संसद् घटना 'अनपेक्षित र आश्चर्यजनक': अमेरिकाका नेपालीहरू

अमेरिकी संसद् भवनमा चार जनाको ज्यान जानेगरी भएको दङ्गापछि १५ दिन राजधानी वाशिङ्टनमा आपत्‌काल लगाइएको छ।

त्यहाँ धेरैतिर सुरक्षा व्यवस्था कडा पारिएका विवरणहरू सार्वजनिक भएका छन्।

नयाँ राष्ट्रपतिले शपथग्रहण गर्ने मितिको दुई साताअघि भएको उक्त घटनाको अमेरिका र विश्वभर चर्चा भइरहँदा हामीले अमेरिकामा रहेका केही नेपालीसँग कुराकानी गरेका छौँ।

के भन्छन् उनीहरू?

विष्णु शीतल, पत्रकार (भर्जिनिया)

संसद् भवनमा भएको उक्त घटनासँगै यहाँको अवस्था जता पनि मोडिन सक्ने आकलन गरेर सुरक्षा व्यवस्था कडा पारिएजस्तो देखिन्छ।

वासिङ्टन डिसीमा मात्र नभएर छिमेकी मेरिल्याण्ड र भर्जिनिया राज्यमा पनि उक्त संवेदनशीलताको छनक पाइन्छ।

हिजो र आज वासिङ्टन डिसीमा भएका प्रदर्शनहरू पहिल्यै तय भएका थिए।

राजनीतिक केन्द्र भएकाले डिसीमा आन्दोलनहरू भइरहनु कुनै नौलो कुरा पनि होइन।

तर संसद् भवनभित्र प्रवेश गरेर जे-जस्तो घटना भयो त्यो धेरैका लागि अनपेक्षित र आश्चर्यजनक थियो।

मानिसहरू अहिले धेरै नै त्रसित भएको भन्न त मिल्दैन। तर यसलाई व्यवस्थापन नगरे यो भूसको आगो जसरी ठूलो रूप लिन सक्छ भन्ने चाहीँ धेरैलाई लागेको देखिन्छ।

बुधवारको उक्त घटना रिपब्लिकन पार्टीको नीति अन्तर्गत नभएकोले त्यसलाई दुई पार्टीको द्वन्द्वका रूपमा मानिसहरूले लिन्छन् भन्ने मलाई लाग्दैन।

अहिले नै कयौँ रिपब्लिकनहरूले त्यसको खुलेर विरोध गरेका छन्। राजनीतिकजस्तो देखिए पनि धेरैले यसलाई हिंसात्मक घटनाकै रूपमा हेरेका छन्।

उपहारजंग शाह, पेशाकर्मी (कनेक्टिकट)

अमेरिकाको राजनीति त्यसै पनि डेमोक्र्याट र रिपब्लिकनबीच विभाजित छ।

र अहिले रिपब्लिकनबीच नै पनि को ट्रम्प-रिपब्लिकन हुन् भनेर छुट्याउन थालिएको देखिन्छ।

ट्रम्पले कुनै आधार प्रस्तुत नगरीकन चुनावमा धाँधली भएको बताइरहँदा उनका समर्थकहरूले 'त्यसै छाड्न नहुने' भन्दै आक्रोशित बनेका देखिन्छन्।

खास गरी ट्रम्पको पक्षमा उग्र रूपले लाग्ने भएका श्वेतजातिलाई सर्वोच्च ठान्ने समूहहरू छन्।

तिनको सङ्ख्या निकै ठूलो त छैन। तर तिनले घटनाहरूलाई उकास्न योगदान दिने गर्छन्।

सुरुमा शान्तिपूर्ण हुने भनिएको बुधवारको प्रदर्शनमा सहभागी हुन परपरका राज्यबाट मेरो चिनजानका मानिसहरू पनि पुगेका थिए जसले राजनीतिक मूल्य बुझेका थिए।

र उनीहरू आफ्ना मतदातालाई खुसी राख्न र आफ्नो एजेन्डामा कायम रहिरहेको देखाउन पनि यस्ता प्रदर्शनमा सहभागी भइरहेका हुन्छन्।

तर दङ्गा भड्काउन उग्र समूहहरूले नेतृत्व लिइदिँदा घटना अर्कै भएझैँ देखिन्छ।

यस घटनाले अहिले अमेरिकामा ट्रम्पले शान्तिपूर्ण रूपले शक्ति हस्तान्तरण गर्दैनन् कि भन्ने चिन्ता धेरैमा पारेको देखिन्छ।

यदि त्यसो भएमा यस घटनाको लहरो अर्कै हुन पनि सक्छ।

खेमराज रिजाल, विद्यार्थी (भर्जिनिया)

यतिखेर यहाँ धेरैले सामाजिक सञ्जालहरूमा उठाइरहेको प्रश्न भनेको प्रहरी सुरक्षाको विषय देखिन्छ।

सामान्यत: अन्यत्र शान्तिपूर्ण प्रदर्शनहरू हुँदा समेत दङ्गा भड्कन सक्ने आकलन गर्दै त्यसको वैकल्पिक सुरक्षा तयारीहरू हुनेमा संसद् भवनमा त्यस्तो हुँदा समेत सुरक्षा फितलो भएको उनीहरूले गुनासो पाइन्छ।

मानिसहरूले त्यसलाई 'ब्ल्याक लाइभ्ज म्याटर' आन्दोलनसँग समेत तुलना गरेका छन्।

त्यस्तो अर्थपूर्ण उद्देश्यले आन्दोलनहरू हुँदा प्रहरीले घेरेर बस्ने र चुनावमा धाँधली भएको 'तथ्यहिन र नसुहाउने कुरा बोकेर' आन्दोलन चर्काउँदा प्रहरीले किन त्यसलाई ध्यान दिएन भन्नेहरू समेत छन्।

उनीहरूले स्वेतवर्णका मानिसहरू र ट्रम्पका पक्षधर भएकै कारण प्रदर्शनकारीलाई पर्याप्त नियमन नगरिरहेको कुरा उठाइरहेका छन्।

मानिसहरूमा यतिखेर चिन्तासँग अन्यौलता देखिएको छ।

किनकि यस प्रकारको घटना अमेरिकामा पछिल्लो लामो समयमा भएको थिएन। जसकै कारण मानिसहरू त्यसलाई तुलना गरेर हेर्न सकेका छैनन्।