तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'अतिसङ्कटापन्न' सालकलाई थप संरक्षण आवश्यक'
सालक संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै चीनले पर्वतीय क्षेत्रका वासस्थानमा प्राकृतिक आरक्षहरू बनाउनुपर्ने सुझाव दिइएको छ।
पूर्वी चीनमा सालकको घट्दो सङ्ख्याबारे अध्ययन गरिरहेका वैज्ञानिकहरूले त्यस्तो सुझाव दिएका हुन्।
सालक विश्वमै अत्यधिक तस्करी हुने स्तनधारी वन्यजन्तु हो।
अनुसन्धानले सन् १९७० को दशकयता सो दुर्लभ वन्यजन्तुको सङ्ख्या आधाभन्दा कम भइसकेको देखाएको छ।
अवैध सिकार
सालकको मासु र खबटाको महत्त्व परम्परागत चिनियाँ औषधिमा छ।
त्यसैले एशिया र अफ्रिकामा अवैध सिकार गरेर औषधिका लागि आवश्यक सामग्री आपूर्ति गरिने गरेको बताइन्छ।
अहिले सालक उत्तरी फुजियान प्रान्तस्थित उई पर्वतीय क्षेत्रमा मात्रै पाइन्छ। त्यहाँ अन्य दुर्लभ र असामान्य वन्यजन्तु पनि भेटिन्छन्।
बेइजिङ वनविज्ञान विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार वैज्ञानिक र स्थानीय बासिन्दाले सालकबारे थप ध्यान दिनुपर्छ।
'अतिसङ्कटापन्न'
सालक चीनमा राज्यद्वारा संरक्षित विशेष वन्यजन्तुहरूको सूचीमा दोस्रो तहमा छ।
उनीहरू भन्छन्, "हाम्रो र पहिलाका अनुसन्धानले सालकलाई संरक्षणको पहिलो तहमा राख्नुपर्ने देखाउँछन्।"
ती क्षेत्रमा स्थानीयवासीलाई सालक संरक्षण योजनामा सहभागी हुन उत्प्रेरित गराउने शिक्षासहित निगरानी गर्ने सञ्जाल निर्माण गर्न वैज्ञानिकहरूले आग्रह गरेका छन्।
एशिया र अफ्रिकामा गरेर कुल आठ प्रजातिका सालक अस्तित्वमा छन्।
सबै प्रजाति ती पाइने देशका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनद्वारा संरक्षित छन्। तैपनि सालकको अवैध व्यापार भइराखेको छ।
चिनियाँ सालक एशियामा पाइने चार प्रजातिमध्ये एउटा हो।
प्रकृति संरक्षणको क्षेत्रमा सक्रिय अन्तर्रराष्ट्रिय निकाय आईयूसीएनले चिनियाँ सालकलाई 'अतिसङ्कटापन्न' वन्यजन्तुको सूचीमा राखेको छ।
यो प्रजाति नेपालको पहाडी क्षेत्र, दक्षिण चीनको हाइनान, ताइवान र हङकङमा पनि पाइन्छ।