तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मोटोपनः के क्यालोरी गनेर खाना खानु घातक हुनसक्छ?
वर्षको यो त्यो समय हो जब हामी मध्ये केहीले सङ्कल्प गर्ने गर्छौँ।
मानिसहरूले हरेक पटक नयाँ वर्षमा गर्ने सङ्कल्पहरूमा सबैभन्दा दोहोरिरहनेमा चाहीँ आफ्नो तौल घटाउने देखि शरीर सुगठित बनाउने समेत पर्छ।
त्यसका लागि हामीले कम खानुका साथै व्यायामको मात्रा बढाउने गर्छौँ।
खानाबाट प्राप्त हुने शक्ति क्यालोरीमा मापन गरिन्छ र हामी मध्ये धेरैलाई कति क्यालोरी खाना खाइयो भन्ने कुरा ख्याल गरेर त्यसै अनुसार खाना कटौती गर्दा तौल घटाउने लक्ष्य पुरा हुन्छ भन्ने लाग्छ।
तर के यो सही तरिका हो त? या यसबारे पुनर्विचार गर्ने समय भयो?
पछिल्लो समय केही विज्ञहरूले क्यालोरी मापन गरेर खाना खाने चलन एक पुरानो विधि मात्रै नभएर यो खतरनाक समेत रहेको बताएका छन्।
क्यालोरी के हो र यो शब्दकोउत्पत्ति कसरी भयो?
क्यालोरी भनेको हामीले खाएको खानेकुराले दिने शक्ति मापन गर्ने एउटा एकाइ हो जसले खाद्यवस्तुको पोषणबारे जानकारी दिन्छ।
यो ल्याटिन शब्द क्यालरबाट आएको हो जसको अर्थ ताप हो र यसको प्रयोग एक शताब्दी भन्दा लामो समय देखि हुँदै आएको छ।
“निकोलस क्लीमेन्टले समुद्री सतहमा एक लिटर पानीलाई एक डिग्री सेल्सियससम्म पुर्याउनका लागि आवश्यक पर्ने तापको मात्रालाई क्यालोरीका रूपमा परिभाषित गरेका छन्,” युनिभर्सिटी अफ केम्ब्रीजमा मोलिक्यूलर न्युरोएन्डोक्रीनोलजी विषयका प्राध्यापक डाक्टर जाइल्स इयोले भने।
१९औ शताब्दीको सुरुवातमा तापबाट चल्ने इन्जिनबारे आफ्नो भनाइ राख्ने क्रममा पहिलो पटक फ्रान्सेली वैज्ञानिक क्लीमेन्टले यो शब्द प्रयोग गरेका थिए।
तसर्थ आजको शब्दकोशमा एक किलोग्राम पानीको तापक्रम एक डिग्री सेल्सियसले बढाउनको लागि आवश्यक ताप एक क्यालोरी बराबर रहेको भनिएको छ। र एक हजार साना क्यालोरी बराबर किलोक्यालोरी हुन्छ।
यो पत्ता लाग्नाले विश्वभर के कस्ता प्रभाव देखा परेका छन्?
खानाको क्यालोरी सही रूपमा मापन गर्ने वैज्ञानिक क्षमता एक महत्त्वपूर्ण उपलब्धि थियो।
“हामी अचानक यस्तो संसारबाट गयौ जहाँ एक निश्चित व्यक्तिको आहार सीधा उनीहरूको जात, बस्ने स्थानको वातावरण, सामाजिक वर्ग र लिङ्गसँग सम्बन्धित छ भन्ने विश्वास गरिन्छ र कुनै पनि दुई आहारहरू तुलना गर्न सकिँदैन। तर अचानक ती तुलना गर्न सकिने भए,” इन्डियाना युनिभर्सिटी, ब्लुमिङ्टनमा इतिहास र इन्टरन्याशनल स्टडीज विषयका प्राध्यापक नीक कुलाथरले भने।
खानेकुराहरू बारे हाम्रो अनुमानमा पनि व्यापक परिवर्तन भयो।
सी फुड अर्थात् समुद्रबाट निकालिने खाद्य सामाग्रीमा प्रोटिन, कार्बोहाइड्रेट, माइक्रोन्युट्रीएन्टस, फ्याट लगायत कुराहरूको सम्मिश्रण हुन्छ भन्ने ठान्न थालियो।
“शरीरलाई इन्जिन अनि खानालाई इन्धनका रूपमा हेर्ने परिपाटीले मानिसहरूको खाद्य सामग्रीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आयो,” कुलाथरले भने।
२०औ शताब्दी क्यालोरीले सार्वजनिक नीतिहरूमा समेत प्रभाव पार्न थाल्यो।
सन् १९२० देखि १९३०को दशमा जापानको नौसेनाले आफ्ना कर्मचारीले खाने खानाबारे मापदण्ड तोक्यो। उनीहरूको आहार युरोपेली देशहरूकै स्तरमा पुर्याउने योजना बनाइएको थियो।
नौसैनिकको खानामा गहुँ र मासु त्यसमा पनि सुँगुर र कुखुराको मासु थप गरेर जापानीहरू समक्ष प्रचार नै गरिएको थियो।
हामी मध्ये धेरैले मन पराउने जापानी खाना त्यो परिवर्तित खाना खाने तरिकामा आधारित भएर तयार गरिएको समेत बताइने गरिन्छ।
दशकौँ देखि खडेरीबाट पीडित देशहरूलाई कति खाद्य सहायताको आवश्यकता छ भन्ने निर्क्योल गर्नका लागि अमेरिकाले क्यालोरी मापन गर्ने गरेको छ।
प्रथम विश्व युद्ध पछि गठन भएको लिग अफ नेसन्सले पोषणबारे अध्ययन समेत गरेको थियो।
उसले सन् १९३५मा एक वयस्कलाई दिनमा २,५०० क्यालोरी आहारको आवश्यकता पर्ने मापदण्ड तोक्यो।
हालको मापदण्ड अनुसार पुरुषलाई प्रति दिन २,५०० क्यालोरी खानाको आवश्यक छ भने महिलाका लागि २,००० क्यालोरी।
के क्यालोरी गणना गर्नु घातक हुनसक्छ?
केही विज्ञहरूले क्यालोरी गन्ने विधि पुरानो भइसकेको बताएका छन्। त्यसको कारण के हो त?
फरक खाद्य सामाग्रीको समान खाद्य शक्ति भए पनि ती खानाले समान स्वास्थ्य वा पोषण लाभ भने दिन सक्दैनन्।
उदाहरणका लागि एक गिलास दूधमा १८४ क्यालोरी हुन्छ भने उत्रै आकारको एक गिलास शुद्ध बियरमा त्यो भन्दा कम १३७ क्यालोरी।
“हामीले क्यालोरी खाँदैनौ। हामीले खाना खान्छौँ र त्यसपछि हाम्रो शरीरले त्यसबाट क्यालोरी निकाल्छ। गाजर, दोनट वा स्टेक तपाइले के खानु भयो भन्ने कुरामा आधारित रहेर क्यालोरी निकाल्नका लागि फरक फरक तापमानमा शरीरले काम गर्नुपर्ने हुन्छ,” जीनेटीसीस्ट जाल्स यो भन्छन्।
सुपर मार्केटमा उपलब्ध खाद्य सामाग्रीमा कति परिमाणमा कति क्यालोरी हुन्छ भन्ने कुरा उल्लेख गरिएको हुन्छ तर हाम्रो शरीरले कति पचाउन सक्छ भन्ने कुरा भने त्यहाँ उल्लेख हुँदैन।
“हामीले सेवन गर्ने प्रत्येक १०० क्यालरी प्रोटिनमध्ये हाम्रो शरीरले केवल ७० क्यालरी सोस्छ। अनि ३० प्रतिशत प्रोटिन क्यालरी चाहिँ प्रोटिन ग्रहणसम्म पुग्छ र त्यसबाट हामी क्यालरी लिन सक्छौँ,” उनले थपे।
“अर्को तर्फ फ्याटमा भने निकै धेरै क्यालोरी हुन्छ र यो खाद्य शक्तिको राम्रो भण्डार हो। हामीले खाने १०० क्यालोरी फ्याट मध्ये शरीरले लगभग ९८ देखि १०० क्यालोरी नै प्राप्त गर्छ,” योले भने।
यसको अर्थ तपाइले १०० क्यालोरी चिप्स खानु भयो भने १०० क्यालोरी गाजरको तुलनामा निकै धेरै क्यालोरी प्राप्त गर्नुहुन्छ।
योका अनुसार आफूले के खाइरहेको छु भन्ने कुराको ख्याल नगरे क्यालोरी मात्रै गन्नुको कुनै अर्थ हुँदैन। यसबारे जटिलता यहीँ समाप्त हुँदैन।
कुनै निश्चित खानाबाट हामीले कति क्यालोरी प्राप्त गर्छौँ भन्ने कुरा मानिस अनुसार फरक फरक हुन्छ।
उमेर, निद्राको अवधि, गट जीवाणु र हर्मोन अनि हामीले कसरी खाना चपाउँछौँ भन्ने कुराले यसमा फरक पार्छ।
अत्यधिक प्रशोधन गरी बनाइएको खानेकुराहरूमा प्रोटिन र फाइबरलाई बेवास्ता गरिएको हुन्छ भने फ्याट, चीनी अनि नुन थपिएको हुन्छ। यसले उक्त खानेकुरामा क्यालोरी त प्रशस्त हुन्छ तर पोषणको हिसाबले भने कमजोर बन्न जान्छ।
“क्यालोरीले तपाइलाई सङ्ख्या दिन्छ। तर यो पोषण तत्त्वबारे भने बेखबर हुन्छ। यसले तपाइलाई कति फ्याट, चिनी, कार्बोहाइड्रेट, फाइबर वा भिटामिन बताउँदैन। क्यालोरीसँग मेरो समस्या यही हो। यो अस्पष्ट उपकरण हो,” क्यालोरी गणनाले हामीलाई अस्वास्थ्यकर छनौट गर्न प्रोत्साहित गर्न सक्ने तर्क गर्दै योले भने।
डरलाग्दो लगाव
“क्यालोरी प्रतिको लगावले मानिसलाई खत्तम पार्न सक्छ,” न्यूयोर्कस्थित कोर्नेल विश्वविद्यालयमा हिस्ट्री एन्ड कल्चर अफ अमेरिकन फुट एन्ड हेल्थ विषयकी विशेषज्ञ एड्रीएन रोज बिटारले चेतावनी दिइन्।
उनका अनुसार क्यालोरी प्रतिको लगाव अनि क्यालरी कम गर्न लागिपर्नुले कैयौँ समस्या उत्पन्न गराउन सक्छ।
“रक्सी पिउने व्यक्तिले मदिरा सेवन गर्न छोडे जस्तो तपाइले खाना खान छोड्न सक्नुहुन्न। आनरेक्सिया, बुलिमिया र अर्थोरेक्सीयाजस्ता समस्या क्यालोरी गन्ने बानीबाट सुरु हुनसक्छ,” उनले भनिन्।
उनका अनुसार खाना बार्ने केही योजनामा अत्यन्तै कम क्यालोरी लिन मानिसहरूलाई सुझाव दिइएको हुन्छ।
विकल्प के हुनसक्छ त?
खाद्य उद्योग बाहेक अन्यमा शक्ति वा ऊर्जाको गणना जुल्जमा गरिन्छ। केही खाद्य सामग्री उत्पादकले पोषणबारे जानकारी किलोजुल्जमा दिन थालेका छन्।
तर क्यालोरी आम मानिसको दिमागमा यसरी गढेको छ की यो के हो थाहा नहुनेले समेत धेरै क्यालोरी खपत गर्नु स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा थाहा पाएका हुन्छन्।
ब्रिटिश न्युट्रिसन फाउन्डेसनकी ब्रिडगेट बेनेलमजस्ता केही विज्ञहरू भने क्यालोरीलाई बेवास्ता गर्न नहुने बताउँछन्।
"मोटोपना सम्भवतः हामीले अहिले सामना गरिरहेको सबैभन्दा ठूलो जनस्वास्थ्य समस्या हो। र त्यसैले मानिसहरूको अधिक तौल र मोटोपनको कारण के हो भनेर बुझ्न महत्त्वपूर्ण छ," बेनेलम भन्छिन्। तौल घटाउन चाहने व्यक्तिहरूका लागि क्यालोरी गणना गर्नु तौल घटाउने आहार योजना बनाउनका लागि धेरै उपयोगी हुनसक्ने उनी बताउँछिन्।
यूकेको न्याशनल हेल्थ शर्भिसेसले मानिसहरूले खपत गर्ने र खर्च गर्ने शक्तिबीच सन्तुलन मिलाउनुपर्ने जनाएको छ।
र कहिलेकाहीँ धेरै खाना खाए “आगामी दिनहरूमा कम खाना खान” सुझाउँदै धेरै आत्तिन जरुरी नरहेको उसको भनाइ छ।
*यो लेख विश्व सेवाका दुई रेडियो कार्यक्रम, फुड चेन र द फोरमका आधारमा तयार पारिएको हो।