काम थालेको एक महिना पनि भएको थिएन।

पुरानो ठाउँमा भन्दा राम्रो तलब तथा सुविधा पाएका उनले अचानक खाडी क्षेत्रमा युद्ध सुरु भएपछि हालै रोजगारी गुमाएका छन्।

"राम्रो अवसर पाएपछि मैले पहिला गर्दै आएको ठाउँ छोडेँ। तर युद्धका कारण पर्यटन र आतिथ्य क्षेत्रमा तत्काल असर पर्न थालेपछि कम्पनीले काममा निरन्तरता नदिने भयो," टेलिफोनमा बीबीसी न्यूज नेपालीसँग पुष्पले भने।

"छ महिनाको प्रोबेशन पिरिअड [परीक्षणकाल] थियो। डिस्कन्टिन्यू गरिदिए [निरन्तरता दिएनन्]। छ महिना कटिसकेकाले तीन महिनाको तलब र घर फर्कन हवाई टिकट पाउने भए पनि मेरो हकमा त्यो पनि भएन," उनले अगाडि थपे।

पुप्षसँगै सोही रेस्टुराँमा उनीभन्दा तीन महिनापहिलादेखि काम गर्दै आएका नेपालका अरू दुई जनाले पनि रोजगारी गुमाएका उनले सुनाए।

"मैले काम गर्दै आएको ठाउँमा विभिन्न देशका गरी १०० जना जतिले रोजगारी गुमाएका छन्। पछि सामान्य अवस्था भए बोलाऊँला भन्दै नयाँलाई डिस्कन्टिन्यू गरेका छन्," द्वन्द्वले पारेको प्रत्यक्ष असरबारे सुनाउँदै पुष्पले भने।

उनीसँगै रोजगारी गुमाएका उनका एक भारतीय सहकर्मी मङ्गलवार मात्र स्वदेश फर्केका छन्। पुष्प चाहिँ युद्ध सकिएर स्थिति फेरि सामान्य अवस्थामा फर्केपछि काम पुनः सुरु हुने आशमा त्यहीँ बसिरहेका छन्।

"अघिल्लो महिना पाएको तलबले गर्जो टारिरको छु। घरमा सबै सामान्य छ भन्दै आएको छु। अब हेरौँ के हुन्छ?," उनले अगाडि थपे।

पुरानाका हकमा राहत

नेपाल, भारत र अमेरिकाका मुद्रा
तस्बिरको क्याप्शन, विप्रेषण धेरै नेपाली परिवारको प्रमुख आयस्रोत हो

यूएईमा कार्यरत नेपालकै कुबेर लावरका अनुसार खास गरी आतिथ्य क्षेत्रमा सक्रिय कम्पनीहरूले न्यूनतम तलबमानमा काम गर्नेलगायतका विकल्प दिन थालेका छन्।

"हस्पिटालिटी [आतिथ्य] र रिटेल [खुद्रा] क्षेत्रमा काम मन्द हुँदा कामदारलाई प्रभाव परेको छ। केही घण्टा मात्र काम गर्न र बेतलबी बिदामा पनि बस्न भन्न थालेका कतिपय नेपालीले सुनाउन थालेका छन्," बीबीसी न्यूज नेपालीसँग उनले भने।

तर पुराना कामदारको हकमा भने यूएईका कम्पनीहरूले सक्दो राम्रो गरिरहेको लावर बताउँछन्।

"पुराना कामदारलाई ननिकाल्ने, बरु आधा तलबमा भए पनि पछि सामान्य अवस्थामा हामीलाई चाहिन्छ भनेर राखिरहेका छन्," लावरले भने।

द्वन्द्वका कारण हाल फसिरहेका पर्यटकहरूको खर्च यूएई सरकारले बेहोर्नु अर्को सकारात्मक पाटो भएको उनले सुनाए।

नेपालका रमेश श्रेष्ठले यूएईमा 'आउटसोर्सिङ' र पर्यटन क्षेत्रमा काम गर्दै आएका छन्। खाडी मुलुकहरू द्वन्द्वको चपेटामा परेसँग आफूहरूको सेवामा असर देखिन थालेको उनी सुनाउँछन्।

"म ट्राभल व्यवसाय पनि गर्छु। त्यसमा पनि असर परेको छ। मान्छे बढाउन सकेका छैनौँ। भिसा निकाल्न सक्ने अवस्था अहिले छैन," असरबारे बीबीसी न्यूज नेपालीसँग उनले भने।

होटल तथा रेस्टुराँलाई आउटसोर्सिङ गर्दै आएका उनी ती क्षेत्रमा कामदारहरूले रोजगारी गुमाउन थालेको बताउँछन्।

"कामदारहरूलाई कतिपयले बेतलबी बिदामा बस्न अथवा अहिले घर जान भन्न थालेका छन्," श्रेष्ठले अगाडि थपे।

अब थप स्पष्ट हुने आकलन

उल्लेख्य सङ्ख्यामा नेपाली कामदारहरू रहेको अर्को खाडी मुलुक कतारमा रमेश भट्ट सौरभ प्रोजेक्ट एन्ड सर्भिसेजसँग आबद्ध छन्।

उनका अनुसार दोहामा रहेको उक्त कम्पनीले प्लम्बिङ, स्काफोल्डिङ, हस्पिटालिटीलगायत क्षेत्रमा सेवा दिँदै आएको छ।

कतारमा ऊर्जा क्षेत्रमा काम गर्ने कतिपय कम्पनीले बेतलबी बिदा भनेर कामदारहरूलाई खान र बस्न दिने भन्न थालेका भट्टले सुनाए।

"हाम्रै कम्पनीमा करिब २५० कामदार रहेकामा ९० जना अहिले त्यसै बसिरहेका छन्। काम बन्द भएको तीन हप्ता जति भइसक्यो। अहिलेसम्म हामीले उनीहरूलाई खान र बस्न दिइरहेका छौँ," बीबीसी न्यूज नेपालीसँग उनले भने।

"हामी ऊर्जा क्षेत्रमा मूलतः स्काफोल्डिङका काम गर्छौँ। हामीले फ्रेन्च र भारतीय कम्पनीहरूसँग काम गर्दै आएका छौँ। ठेक्का लिएर हामी ती कम्पनीहरूमा कामदारहरूलाई काममा लगाउँछौँ।"

ईदको लामो बिदा सकेर मङ्गलवारदेखि नियमित रूपमा कलकारखाना सञ्चालनमा आएपछि अवस्थाबारे थप स्पष्ट हुने भट्टको आकलन छ।

विदेश जान विमान चढ्नुअघिको अवस्थामा जस्तो देखिएकी एक महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दक्षदेखि अर्धदक्ष तथा अदक्षसम्मका नेपाली श्रमिकहरूका लागि खाडी मुलुकहरू आकर्षक गन्तव्यका रूपमा रहिआएका छन्

'औपचारिक जानकारी न्यून'

परराष्ट्र मन्त्रालयका अधिकारीहरूले युद्धकै कारण नेपाली कामदारहरूले रोजगारी गुमाउनुपरेका विषयमा औपचारिक जानकारी नपाएको बताएका छन्।

"हाम्रा नियोगहरूबाट प्राप्त अपडेटअनुसार युद्धका कारण नेपालीहरूको जागिर गुमेको अथवा गुम्न लागेको विषय एकदमै कम मात्रामा जानकारी आएको छ," परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बीबीसी न्यूज नेपालीसँग भने।

तर खाडी मुलुकमा रहेका केही नेपाली नियोगका अधिकारीहरूले त्यस्ता कुरा फाटफुट सुनिए पनि औपचारिक रूपमा जानकारी नआएको बताएका छन्।

"हामीले पनि सुनेका छौँ, तर मैले रोजगारी गुमाएँ भनेर अहिलेसम्म औपचारिक रूपमा कोही आएका छैनन्," एउटा नियोगका श्रम सहचारीले बीबीसी न्यूज नेपालीसँग भने।

यद्यपि जारी द्वन्द्व लम्बिँदै गएमा थुप्रै नेपालीहरूले पनि खाडी क्षेत्रमा रोजगारी गुमाउने जोखिमलाई नकार्न नसकिने उनीहरूले स्पष्ट पारे।

यूएईमा मात्र छ लाखभन्दा बढी नेपालीहरू कार्यरत रहेका त्यहाँ सक्रिय रहेका नेपाली सङ्घसंस्थाहरूले बताउँदै आएका छन्।

दक्षदेखि अर्धदक्ष तथा अदक्षसम्मका नेपाली श्रमिकहरूका लागि खाडी मुलुकहरू आकर्षक गन्तव्यका रूपमा रहिआएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।