अफगानिस्तान भूकम्पः विपद्‌मा कैयौँ बालबालिकाको मृत्यु भएको हुनसक्छ- चिकित्सकहरू

अफगानिस्तानको भूकम्प

तस्बिर स्रोत, Getty Images

    • Author, लियो स्यान्ड्स
    • Role, बीबीसी न्यूज

अफगानिस्तानमा रहेका चिकित्सकहरूले बीबीसीसँगको कुराकानीमा बुधवारको भूकम्पमा धेरै बालबालिकाहरूको मृत्यु भएको हुनसक्ने बताएका छन्।

१ हजारभन्दा धेरै मानिसको मृत्यु भएको उक्त विपद्पछि आइरहेको भारी वर्षा, सीमित स्रोत र कठिन भूभागका कारण उद्धारकर्ताका प्रयासमा अवरोध उत्पन्न भइरहेको बताइएको छ।

६.१ म्याग्निच्यूडको भूकम्पले गर्दा धेरैजसो माटोले बनेका घरहरू भग्नावशेषमा परिणत भएका छन्।

र, त्यसमा कति मानिसहरू पुरिएका छन् भन्ने अझै प्रस्ट छैन।

असर

तालिबान अधिकारीहरूले थप अन्तर्राष्ट्रिय सहायताका लागि आह्वान गरेका छन्।

सञ्चार सञ्जाल समेत नराम्ररी प्रभावित भएका छन्।

रोयटर्स समाचार संस्थासँग एकजना तालिबान प्रवक्ताले "निकै कमजोर सञ्चार सञ्जालका कारण आफूहरूले त्यस क्षेत्रको अवस्था बुझ्न नसकिरहेको" बताएका छन्।

भूकम्पले घर भत्काइ दिएपछि भग्नावशेषबाट आफ्ना सर सामान निकाल्न खोज्दै गरेका एक व्यक्ति

तस्बिर स्रोत, Getty Images

सबैभन्दा धेरै प्रभावित पाक्तिका प्रान्तका दुर्गम क्षेत्रमा तत्काल आपत्कालीन आवास र खाद्य सहायता पुर्‍याउने काममा संयुक्त राष्ट्रसङ्घ लगायतका संस्थाहरू जुटेका छन्।

यस विपद्अघि नै अफगानिस्तानको स्वास्थ्य प्रणाली लगभग काम नगर्ने अवस्था नजिक पुगेको थियो।

"दर्जनौँ गाउँ ध्वस्त"

भूकम्प केन्द्रविन्दू नजिकै पूरापूर ध्वस्त भएको गाउँमा जोगिएका मानिसहरू र उद्धारकर्ताहरूले मृतकको सङ्ख्या अझ बढ्ने देखिएको बीबीसीलाई बताएका छन्।

स्थानीय मानिसहरूले दर्जनौँ गाउँहरू ध्वस्त भएको बताएका छन्।

अफगानिस्तानको भूकम्प

अधिकारीहरूले झण्डै १ हजार ५ सयजना मानिसहरू घाइते भएको बताएका छन्।

पाक्तिका प्रान्तको अस्पतालमा रहेकी एक महिलाले आफ्नो परिवारका १९ जनालाई गुमाएको बताइन्।

अस्पतालको शय्याबाट उनले भनिन्, "एउटा कोठामा सातजना, अर्कोमा पाँचजना, अर्कोमा चारजना, त्यसपछि तीनजनाको मेरै घरमा ज्यान गयो।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, हेर्नुहोस्ः घाइतेलाई यसरी उद्धार गरिएको छ