पेट्रोलियम पदार्थः इन्धनको मूल्य बढ्दा तपाईँको खर्चलाई कसरी असर पर्न सक्छ

महँगीले सबैतिर व्यापक असर पारिरहेको बेला भर्खरै इन्धनमा चर्को मृल्यवृद्धिले उपभोक्तालाई थप मार पर्ने अर्थविद्‌ तथा व्यापारीले औँल्याएका छन्।

उनीहरूका अनुसार "नुनदेखि सुनसम्म" आयात हुने भएकाले ढुवानी गर्नुपर्ने सबै सामानको भाउ प्रभावित हुनेछ।

नेपाल राष्ट्र ब्याङ्कका अनुसार गत आर्थिक वर्षको वैशाखको तुलनामा चालु आर्थिक वर्षको वैशाखमा लगभग सबै वस्तुको भाउ बढेको देखिन्छ।

सो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि दर ७.१३% र गैरखाद्य तथा सेवा समूहको ८.४५% रहेको केन्द्रीय ब्याङ्कले जनाएको छ।

मूल्यवृद्धि कति?

चालु आर्थिक वर्षको १० महिनासम्ममा विभिन्न उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको छ।

  • घिउ तथा तेलमा २४.८६%
  • फलफूलमा १२.६१%
  • दुग्धपदार्थ र अण्डामा ११.३०%
  • दाल तथा गेडागुडीमा १०.५३%
  • सुर्तीजन्य पदार्थमा ९.७०%

सोही अवधिमा गैरखाद्य तथा सेवा समूहअन्तर्गत पनि मूल्य बढेको छ।

  • यातायातः २१.८१%
  • शिक्षाः ११.६४%
  • मनोरञ्जन तथा संस्कृतिः ८.२१%

केही महिनायता पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर भइरहेको वृद्धिको प्रभाव सर्वसाधारण उपभोक्तालाई पर्ने जानकारहरू बताउँछन्।

सर्वसाधारणलाई तत्काल असर पार्ने केही मुख्य क्षेत्रबारे यहाँ चर्चा गरिएको छ।

यातायात

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको वृद्धिसँगै यातायात क्षेत्रमा त्यसको प्रत्यक्ष प्रभाव परेको देखिन्छ।

इन्धनमा महँगीको कारण देखाउँदै सार्वजनिक सवारीसाधनको भाडादर बढाउँदै आएको यातायात व्यवस्था विभागले पछिल्लो पटक असार ६ गतेबाट लागु हुनेगरी वृद्धि गरेको छ।

पछिल्लो निर्णयअनुसार यात्रुवाहक सवारीसाधनको भाडामा ५.३% ले, पहाडी बाटोमा गुड्ने मालवाहक गाडीको भाडामा ६.९४% र तराईमा ७.७% ले वृद्धि गरिएको छ।

इन्धनको मूल्यमा ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ हुँदा विभागले भाडादर समायोजन गर्दै आएको छ।

"इन्धनको भाउ बढ्न थालेपछि निजी गाडी चढ्नेहरूको खर्चमा पनि वृद्धि हुने भयो," अर्थविद्‌ केशव आचार्यले बीबीसीसँग भने।

खाद्यान्न

पेट्रोलियम पदार्थको मूल्य बढेपछि ठूलो असर पर्ने एउटा मुख्य वस्तु खाद्यान्न पनि हो।

अहिले नै खाद्यवस्तुमा चर्को मूल्यवृद्धि भएको उपभोक्ताहरूले गुनासो गरिरहँदा आउँदा दिनमा अझ बढ्न सक्ने व्यापारीले बताएका छन्।

"अहिले विक्री भइरहेको भनेको पुरानो स्टकका सामान हुन्। इन्धनको मूल्य थप बढेपछि ढुवानी खर्च बढ्ने भएकोले अब आउने सामानको मूल्य अझ बढ्छ," नेपाल खाद्य किराना तथा थोक व्यवसायी सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बीबीसीसँग भने।

त्यसमा अर्थविद्‌ आचार्य पनि सहमत देखिन्छन्, "तपाईँले रेस्टुराँमा खाने खानाको मूल्य पनि अब बढ्ने भयो।"

अहिले खाद्यवस्तुमा ५ देखि ७ प्रतिशतसम्म मूल्य बढेको नेपाल खुद्रा व्यापार सङ्घका महासचिव अमूलकाजी तुलाधर बताउँछन्।

भौतिक निर्माण

स्वदेशी उत्पादनले माग पूरा गर्न नसक्ने भएकोले नेपालले थुप्रै निर्माण सामग्री आयात गर्दै आएको छ।

इन्धनको मूल्यवृद्धिका कारण आयात गरिने सामग्री मात्रै महँगो हुने नभई स्वदेशमै उत्पादन हुने सामानको भाउ बढ्ने अधिकारीहरू पनि स्वीकार्छन्।

"उदाहरणका लागि इन्धनबाट चल्ने उद्योगधन्दा छन् भने तिनको लागत बढ्ने भयो," वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता हरि पंगेनीले बीबीसीसँग भने।

"कारखानाबाट सामान ढुवानी गरेर विक्री गर्ने ठाउँमा पुग्दासम्म र त्यहाँबाट उपभोक्तासम्म पुर्‍याउँदा खर्च बढ्ने भएर मूल्य बढ्ने भयो।"

यद्यपि अस्वाभाविक रूपमा मूल्य राखेको पाइए कानुनबमोजिम कारबाही गरिने उनले चेतावनी दिए।

"यदि कसैले आफू ठगिएको अथवा आफूसँग चर्को मूल्य असुली गरेको पाउनुहुन्छ भने पैसा नलाग्ने नम्बर ११३७ मा फोन गर्न सक्नुहुन्छ," प्रवक्ता पंगेनीले भने।

लत्ताकपडा

मानिसहरूले लगाउने लुगाकपडामा पनि इन्धनमा भइरहेको मूल्यवृद्धिको ठूलो असर पर्ने अर्थविद्‌ तथा व्यवसायीहरू बताउँछन्।

"ढुवानी लागत बढ्ने भएपछि आयात गरिने सामानको मूल्य पनि स्वाभाविक रूपमै बढ्ने भयो," नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोकुमार श्रेष्ठले बीबीसीसँग भने।

"जुन अनुपातमा ढुवानी लागत बढ्छ सोही अनुपातमा लत्ताकपडा लगातयका सामानको भाउ बढ्छ नै।"

व्यापारीहरूका अनुसार नेपालले भारत र चीनबाट धेरै तयारी लत्ताकपडा आयात गर्ने गरेको छ।

इन्धनमा कसरी बढिरहेको छ मूल्य

नेपाल आयल निगमले भर्खरै गरेको मूल्य समायोजनपछि पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ र डीजल तथा मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ।

नेपालमा गत पाँच महिनायता पेट्रोलियम पदार्थको मूल्यमा एक दर्जन पटक (एकचोटि हवाई इन्धनमा समेत गरी) समायोजन गरिएको नेपाल आयल निगमको तथ्याङ्कले देखाउँछ।

युक्रेन युद्ध सुरु भएपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुन थालेको हो। त्यस नै नेपालमा सात पटक मूल्य समायोजन भएको छ।

गत पाँच महिनाको अवधिमा निगमले प्रतिलिटर ३ रुपैयाँदेखि १० रुपैयाँ भाउ बढाउने गरेकोमा पछिल्लो पटक सबैभन्दा धेरै वृद्धि गरेको तथ्याङ्कले देखाउँछ।

यस अवधिमा एक पटक अर्थात्‌ जेठ १९ गते चाहिँ निगमले पेट्रोल र डीजल तथा मट्टितेलमा पूर्वाधार कर बापतको प्रतिलिटर १० रुपैयाँ हटाएर मूल्य घटाएको थियो।

पाँच महिनाअघि अर्थात्‌ गत माघ ५ गते पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ थियो भने डीजल र मट्टितेलको भाउ प्रतिलिटर १२२ रुपैयाँ थियो।