तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ब्रिटेन: ऋषि सुनक प्रधानमन्त्रीको प्रबल दाबेदार, जोनसन प्रतिस्पर्धामा नउत्रने
कन्जरभेटिभ दलको नेतृत्व दौडबाट अलग रहने घोषणा बोरिस जोनसनले गरेपछि पूर्वचान्सलर ऋषि सुनक सोमबार ब्रिटेनको प्रधानमन्त्रीको रूपमा छनौट हुनसक्ने देखिएको छ।
आफ्नी उत्तराधिकारी लिज ट्रसलाई प्रतिस्थापन गर्ने प्रतिस्पर्धामा आफू नउभिने पूर्व ब्रिटिश प्रधानमन्त्री जोनसनले यसअघि बताएका थिए।
एउटा विज्ञप्तिमा उनले कन्जरभेटिभ दलको नेतृत्वको दौड जित्नसक्ने 'दह्रो आधार' आफूसँग भएको जनाएका थिए।
तर उनले दल एकताबद्ध नहुँदा आफूले प्रभावकारी रूपमा शासन गर्न नसक्ने भन्दै उम्मेदवारी नदिने निधो गरेको उल्लेख गरेका छन्।
पूर्वचान्सलर ऋषि सुनकअहिले प्रधानमन्त्रीको दौडमा अगाडी देखिएका छन्।
प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले निर्वाचन लड्नका लागि आवश्यक १०० सांसदहरूको समर्थन जुटाइसकेकी छैनन्।
सुनक प्रबल दाबेदार
बीबीसी न्यूजका राजनीतिक सम्पादक क्रिश मेसन भन्छन् सेप्टेम्बरको निर्वाचनमा पराजित भएका सुनक अक्टोबर महिनासम्म आइपुग्दा प्रधानमन्त्रीको प्रबल दाबेदार बनेका छन्।
उनका अनुसार पेनी मोर्डन्टले सोमबार अपराह्नसम्म आफ्नो समर्थकहरूको दस्ता खडा गर्न नसके सुनकको जीत सुनिश्चित हुनेछ।
जे जस्तो भएपनि यो हप्ताको अन्त्यसम्ममा ब्रिटेनले नयाँ प्रधानमन्त्री पाउनेछ।
अब चुनिने प्रधानमन्त्री सात हप्ताको समयमा ब्रिटेनको तेस्रो प्रधानमन्त्री बन्नेछन्।
कोठा भित्र कन्जरभेटिभ दलका नेताहरू पछिल्लो अभूतपूर्व राजनीतिक हलचलले आफ्नो दलको प्रतिष्ठामा गम्भीर रूपमा क्षति पुर्याएको स्वीकार गरेका छन्।
केही समयअघि प्रधानमन्त्रीबाट राजीनामा गर्न बाध्य भएका "बोरिस जोनसनले अब के गर्छन्?" भन्ने प्रश्न सप्ताहान्तमा उब्जिएको थियो।
क्यारिबियनबाट फर्किएपछि शनिवार र आइतबार उनले संसदीय दलभित्र आफ्ना लागि कुन तहको समर्थन रहेको छ भन्ने परीक्षण गर्ने प्रयास गरेका थिए।
बोरिस जोनसनलाई फर्काउने प्रयास
शनिवार अपराह्नबाट उनको टोलीले निरन्तर रूपमा मतदानको अवस्थासम्म पुर्याउनका लागि आफूहरूसँग आवश्यक सङ्ख्या रहेको बताउँदै आएका थिए।
एक जना क्याबिनेट मन्त्री जेकोब रिस मगले सार्वजनिक रूपमा नै त्यस्तो धारणा राखेका थिए।
भने अर्काले समर्थकहरूबाट सङ्कलन गरिएको प्रमाण सहित कागजपत्र पार्टीलाई बुझाइएको बताएका थिए जसको अर्थ जोनसनले प्रतिष्पर्धा गर्न लागेका छन् भन्ने बुझिन्थ्यो।
एक जना सांसदले बीबीसी न्यूजका राजनीतिक सम्पादक क्रिश मेसनलाई बताए अनुसार यदि लकडाउनको समयमा आयोजित भोजहरूको विषयलाई लिएर हाउस अफ कमन्सलाई ढाँटेको विषयमा जोनसनमाथि जाँच नभइरहेको भए अवस्था अर्कै हुनसक्ने स्वीकार गरेका छन्।
"यदि उनी अनुसन्धानको दायरामा नभएको भए उनी प्रधानमन्त्रीको रूपमा पुन फर्किन सक्थे," ती सांसदले भने।
तर त्यस्तो हुनेछैन। किनभने उनीसँग आवश्यक सङ्ख्या छैन।
उनले संसदीय दलभित्रबाट एक तिहाईलाई विश्वासमा लिएको अवस्थामा समेत जित सम्भावित रूपमा घातक हुन्थ्यो किनभने जोनसनलाई आफ्नो संसदीय दलको समर्थन बिना सत्ता चलाउनु कस्तो हुन्छ भन्ने राम्रोसँग थाहा छ।
त्यही भएर ब्रिटेनमा नयाँ अनुहारले सरकारको नेतृत्व गर्ने निश्चित छ।
चुनौती के छन्
मेसनका अनुसार यदि ऋषि सुनक बिना प्रतिस्पर्धा छानिए र उनलाई सोमबार अपराह्न प्रधानमन्त्री निश्चित गरियो भने उनले मङ्गलवारबाट नै प्रधानमन्त्रीको रूपमा काम सुरु गर्नसक्ने देखिन्छ।
तर अहिले पनि प्रतिस्पर्धा हुनसक्छ।
सबैभन्दा अर्थपूर्ण के हो भने जो प्रधानमन्त्रीका रूपमा आएपनि समस्याहरू चाङ लागेर बसेका छन्।
त्यसमा लिज ट्रसलाई धान्न गाह्रो भएका चुनौतीहरू पर्छन्।
गहिरो गरी विभाजित भएको पार्टी, महँगी, कमजोर सार्वजनिक वित्तीय र सत्ताधारी दलले चुनावी वैधानिकता गुमाइसकेको दाबी केही त्यस्ता चुनौती हुन्।