कोभिड-१९: मलेशियामा एक जोडीको बिहेमा १०,००० ‘ड्राइभ थ्रु’ पाहुना

दुलहा र दुलही

तस्बिर स्रोत, facebook.com/officialkunan

तस्बिरको क्याप्शन, दुलहा र दुलही

कोरोनाभाइरस महामारीले ठूलो समारोहबीच बिहे गर्ने धेरै जोडीको सपनालाई साकार हुन दिएको छैन।

तर मलेशियामा एउटा जोडीले प्रतिबन्धसम्बन्धी नियमबीच आफ्नो बिहेमा दश हजार निम्तालुलाई स्वागत गरेका छन्, त्यो पनि जनस्वास्थ्यसम्बन्धी सुरक्षित तरिका अपनाएर।

कोरोनाभाइरस महामारीका बेला लागु गरिएको नियम अनुसार उनीहरूले २० जनाभादा बढी व्यक्तिलाई बिहेमा आमन्त्रण गर्न नमिल्नुपर्ने हो।

उसो भए दश हजार व्यक्तिलाई कसरी स्वागत गर्न सकिन्छ भन्ने प्रश्न तपाईँको दिमागमा आउनसक्छ।

तर यदि तपाईँ 'ड्राइभ-थ्रु' कार्यक्रम गरी बिहे गर्नुहुन्छ भने त्यसो हुनसक्छ।

आइतवार बिहान नवविवाहित जोडी मलेशियाको राजधानी क्वालालम्पुरदेखि दक्षिणमा पर्ने पुत्रजायास्थित एउटा विशाल सरकारी भवनबाहिर बसे। अनि अतिथिहरू आआफ्ना कारलाई बिस्तारै गुडाउँदै नवदम्पतीको छेउबाट गुज्रिए।

पाहुनाहरूले गाडीको सिसा बन्द गरेको हुनुपर्थ्यो र उनीहरूलाई टाढैबाट हात हल्लाएर स्वागत गरिएको थियो।

यो अरू बेलाको बिहेजस्तो तपाईँलाई नलाग्न सक्छ। तर दुलहा तेङ्ग्कु मुहम्मद हाफिज र दुलही ओसीन अलागिआ पनि अरू जोडीजस्ता पक्कै थिएनन्।

दुलहा चाहिँ एक प्रभावशाली राजनीतिज्ञ तथा पूर्वमन्त्री तेङ्ग्कु अदनानका छोरा हुन्। आइतवारै अदनानको जन्मदिन पनि परेको थियो।

"आज बिहानदेखि यहाँ १० हजारभन्दा बढी कार आएको मलाई जानकारी गराइएको छ," समारोहका तस्वीर शेअर गर्दै सामाजिक सञ्जाल फेसबुकमा गर्वित पिताले लेखेका छन्।

"म र मेरो परिवार एकदमै सम्मानित महसुस गरिरहेका छौँ। समस्या बुझिदिएकोमा र सबै नियमको पालना गर्दै कारबाट नओर्लिकनै सहभागी भइदिएकोमा तपाईँ सबैलाई धन्यवाद छ।"

दुलहाका पिता तथा पूर्वमन्त्री तेङ्ग्कु अदनानले फेसबुकमार्फत् तस्वीरहरू शेअर गरेका छन्

तस्बिर स्रोत, facebook.com/officialkunan

तस्बिरको क्याप्शन, दुलहाका पिता तथा पूर्वमन्त्री तेङ्ग्कु अदनानले फेसबुकमार्फत् तस्वीरहरू शेअर गरेका छन्

सबै दश हजार निम्तालुलाई त्यसरी कारबाट नओर्लिकन नवदम्पतीको छेउबाट गुज्रिन करिब तीन घण्टा लागेको थियो।

खुशी देखिएका दम्पतीबाट भने बिस्तारै अघि बढिरहेको ट्राफिकमा रहेका निम्तालुहरूले केवल अभिवादनमात्र होइन स्वादिष्ट डिनरको मौका पनि पाएका थिए।

मलेशियाली सञ्चारमाध्यमहरूका अनुसार कारको झ्यालबाट उनीहरूले पहिल्यै प्याकिङ्ग गरिएका खानेकुरा पाएका थिए।

दुलहाका राजनीतिज्ञ बुवा पाँच लाख डलर बराबरको भ्रष्टाचार मुद्दामा दोषी ठहर भई जरिवाना तिर्नुपर्ने र १२ महिना जेल बस्नुपर्ने सजाय पाउनुभन्दा एक दिनअगाडि यो समारोहको आयोजना गरिएको थियो।

मलेशिया अहिले कोरोनाभाइरस सङ्क्रमणको नयाँ लहरसँग जुझिरहेको छ।

हालसम्म त्यहाँ ९२,००० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने कोभिड १९ सँग सम्बन्धित कारणले ४३० जनाको मृत्यु भएको छ।