अमेरिका-उत्तर कोरिया सम्बन्ध: किम जङ-अनलाई दुई कोरियाको सीमामा भेट्न डोनल्ड ट्रम्पको निम्तो

तस्बिर स्रोत, Reuters
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ट्विटरमा एउटा सन्देश लेख्दै उत्तर कोरियाली नेता किम जङ-अनलाई उत्तर र दक्षिण कोरियाबीचको सीमामा भेट्न आमन्त्रण गरेका छन्।
अमेरिकी राष्ट्रपति जापानमा जी-२० समूहको शिखर सम्मेलनपछि दक्षिण कोरियाको भ्रमणमा जाँदैछन्।
उनी शनिवार दुईदिने भ्रमणका लागि सोल पुग्दैछन्। त्यहाँ उनले प्रगति शून्यजस्तै भइरहेको उत्तर कोरियासँगको परमाणुनिरस्त्रीकरण वार्तालाई अघि बढाउने उपायबारे छलफलहरू गर्ने कार्यक्रम छ।
अनपेक्षित मानिएपनि स्वत:स्फूर्त रूपमा ट्रम्पले किमसँग भेट्ने प्रस्ताव अघि सारेका हुन्।
ओसाकामा जी-२० समूहको बैठकमा बोल्ने क्रममा ट्रम्पले सो विषयमा थप जानकारी दिएनन्। तर उनले शनिवार बिहान मात्रै किमलाई "कुनै सन्देश दिने" निर्णय गरेको बताए।
ट्रम्पको ट्वीटले ल्याएको तरङ्ग
"यदि उनी त्यहाँ आए भने हामी दुई मिनेटजति भेट्छौँ र त्यो पर्याप्त हुनेछ," उनले संवादाताहरूलाई भने।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त

उनी साउदी अरेबियाका युवराज मोहमद बिन सलमानसँगको बिहानीको खाना खाने कार्यक्रम सुरु हुनुअघि बोल्दै थिए।
उनले विश्वव्यापी आर्थिक वृद्धिलाई नै असर पारिरहेको ठानिएको चीन-अमेरिका व्यापार युद्धलगायतका विषयमा चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग पनि वार्ता गर्ने कार्यक्रम छ।
किमसँग वार्ता गर्ने आफूले अचानक गरेको प्रस्तावबारे ट्रम्पले आफ्ना अधिकारीहरूलाई जानकारी दिएको वा नदिएको प्रष्ट भइसकेको छैन।

तस्बिर स्रोत, Reuters

ट्रम्पको ट्वीटबारे प्रतिक्रिया दिँदै दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले किमसँगको भेटबारे अहिलेसम्म केही पनि पुष्टि नभइसकेको जनाएको छ।
उसले उत्तर कोरिया र अमेरिकाबीचको वार्ता जारी रहोस् भन्ने आफ्नो आशामा कुनै फेरबदल नभएको बताएको छ।
सन् २०१७ को नोभेम्बरमा ट्रम्पले दुई कोरियाबीचको असैनिकीकृत क्षेत्र भनिने सीमाको आकस्मिक भ्रमण गर्ने प्रयास गरेका थिए। तर खराब मौसमका कारण उनी त्यो योजना परित्याग गर्न बाध्य भए।

तस्बिर स्रोत, Reuters

अमेरिका-उत्तर कोरिया सम्बन्ध कस्तो छ?
ट्रम्प र किम बीच फेब्रुअरी महिनामा भियतनामको हनोईमा भेट भएपछि दुईपक्षीय सम्बन्ध केही चिसिएको छ।
सिङ्गापुरमा सन् २०१८ को जुनमा भएको भेटपछि उनीहरुबीच दोस्रो पटक भेट भएको थियो। तर परमाणुनिरस्त्रीकरणका विषयमा समझदारी जुट्न मुस्किल भएपछि "खराब सहमति" बाट आफू पछि हटेका ट्रम्पले बताएका थिए।
फलस्वरूप दुई पक्षबीच कुनै सहमति हुन सकेन।
उत्तर कोरियाविरुद्ध लगाइएका प्रतिबन्धहरू हटाउनका लागि उत्तर कोरियाले आफ्नो परमाणुअस्त्र भण्डार नष्ट गर्नु पर्ने अडान ट्रम्पले बारम्बार राख्दै आएका छन्।
हनोईको शिखरवार्ता विफल भएपछि उत्तर कोरियाले कैयौँ छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गर्दै ट्रम्प प्रशासनलाई चिढ्याउँदै आएको छ।
तर कुनै बेला उत्तर कोरियालाई बम आक्रमण गरी ध्वस्त तुल्याइदिने चेतावनी दिएका ट्रम्पले केही समययता किमको बारेमा राम्रा कुरा गर्दै मेलमिलापको सम्भावना भएको सङ्केत दिँदै आएका छन्।
गत महिना उनले किमलाई एक पत्र पठाएका थिए। त्यो पत्रको किमले प्रशंसा गर्दै त्यसको बेहोरा उत्कृष्ट भएको प्रतिक्रिया दिएका थिए।
के साच्चै ट्रम्पले किमलाई भेट्लान्?
ट्रम्पको ट्वीट अचानक आएको हुनाले उनी र किमबीच असैनिकीकृत क्षेत्रमा भेट हुने सम्भावना निकै पातलो देखिन्छ।
किमसँग यसअघि भएका ट्रम्पका भेटका योजना निकै पहिलेदेखि नै बनाइएका हुन्थे।
तर गत महिना एक दक्षिण कोरियाली अधिकारीले ट्रम्पले दुई कोरियाबीचको सीमा क्षेत्रको भ्रमणमा जाने सम्भावना रहेको खुलासा गरेका थिए। त्यतिबेलादेखि नै ट्रम्प र किमबीच भेट हुन सक्ने अनुमान हुन थालेको थियो।
तर अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरूले दुई नेताबीच ठ्याक्कै कहाँ भेट होला भन्ने विषयमा धेरै खुलाउन चाहिरहेका छैनन्।
तर ट्रम्पले भने किमसँग अचानक भेट हुनसक्ने सङ्केत गरेका छन्।
त्यसो नभए पनि दुई नेताबीच टेलिफोन वार्ता वा अर्को चरणको पत्र आदानप्रदान हुन सक्ने सम्भावना रहेको बताउँछन् म्यासच्युसिट्स् इन्स्टिच्युट अफ टेक्नोलजीका सुरक्षा अध्ययन विषयका प्राध्यापक विपीन नाराङ।
उनी भन्छन्, " ट्रम्प र किमबीच अर्को भेट भइहाल्छ भन्ने मलाई लाग्दैन। विना कुनै तयारी त्यसो गर्नु जोखिमपूर्ण हुन सक्छ। अर्को विफल वार्ताको लागि दुवै पक्ष तयार छैनन्।"
सोलमा ट्रम्पले के विषयमा छलफल गर्लान्?
दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनको कार्यालयले जनाएअनुसार दुई पक्षबीच सोलमा "कोरियाली प्राय:द्वीपको पूर्ण निरस्त्रीकरणका विषयमा छलफल गर्दै दिगो शान्ति निर्माणका लागि आपसमा सहकार्य गर्ने उपायहरूका बारेमा" छलफलहरू हुनेछन्।
त्यसका लागि उत्तर अमेरिकाका लागि अमेरिकी राजदूतले हालै सोलमा तयारी वार्ताहरू गरिसकेका छन्।
उनले अमेरिका उत्तर कोरियासँग रचनात्मक वार्ता गर्न तयार रहेको शुक्रवार बताएका थिए।
किमसँग दुई पटक मैत्रीपूर्ण भेट गरिसकेका दक्षिण कोरियाली राष्ट्रपति मूनले उत्तर कोरियालीसँगको विवाद समाधानलाई आफ्नो राष्ट्रपतीय भूमिकाको केन्द्रविन्दुमा राखेका छन्।
मून नै पहिलो ट्रम्प-किम भेटको मध्यस्थकर्ता थिए र उनी उनीहरूबीच अवरुद्ध वार्ता पुन: सुरु होस् भन्ने चाहन्छन्। तथापि उनलाई उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले त्यो प्रक्रियामा "हस्तक्षेप" गरेको आरोप लगाएको छ।
सन् २०२० को राष्ट्रपतीय निर्वाचनको प्रचारप्रसार अभियान सुरु हुनुअघि अवरुद्ध प्रक्रियालाई गति दिन चाहन्छन्।
अमेरिका-उत्तर कोरिया युद्ध अभ्यास कस्ता छन्?

तस्बिर स्रोत, KCNA

दक्षिण कोरियामा अमेरिकाका ३० हजार सैनिकहरू तैनाथ छन्।
ट्रम्पले पटकपटक आफू त्यो सङ्ख्यालाई घटाउने पक्षमा रहेको बताइसकेका छन्।
दक्षिण कोरिया र अमेरिकी सैनिक मिलेर वर्षैपिच्छे युद्धको अभ्यास गर्दै आएका छन्। त्यसले उत्तर कोरियालाई निकै क्रुद्ध बनाउने गरेको छ।
तर गत वर्ष सम्बन्ध सुधार भएपछि त्यस्तो युद्ध अभ्यासको क्रममा कमी आएको छ।
अरू देश के चाहन्छन्?
यो साता जी-२० समूहको शिखर बैठकको सेरोफेरोमा पनि उत्तर कोरियाको विषयले निकै प्राथमिकता पाएको छ।
उत्तर कोरियासँग सरोकार राख्ने सबै देशहरू कोरियाली प्राय:द्वीपमा परमाणुअस्त्रको जोखिम कम भएको अवस्था नै उत्तम हुने कुरामा सहमत देखिन्छन्।
तर त्यो जोखिमलाई कसरी कम गर्ने भन्ने विषयमा ती देशहरूका आआफ्नै मत छन्।




























