रास्वपा 'फरक ढङ्गले' संसद्‌ र सरकारमा अघि बढ्ने, रणनीति यस्ता छन्

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन हुने जनाएको छ
    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ५ मिनेट

नवनिर्वाचित सांसदहरूको शपथसँगै राष्ट्रिय स्वतन्त्र पार्टी अब संसद्‌मा कसरी प्रस्तुत हुने छ भन्नेबारे चासो व्यक्त हुन थालेको छ।

झन्डै दुईतिहाइ बहुमत प्राप्त रास्वपाका प्रवक्ता एवं सासद मनीष झाले जनअपेक्षाअनुरूप जिम्मेवारीपूर्वक आफूहरू अगाडि बढ्ने बीबीसीलाई बताएका छन्।

प्रतिपक्षमा बस्ने भनेका दलका सांसदहरूले आउँदा दिनमा रास्वपाले अवलम्बन गर्ने नीतिमा आफूहरूको साथ एवं सहकार्य निर्भर हुने प्रतिक्रिया दिएका छन्।

गत भदौमा भएको जेन जी विद्रोहपछि सम्पन्न आमचुनावबाट प्रतिनिधिसभाका सबैभन्दा ठूलो दल बनेको रास्वपा एक्लैका १८२ जना सांसद छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टीका चार र एक जना स्वतन्त्र सांसद छन्।

'अरू दलभन्दा फरक हुन्छौँ'

रास्वपा प्रवक्ता मनीष झा

तस्बिर स्रोत, Nepal Photo Library

स्थापित राजनीतिक दलहरूको आकार खुम्च्याएको रास्वपालाई ती दलहरूभन्दा फरक गर्नैपर्ने बाध्यता रहेको विश्लेषकहरूले बताउने गरेका छन्।

त्यसलाई स्वयं रास्वपाका नेताहरू पनि अस्वीकार गर्दैनन्। अरूभन्दा फरक गर्नैका लागि बहुमत जनताले आफूहरूलाई मत दिएको झा बताउँछन्।

"पहिला अरूलाई बलियो बनायौँ, अहिले तिमीहरूलाई बनाइरहेका छौँ भनेर मतदाताहरूले हामीलाई मत दिनुभएका होइन," बीबीसी न्यूज नेपालीसँग उनले भने। "अरूले अपेक्षाअनुरूप गरेनन्, तिमीहरू अब गर भनेर पो मतदाताले हामीलाई विश्वास गर्नुभएको र मौका दिनुभएको हो। त्यसैले यो कुरालाई स्पष्ट रूपमा बुझेर त्यहीअनुरूप हामी काम गर्छौँ।"

संसद्‌सँगै सरकारमा पनि फरक ढङ्गले प्रस्तुत हुने गरी अभिमुखीकरण कार्यक्रमबाटै तयारी सुरु गरिसकेको झाको तर्क छ।

उनले सरकारका कामकारबाहीबारे खबरदारी गर्न सांसदहरूलाई निर्देशन दिइएको बताए।

"अभिमुखीकरणका क्रममा उपसभापति स्वर्णिम वाग्लेले हाम्रा सांसदहरूलाई सरकारप्रति कठोर बन्न भन्नुभयो। तपाईँहरू रमाएर नबस्नुहोला भन्नुभयो," झाले उल्लेख गरे।

"त्यसो भन्नुको मतलब सरकारले बाटो नबिराओस् भनेर उहाँहरूले सजग गराउनुहोला भन्ने हो। त्यो अभ्यास हामीले निरन्तर रूपमा गर्ने छौँ र गर्ने वातावरण नबाइराख्ने छौँ।"

प्रतिपक्षको सम्मानजनक सहभागिता

नेपालको संसदीय हिसाबमा खास गरी सत्तापक्षले गणितीय हिसाबले प्रतिपक्षलाई 'पेलेर जाने गरेको' आरोप सुनिँदै आएको छ।

झन्डै दुईतिहाइ पाएको रास्वपाले के गर्ला भन्नेमा धेरैको ध्यान केन्द्रित हुन थालेको पाइन्छ।

आफूहरूले सबै दस्तावेजहरूमा सहअस्तित्वको अभ्यासबमोजिम काम गर्न जोड दिएको भन्दै रास्वपा प्रवक्ता झा प्रतिपक्षको सम्मान गरिने बताउँछन्।

"यो सदनमा १८२ जना रहँदै गर्दा हामीले सम्झिने रहने कुरा के छ भने अरू दलबाट पनि ९३ जना हुनुहुन्छ। उहाँहरूको अस्तित्वको सम्मान गर्ने स्वीकार्यता र सहभागिता कुरा हाम्रो कर्तव्य हो," उनले अगाडि थपे।

"त्यसैले सम्मानसहित उहाँहरूको सहभागितामूलक उपस्थितिको राजनीतिक अभ्यास संसद्‌बाट र राजनीतिक सङ्गठनहरूबाट गर्नु एउटा ठूलो दलको लोकतान्त्रिक चरित्र हो र अहिलेको अवस्थामा त्यो समयको माग पनि हो।"

रास्वपालगायतका सांसदहरू शपथग्रहण गर्दै

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, प्रतिनिधिसभामा रास्वपाका मात्रै १८४ सांसद छन्

'अरूले गरेका गल्ती दोहोर्‍याउन्नौँ'

अघिल्लो प्रतिनिधिसभामा विभिन्न मुद्दामा सत्ता पक्षले प्रतिपक्षलाई बेवास्ता गरेर अगाडि बढेको रास्वपाकै नेताहरूले बताउने गरेका थिए।

चुनावी नतिजासँगै अब भूमिका परिवर्तन भएको छ र मुलुकको सत्ताको बागडोर रास्वपामा सरेको छ। अरू दलले गरेका गल्ती आफूहरूले नदोहोर्‍याउने झा बताउँछन्।

"विगतमा पनि दलहरूको प्रचण्ड बहुमत आएको हो। त्यो किन सम्हाल्न सकिएन, आवश्यकताअनुसारको काम किन गर्न सकेनन् भन्ने गल्ती नदोहोर्‍याऊँ भनेर कारणसहित चरित्रहरूको अध्ययन गर्नु हाम्रो पहिलो कर्तव्य रहन्छ," उनले अगाडि थपे।

विगतका दलहरूले पालैपालो पाएका गणितीय उपलब्धिहरू पटकपटक विफल भएका दृष्टान्तलाई नबिर्सने झाले सङ्केत गरे।

सरकारप्रति निर्मम हुन आग्रह

आफ्ना सांसदसहित प्रतिपक्षी दलका सांसदका सांसद, सञ्चारमाध्यमलगायत सबै पक्षलाई खबरदारी गरिरहन आफूहरूको आग्रह रहेको प्रवक्ता झाले बताए।

"निजी क्षेत्र, नागरिक समाज, पत्रकारिता र सदनलाई पनि सरकारप्रति कठोर हुनूस्, निर्मम भएर सबै कुराको मूल्याङ्कन गर्नूस् र स्वतन्त्र भएर अभिव्यक्ति दिनूस् भन्ने कुरा हामी राख्नेछौँ। त्यसको सुरुवात अभिमुखीकरणबाट भइसकेको पनि छ।"

कार्यनीति र रणनीतिमा केन्द्रित हुने

बालेनले शुक्रवार शपथ लिने बताएका छन्

तस्बिर स्रोत, RSS

विगतमा बहुमत पाएका दलहरूले दर्शन र परिकल्पनाका कुरामा केन्द्रित भएका भन्दै झा आफूहरू कार्यनीति र रणनीतिमा केन्द्रित हुने बताए।

"यसलाई सरल भाषामा भन्ने हो भने हाम्रो अहिलेको आवश्यकता जनजीविका र दिनचर्याका कुरामा केन्द्रित हुने हो," झाले भने।

"हामी एकैचोटि पानीजहाज र मोनोरेलका कुरा गर्दैनौँ। सरकारी अड्डाहरूमा नागरिकले कसरी सर्वसुलभ र सम्मानजनक तरिकाले सेवासुविधा पाउनुहुन्छ भन्नेमा केन्द्रित हुन्छौँ।"

"अहिलेको आवश्यकता भनेको लाइसन्स कसरी समयमा दिन सकिन्छ, मान्छेले सार्वजनिक सेवा कसरी सुलभ तरिकाले कसरी पाउँछन्, भ्रष्टाचार कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने हो," उनले अगाडि थपे।

भौतिक संरचनाहरूको निर्माण समयमै सकाउनेदेखि लगानीको वातावरण बनाउनेजस्ता विषय महत्त्वपूर्ण हुने उनको तर्क छ।

"यी सबैका लागि हामीले पहिला आधारभूत क्षेत्रमा काम गर्ने छौँ र त्यतै केन्द्रित हुने छौँ। यही हाम्रो फरक चरित्र हुने छ," झाले भने।

प्रतिपक्षका अपेक्षा र प्रतिबद्धता

प्रतिपक्षमा बस्ने बताइरहेका दलका सांसदहरूले आफूहरूको भूमिका रचनात्मक रहने बताएका छन्।

दैलेखबाट निर्वाचित नेपाली कांग्रेसकी सांसद बासना थापाले सत्तापक्षलाई गुण र दोषका आधारमा विरोध वा समर्थन गर्ने बताइन्।

"सरकारले उठाउने मुद्दाहरू कस्ता हुने छन्, त्यसका आधारमा हाम्रो साथ, समर्थन वा विरोध रहने छ," बीबीसी न्यूज नेपालीसँग उनले भनिन्।

राम्रा काम गर्नैका लागि मतदाताले रास्वपालाई ठूलो मत दिएको भन्दै उनले त्यसैअनुसार उसले काम गर्ने अपेक्षा व्यक्त गरिन्।

"मतदाताले जुन आशा र भरोसाले उहाँहरूलाई यत्रो मत दिएर पठाउनुभएको छ, त्यसमा उहाँहरू अगाडि बढ्नुभयो भने हामीले साथ दिने छौँ," थापाले भनिन्।

एमालेका युवा सांसद सुहाङ नेम्वाङ दलहरू आपसमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिन्छन्।

"विगतमा भन्दा अब फरक ढङ्गले हेर्नुपर्छ जस्तो मलाई लाग्छ। प्रतिपक्ष र सत्तापक्ष सबै जनताका आवाज उठाउन र समग्र देश एवं जनताका हितमा काम गर्न, नीति तथा नियम पारित गर्नका लागि आएका छौँ," बीबीसी न्यूज नेपालीसँग उनले भने।

"त्यसैले देश र जनताका हितमा संवाद, सहकार्य र समन्वय गरेर हामी अगाडि बढ्छौँ।"

सत्तापक्षले आउँदा दिनमा चाल्ने कदम हेरेर आफूहरूको भूमिका निर्धारण हुने नेम्वाङको तर्क छ।

"देश र जनतालाई हित हुने काममा हामी साथ दिन्छौँ। केही कमीकमजोरी भए रचनात्मक हिसाबले खबरदारी गर्ने काम गर्छौँ। संवाद र सहकार्य गरेरै अगाडि बढ्नुपर्‍यो," उनले अगाडि थपे।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।