हात्ती संरक्षण: ‘लामो दाह्रा भएका’ यी भीमकाय जीव किन विशेष छन् र तिनको संरक्षण किन आवश्यक छ

    • Author, स्वामीनाथन नटराजन
    • Role, बीबीसी विश्व सेवा

“पहिलो पटक ठूलो दाह्रा भएको हात्ती देख्दा म आश्चर्यचकित पँरे। त्यो एकदमै सुन्दर थियो। त्यो विशेष क्षण थियो,” निक होलर भन्छन्।

साभो ट्रस्टका लागि काम गर्ने उनी विमानचालक हुन्। उक्त ट्रस्टले ठूला दाह्रा भएका हात्तीको संरक्षणमा काम गर्छ।

यी हात्तीका दाह्रा उहिल्यै हराइसकेका प्राचीन हात्तीका जस्तै छन्। तिनका दाह्राले भुइँ नै छेडिदिन सक्छन्।

“यो त्यस्तो क्षण हो जुन बेला तपाईँले आफू एकदमै सानो भएको महसुस गर्नुहुन्छ र एउटा सुन्दर जीवलाई हेरेर त्यसले कति राम्रो दाँत देखाइरहेको छ भन्नुहुन्छ,” उनी भन्छन्।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण निकाय आईयूसीएनले झन्डै चार लाख १५ हजार अफ्रिकी हात्तीमध्ये यस्ता ठूला दाह्रा हुने हात्तीको सङ्ख्या जम्मा दुई दर्जनजति भएको जनाएको छ। त्यसबाहेक एशियाली हात्तीको सङ्ख्या ५० जति छ।

अगस्ट १२ विश्व हात्ती दिवस मनाइयो। यही सन्दर्भमा हामी यी ठूला दाह्रा भएका किन हात्तीहरू महत्त्वपूर्ण छन् भनेर चर्चा गर्दै छौँ।

सुस्त र शान्त

होलरले पहिलो पटक ठूलो दाह्रा भएको हात्ती चार वर्षअघि देखेका थिए। त्यस बेला उनी कारमा चढेर साभो राष्ट्रिय निकुञ्जमा घुमिरहेका थिए।

“मैले त्यसलाई एकदमै राम्ररी देखेँ, ज्यादै नजिकै र त्यस्तो आकर्षक दाह्रा भएको हात्ती देख्न पाउनु व्यक्तिगत रूपमा पनि विशेष थियो। जब तपाईँले उसलाई देख्नुहुन्छ, त्यसै नै त्यो विशेष हात्ती हो भन्ने लाग्छ। उनीहरू दुर्लभ छन्, त्यही भएर हामीले तिनलाई जोगाउनैपर्छ।”

उक्त हात्ती एक्लै थियो र बिस्तारै हिँडिरहेको थियो।

“ऊ शान्त थियो र उसको नजिक जान मिल्थ्यो।”

लामा दाह्रा भएका सबै हात्तीहरूको नाम राखिएको छ।

होलरले पछि रञखको छाहरीमुनि आफूले देखेको हात्तीको नाम लुगार्ड रहेको थाहा पाए।

“लुगार्ड अहिले एकदमै चर्चित छ। ऊ विशाल र दर्शनीय हात्ती हो,” होलरले प्रसन्न हुँदै भने।

नाम सहितका हात्ती

बयालीस हजार वर्ग किलोमिटर क्षेत्रफलमा रहेको उक्त निकुञ्जभित्र लुगार्डसहित नौवटा लामो दाह्रा भएका हात्ती छन्।

होलरका अनुसार अहिले त्यस्ता हात्तीको सङ्ख्या झन्डै दुई दर्जनवटा मात्र हुन सक्छ।

होलरले भने, “अफ्रिकी हात्तीको दाह्राको औसत लम्बाइ दुई मिटर हुन्छ र त्यसको तौल २३ किलो हुन्छ। तर लामो दाह्रा भएका हात्तीको हकमा दाह्रा तीन मिटरसम्म लामो हुन सक्छ र त्यसको तौल ५० किलोभन्दा बढी हुन सक्छ।”

तपाईँले अनुमान गरे जस्तै दाह्रा यति ठूलो हुन निकै समय लाग्छ। अधिकांश लामो दाह्रा भएका हात्तीहरूको उमेर ५० वर्षभन्दा बढी छ।

“जङ्गलमा बस्ने हात्तीको औसत उमेर ६० वर्ष हो र तपाईँ भन्न सक्नुहुन्छ- उनीहरू आफ्नो प्राकृतिक जीवनको अन्त्यतिर छन्।”

कतिपय पोथी हात्तीको दाह्रा पनि साधारणतया अरूभन्दा ठूलो हुन्छ तर ती दाह्राले भुइँ छुन सक्दैनन्। साभोमा अहिले पाँचवटा त्यस्ता ढोई छन्।

होलर भन्छन्, “हाम्रोमा २७ वटा लामो दाह्रा आउन सक्ने हात्ती छन्। उनीहरूका दाह्रा ठूला छन् तर तिनीहरूका जत्ति ठूला छैनन्। यदि समय र ठाउँ पाए भने उनीहरूको दाह्रा लामो हुन सक्छ।”

लामो दाह्रा भएका हात्तीहरू नजिकैको आम्बोशेली आरक्ष र बोत्स्वाना र तान्जिनियामा पनि पाइन्छन्।

सिकारीको जोखिम

हात्तीले आफ्नो दाह्रालाई खन्न, सामान उठाउन, रुखको बोक्रा तास्न र अर्को हात्तीसँग लडेर आफ्नो प्रभाव कायम गर्न प्रयोग गर्छन्।

“हात्तीको समूह तपाईँले देख्नुभयो भने त्यहाँभित्र लामा दाह्रा हुने हात्तीले अरू हात्तीभन्दा बढी सम्मान पाउने देख्नुहुनेछ। मैले देख्दा उनीहरू समूहका नेता हुन्,” होलर भन्छन्।

अफ्रिकी हात्तीमा दुवै भाले र पोथी दुवैको दाह्रा हुन्छ।

अमेरिकाको यूनिभर्सिटी अफ प्रिन्सटनको अनुसन्धानले तीव्र सिकारका कारण धेरै ठाउँमा हात्तीको जनसङ्ख्या घटिरहेको र विकासक्रमको प्रतिक्रियास्वरूप पोथी हात्ती दाह्राविहीन भइरहेको देखाएको छ।

ठूलो दाह्रा भएका हात्ती सधैँ तस्कर तथा सिकारीहरूको निसानामा पर्छन्।

सन् २०१७ मा एउटा सताओ-२ नामक लामो दाह्रा भएको हात्ती साभो पार्कमा मारिएको थियो।

त्यसयता स्थल र हवाई गस्ती बढाइएको छ तर तीनीहरूलाई रेडिओ ट्यागिङ गरिएको छैन र रातदिन निगरानीमा पनि राखिएको छैन।

यसै वर्ष बोत्स्वानाको सबैभन्दा ठूलो दाह्रा भएको हात्तीका लागि एक सिकारीले ५० हजार डलर तिरेका थिए।

लामो दाह्रा भएका हात्तीहरू सीमित क्षेत्रमा पाइन्छन्।

त्यही भएर त्यस्तो दाह्राको विकासक्रम समेत अनुवंशसँग जोडिएको हुनसक्ने होलर बताउँछन्।

भविष्यको सुरक्षा

“हामी अनुवंशमा विश्वास गर्छौँ। तिनीहरूको अनुवंशलाई जोगाउनु र उनीहरूले सम्भव भएसम्म बढी सन्तान उत्पादन गर्न दिनु एकदमै महत्त्वपूर्ण छ।"

"हाम्रोमा दुई दर्जनभन्दा बढी लामो दाह्रा आउन सक्ने खालका हात्तीहरू छन्। ती यसअघिका त्यस्तै खालका हात्तीका सन्तान भएको हामीलाई लाग्छ।”

होलरले सम्भावित सिकारीबाट हात्तीहरूलाई जोगाउन ठूलो क्षेत्रमा उडान गर्छन्।

“उनीहरूलाई जङ्गलमा उन्मुक्त देख्नु सुखद कुरा हो। हामीले उनीहरूको रक्षाका लागि आफ्नोतर्फबाट सकेसम्म गर्नुपर्छ ताकि हाम्रा सन्तान दरसन्तानले यस्तो आकर्षक दाह्रा भएका हात्तीहरू देख्न सकून्।”

यो पनि हेर्नुहोस्