कोरोना भाइरस नेपाल: पीसीआर परीक्षणको गति बढाउन के आवश्यक छ?

नेपालमा कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएका आठ जनामध्ये केहीमा मरणोपरान्त मात्र सङ्क्रमण पुष्टि हुन सक्यो।

विगत केही सातामा व्यापक परीक्षण गरिएकाले सङ्क्रमित व्यक्ति पहिचान गर्ने क्रम बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ छ।

अहिले एक लाखभन्दा बढी व्यक्तिहरू देशका विभिन्न जिल्लामा क्वारन्टीनमा छन्।

तर क्वारन्टीनमा बसेका हजारौँ मानिस तथा सम्भावित सङ्क्रमितबाट सङ्कलित नमुनाको सङ्ख्या ह्वात्तै बढेकाले सीमित क्षमता भएका प्रयोगशालाहरूमा समयमै पीसीआर विधिबाट परीक्षण गर्न तथा परिणाम दिन कठिनता उत्पन्न भएको छ।

दोहोरो चाप

देशभरिमा कोरोनाभाइरस सङ्क्रमणको परीक्षणका लागि २० वटा प्रयोगशाला सञ्चालनमा छन्।

अहिले कम्तीमा दैनिक ५,००० वटा नमुनाको परीक्षण गर्ने सकिने क्षमता भएको बताइए पनि त्यो हुन सकिरहेको छैन।

तिनमा अपेक्षाकृत नमुनाहरूको परीक्षण हुन नसकिरहेका बेला त्यसको गति बढाउन जनशक्तिमा ध्यान दिनुका साथै पूर्णस्वचालित पीसीआर उपकरण आवश्यक पर्ने प्रयोगशालामा कार्यरत अधिकारीले बताएका छन्।

स्वचालित उपकरण किन आवश्यक?

अहिले सञ्चालनमा रहेका पीसीआर उपकरणहरू अर्धस्वचालित भएका र अधिकांश समय मानिसले सोझै काम गर्नुपर्ने भएकाले परीक्षणका लागि धेरै समय लाग्ने गरेको उनीहरूको भनाइ छ।

कोरोनाभाइरसको सङ्क्रमण बढ्दै जाँदा सरकारले परीक्षण गर्ने प्रयोगशालाको सङ्ख्या बढाएर २० वटामा पुर्‍याइएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई दिनमा १,००० र अन्य १९ वटालाई २०० का दरले नमुना परीक्षणको जिम्मा दिइएको छ।

तर मन्त्रालयको तथ्याङ्कमा केही प्रयोगशालमा कुनै दिन एउटा पनि परीक्षण नभएको र केहीमा १०० वटाभन्दा कम नमुनाको परीक्षण भएको देखिन्छ।

परीक्षण गर्ने कर्मचारीमा शारीरिक समस्या

परीक्षण गर्नुपर्ने नमुनाको सङ्ख्या बढ्दै जाँदा अब पूर्णस्वचालित पीसीआर उपकरणको विकल्प नरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा बताउँछिन्।

"अहिले पीसीआर मशीन भने पनि त्यसले आफैँले मात्र काम गर्ने त केवल अन्तिमको दुई घण्टामात्र हो। बाँकी आठ-नौ घण्टा त हातकै (मान्छेकै) काम हुन्छ। निरन्तर काममा खटिँदा हाम्रा कर्मचारीहरूमा घाँटी दुख्ने र हात दुख्ने समस्या आएको छ," उनले भनिन्।

त्यसैले अब प्रयोगशालाको क्षमता बढाउँदा स्वचालित उपकरण ल्याइनुपर्ने उनको तर्क छ।

डा> झाले यसबारे मन्त्रालयमा प्रस्ताव गरिसकिएको र चाँडै नै लागु हुनसक्ने बताइन्।

प्रादेशिक रूपमा सबै प्रदेशमा त्यस्ता स्वचालित उपकरण राख्नुपर्ने उनको भनाइ छ।

जनशक्तिको अभाव

देशभरिका सबै प्रयोगशालको संयोजन गरिरहेकी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार पर्याप्त जनशक्तिको अभावका कारण पनि अहिले ढिलो गतिमा परीक्षणको नतिजा आएको हो।

उनी भन्छिन्, "प्रयोगशालाहरूका पनि आफ्नै धेरै किसिमका अप्ठेरा हुन्छन् जसले गर्दा भनेको जस्तो हुन सकेको छैन। कतिपयले निश्चित ठाउँका नमुना मात्र परीक्षण गरेका छन्। कतिपय ठाउँमा चाहिँ जनशक्तिको समस्या देखिएको हो कि भनेर हामीले १९ वटै प्रयोगशालामा यताबाटै पैसा बेहोर्नेगरी दुई जना अतिरिक्त जनशक्ति राख्नुहोस् भनेर चिठी पठाएका छौँ।"

प्राविधिक जनशक्ति बढाउँदा प्रत्येक प्रयोगशालामा थप १०० वटा नमुना परीक्षण गर्न सहयोग पुग्ने आकलन गरिएको छ।

पीसीआर परीक्षणका लागि मानिसबाट सङ्कलित नमुनाबाट कोरोनाभाइरसको आरएनए अर्थात् आनुवंशिक संरचना निकाल्नु निकै कठिन र जोखिमयुक्त मानिन्छ।

कस्तो विकल्प छ?

प्राविधिक जनशक्ति भनेको तत्कालै बढाउन सकिने जनशक्ति होइन। तर यसका पनि केही विकल्प रहेको विज्ञहरू बताउँछन्।

त्रिभुवन विश्वविद्यालयको सूक्ष्मजीव विज्ञान केन्द्रीय विभागका प्रमुख डा. मेघराज बन्जाराले आफूहरूसँग देशभरि गरि झन्डै ४०० को सङ्ख्यामा त्यस्ता जनशक्ति रहेको दाबी गरेका छन्।

तिनले दशौँ हजार नमुना परीक्षणमा सहयोग गर्न सक्ने उनले बताए।

"हामीले टेकु प्रयोगशालालाई मद्दत पुगोस् भनेर केही जनशक्ति पठाएका पनि थियौँ। तर उनीहरूसँग राष्ट्रिय स्वास्थ्य व्यवसायी परिषद्‌को अनुमतिपत्र नभएकाले प्रयोग हुन सकेनन्," उनले भने।

"यस्तो महामारीका बेला यस्ता विषयलाई गम्भीरताका साथ लिएमा जनशक्तिको समस्या धेरै हदसम्म समाधान हुने थियो," उनले बीबीसीलाई बताए।

कीर्तिपुरस्थित उक्त विभागसँग आफ्नै पीसीआर उपकरण पनि थियो। अहिले उक्त उपकरण सुर्खेतलाई दिइएको डा. बन्जाराले बताए।

"एक चोटि प्रशोधित आरएनए उपयुक्त रीएजेन्टसँग राखिसकेपछि बाँकी काम उपकरणले आफैँ गर्छ। अहिले देखिएको समस्या भनेको नमुनाबाट आरएनए निकाल्ने पर्याप्त जनशक्ति नहुनु हो," डा. बन्जाराले भने।

विभिन्न विश्वविद्यालय तथा निजी स्वास्थ्य अनुसन्धान निकायहरूसँग रहेका सुविधा र जनशक्ति पनि उपयोग गर्न उनले सुझाव दिएका छन्।

अहिले पीसीआर परीक्षणको पर्खाइमा देशभरिका दर्जनौँ क्वारन्टीनमा एक लाखभन्दा बढी व्यक्ति छन्।

भारतबाट आएकाहरूलाई १४ दिनको क्वारन्टीनमा राखेपछि पीसीआर परीक्षण गरेर मात्रै घर पठाउने बताइएको छ।