तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकाले इरानको खार्ग टापुलाई किन निशाना बनायो?
- Author, एलिस डेभिस
- Author, फ्राङ्क गार्डनर
- Role, बीबीसी सुरक्षा संवाददाता
- Reporting from, रियाद
- पढ्ने समय: ५ मिनेट
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार इरानको समुद्री तटबाट केही दूरीमा रहेको एउटा सानो टापुमा बमबारी गरिएको बताए।
इरानको तेल निर्यातको महत्त्वपूर्ण केन्द्रका रूपमा रहेको उक्त टापुलाई तेहरानको अर्थव्यवस्थाको जीवनरेखा मानिन्छ।
ट्रम्पले खार्ग टापुका सैन्य ठेगानाहरू "पूर्ण रूपमा ध्वस्त" भएका तर तेलसम्बन्धी पूर्वाधारलाई निशाना नबनाइएको पनि उल्लेख गरे।
तर इरान वा अरूले इरानी तटको दक्षिणमा अवस्थित विश्वको सबैभन्दा महत्त्वपूर्ण ढुवानी मार्गमध्येको हर्मुज स्ट्रेटमा जहाजहरूको सुरक्षित आवतजावतमा "कुनै हस्तक्षेप गरे" खार्ग द्वीपका तेलसम्बन्धी पूर्वाधारहरूलाई निशाना नबनाउने निर्णयमा पुनर्विचार गरिने उनको चेतावनी थियो।
त्यसको प्रतिक्रियामा इरानी सेनाले खार्गका तेल पूर्वाधारहरूमा आक्रमण भए अमेरिकासँग सहकार्यमा रहेका कम्पनीका तेल र ऊर्जा पूर्वाधार "तुरुन्तै नष्ट" गरिने बताएको छ।
इरानका निम्ति उक्त टापु किन महत्त्वपूर्ण छ?
खार्ग टापु इरानी तटबाट १५ नटिकल माइल (२४ किलोमिटर) को दूरिमा रहेको सानो चट्टानी क्षेत्र हो।
आकारमा सानो भए पनि यो इरानको ऊर्जा पूर्वाधारको सबैभन्दा महत्त्वपूर्ण भागहरू मध्येको एक हो।
उत्तरी खाडीमा रहेको यो सानो तर महत्त्वपूर्ण टापुमा अमेरिकाले हमला गर्नु इरानी अर्थतन्त्रको घाँटीको नसामा चोट पुर्याउनुसरह हो।
इरानको कच्चा तेलको नब्बे प्रतिशत यही टापुमा रहेको टर्मिनलबाट आउँछ।
प्रत्येक दिन यहाँ लगभग १३ लाख ब्यारेल कच्चा तेल प्रशोधन हुन्छ र त्यसलाई अबूजार, फोरोजन र डोरूद गरी इरानका तीन मुख्य समुद्री क्षेत्र हुँदै पानीमुनि बिछ्याइएका पाइपलाइनहरूको जटिल सञ्जालमार्फत् ढुवानी गरिन्छ।
यसको भण्डारण क्षमता १ करोड ८० लाख ब्यारेल छ। त्यो भनेको सामान्य अवस्थामा लगभग १०-१२ दिनको निर्यात हो।
८ करोड ५० लाख ग्यालनसम्म बोक्न सक्ने ठूल्ठूला ट्याङ्करहरू तेल लिन टापुका लोडिङ डकसम्म पुग्न सक्छन्।
टापुको तट गहिरो जलक्षेत्र नजिकै छ जुन मुख्य भूमिको तटको विपरीत हो।
त्यसपछि ट्याङ्करहरू खाडी हुँदै हर्मुज स्ट्रेटबाट बाहिर निस्केर चीनतर्फ लाग्छन्। चीन इरानी तेलको मुख्य खरिदकर्ता हो।
यो टापु इस्लामिक रिभोल्यूसनरी गार्ड कर्प्स (आईआरजीसी) का निम्ति आम्दानीको प्रमुख स्रोत हो।
किन निशानामा परेनन् तेलका पूर्वाधार
शुक्रवार ट्रम्पले अमेरिकी सेन्ट्रल कमान्डले मध्यपूर्वको इतिहासकै शक्तिशालीमध्येको कारबाही पूरा गरेको र उक्त द्वीपमा रहेका हरेक सैन्य ठेगानालाई पूरै नष्ट गरिएको" उल्लेख गरे।
सँगसँगै उनले "शिष्टाचारका कारणले" आफूले "उक्त द्वीपको तेलसम्बन्धी पूर्वाधारहरूलाई नष्ट नगर्ने बाटो लिएको" पनि बताए।
इरानका सरकारी मिडियाले पनि टापुमा रहेका तेलका पूर्वाधारहरूमा कुनै क्षति नपुगेको विवरण दिएका छन्।
समाचारसंस्था फार्सका अनुसार अमेरिकाले हवाई प्रतिरक्षा, नौसेनाका आधारहरू, विमानस्थलको कन्ट्रोल टावर र हेलिकप्टर राख्ने ठाउँलाई निशाना बनाएको थियो।
सँगसँगै इरानी सेनाले आफ्ना ऊर्जा पूर्वाधारहरूमा आक्रमण गरिए अमेरिकासँग काम गर्ने फर्महरूका तेल र ऊर्जा पूर्वाधारमाथि आक्रमण गरेर "तिनलाई तुरुन्तै नष्ट गर्नुका साथै खरानीको थुप्रोमा परिणत गर्ने" चेतावनी दिएको छ।
टापुका पूर्वाधार नष्ट गर्न चलाइने सैन्य कारबाही इरानका लागि अत्यन्तै हानिकारक हुनेछ। साथै त्यसले तनाव पनि उल्लेखनीय रूपमा बढाउनेछ।
यसबाट तेलको मूल्य विश्वव्यापी रूपमै अझ बढ्न सक्छ र इरानले मध्यपूर्वभरि थप तेल पूर्वाधारहरूलाई निशाना बनाउन सक्छ।
युद्धको दुई सातापछि पनि इरानसँग अझै खाडीका आफ्ना अरब छिमेकीहरूका साथै मालबाहक जहाजहरूमाथि ठूलो सङ्ख्यामा कम लागतका उच्च विस्फोटक ड्रोनहरू प्रहार गर्न सक्ने क्षमता छ।
साथै इरानले लाखौँ मानिस प्रभावित हुने गरी खानेपानी प्रशोधन केन्द्रहरू जस्ता महत्त्वपूर्ण पूर्वाधारहरूसम्म आफ्नो निशाना विस्तार गर्न सक्छ।
सैन्य विश्लेषक तथा ब्रिटिश सेनाका पूर्वअधिकारी जस्टिन क्रम्पका विचारमा खार्गमा बमबारी गरेर ट्रम्पले इरानलाई द्वन्द्व चर्काउनबाट रोक्न खोजेका हुन्।
"उनी आफू नरम भएको देखाइरहेका छन् तर सँगै तेलका पूर्वाधारलाई निशाना बनाएर आईआरजीसीप्रति थप कठोर हुन सक्ने पनि बताइरहेका छन्," उनले बीबीसी रेडिओ फोरको टूडे कार्यक्रममा भने।
ट्रम्पले पहिले उक्त युद्धको उद्देश्य इरानी जनतालाई जगाएर इस्लामिक गणतन्त्रको शासनलाई फ्याँक्न सक्षम बनाउनु भएको बताएका थिए।
भलै उनले पछि युद्धका अन्य उद्देश्यहरूबारे पनि बोले। क्रम्पका अनुसार इरानको आर्थिक जीवन रेखालाई लामो समयसम्मका निम्ति असर पार्ने भएकाले उक्त टापुका तेल पूर्वाधारलाई निशाना बनाउन "कठिन" थियो।
अमेरिकाले कब्जा गर्ने कोसिस गर्ला?
अमेरिकी सेनाले कुनै विन्दुमा गएर खार्ग टापु कब्जा गर्ने कोसिस गर्न सक्नेबारे पनि विभिन्न अड्कलबाजी भइरहेका छन्।
त्यसो गर्दा इरानको तेल निर्यात रोकिने मात्र नभई मुख्य भूमिविरुद्ध हमला गर्न उपयोगी स्थल पनि प्राप्त हुन्छ।
अमेरिकाले लगभग ५,००० नौसैनिक र जहाजी कामदारहरू मिलाएर तयार पारिएको 'एम्फिबिअस' जहाज (समुद्रबाट जमिनमा हमला गर्न सक्षम) खाडीतर्फ पठाउँदै गरेको भनी अमेरिकी सञ्चारमाध्यमहरूमा आएका विवरणले पनि उक्त अनुमानलाई बल दिएको छ।
पेन्टागनले त्यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ।
बीबीसीको 'सेक्युरिटी ब्रिफ'का सुरक्षा विश्लेषक माइकी केका अनुसार टापु कब्जा भयो भने आईआरजीसीको आर्थिक जीवन रेखा नराम्ररी प्रभावित हुनुका साथै युद्ध सञ्चालन गर्ने क्षमतामा असर पर्नेछ।
यस्तो छ खार्ग टापुको इतिहास
खार्गले पर्सियन साम्राज्यको बेलादेखि नै खाडीमा रणनीतिक भूमिका निर्वाह गर्दै आएको छ।
दुई हजार वर्षभन्दा पनि अघि प्राकृतिक जलधाराहरूले यसलाई महत्त्वपूर्ण व्यापारिक बन्दरगाह बनाएका थिए।
यो १६ औँ र १७ औँ शताब्दीमा पोर्चुगिज र डच शासनको अधीनमा थियो।
सन् १९०० को दशकको सुरुवाती वर्षहरूमा यहाँ उच्च सुरक्षायुक्त कारागार अवस्थित थियो।
त्यसपछि सन् १९५० को दशकमा शाह मोहम्मद रेजा पह्लवीको शासनकालमा हाइड्रो कार्बन भण्डारण र वितरण केन्द्रको निर्माण सुरु भयो र चाँडै नै यो इरानको मुख्य निर्यात विन्दु बन्यो।
अमेरिकी तेल कम्पनी अमोकोको संलग्नतामा पूर्वाधार विकास गरिएसँगै सन् १९६० को दशकदेखि २४ वर्ग किलोमिटरको यो टापुले इरानी तेल निर्यातमा मुख्य भूमिका खेलेको छ।
सन् १९७९ को इस्लामिक क्रान्ति को बेलासम्म टापुको पूर्वाधारका केही भाग त्यहाँ रहेका अमेरिकी कम्पनीहरूको स्वामित्वमा थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।