तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
साउदी अरब: एकैदिन ८१ जनालाई मृत्युदण्ड, आतङ्ककवाद र अन्य अपराधमा 'दोषी' थिए
साउदी अरबले शनिवार एकैदिन ८१ जनालाई मृत्युदण्ड दिइएको बताएको छ। उक्त सङ्ख्या त्यहाँ गत वर्ष मृत्युदण्ड दिइएका मानिसको कुल सङ्ख्याभन्दा बढी हो।
मृत्युदण्ड पाउनेमा ३७ साउदी, सात यमनी र एक सिरियाली नागरिक पनि छन्।
उनीहरूलाई आतङ्कवादसहित विभिन्न जघन्य अपराधमा दोषी ठहर गरिएको सरकारी समाचारसंस्था एसपीएले जनाएको छ।
उनीहरूमध्ये केहीलाई इस्लामिक स्टेट समूह (आईएस), अल कायदा वा यमनका हूथी विद्रोही समूहमा संलग्न रहेको आरोप लगाइएको थियो।
मानव अधिकारवादी सङ्गठनहरूले साउदी अरबमा निष्पक्ष सुनुवाइ नहुने गरेको दाबी गर्ने गरेका छन्। यद्यपि साउदी सरकारले त्यस्तो आरोप अस्वीकार गर्दै आएको छ।
एसपीएका अनुसार अहिले मृत्युदण्ड दिइएका प्रतिवादीहरूको मुद्दा १३ जना न्यायाधीशले हेरेका थिए। मुद्दा तीन चरणको न्यायिक प्रक्रियाबाट अघि बढेको थियो।
उनीहरूलाई अर्थतन्त्रसम्बन्धी महत्त्वपूर्ण संयन्त्रमा आक्रमण गर्न निसाना बनाएको, सुरक्षा निकायका सदस्यहरूलाई मारेको वा तारो बनाएको, अपहरण गरेको, यातना दिएको, बलात्कार गरेको र तस्करी गरेर देशभित्र अस्त्र ल्याएको जस्ता अभियोग लगाइएको थियो।
मृत्युदण्ड दिइने उच्च दर भएका देशहरूको सूचीमा साउदी अरब शीर्षस्थ पाँचौँ स्थानमा छ।
प्राप्त तथ्याङ्कका आधारमा एम्नेस्टी इन्टरन्याश्नलले बनाएको सूचीमा चीन, इरान, इजिप्ट र इराकपछि साउदी अरबमा उच्च दरमा मृत्युदण्ड दिइने गरेको देखिन्छ।
गत वर्ष साउदी अरबमा ६९ जनालाई मृत्युदण्ड दिइएको थियो।
चीन सरकारले मृत्युदण्ड दिइएका मानिसको तथ्याङ्क गोप्य राख्ने गर्छ।
तर एम्नेस्टी इन्टरन्याश्नलको आकलनअनुसार चीनमा प्रत्येक वर्ष हजारौँ मानिसले मृत्युदण्ड पाउने गरेका छन्।
इरान, उत्तर कोरिया र भियतनामजस्ता अन्य देशले पनि जति सङ्ख्यामा मृत्युदण्ड दिन्छन् त्यो सूचना लुकाउने गरेको एम्नेस्टी इन्टन्याश्नलको भनाइ छ।