ट्रम्पको अनुरोधपछि ग्यास खानीमा आक्रमण रोक्न इजरेल सहमत, इरानी नववर्षको दिन पनि तेहरानमा हमला

पढ्ने समय: ३ मिनेट

इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानस्थित ग्यास खानीमा भविष्यमा हमला "नगर्न" आफू तयार भएको बताएका छन्। उनका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अनुरोधपछि इजरेल त्यसका लागि सहमत भएको हो।

यद्यपि इरानी नववर्ष 'नोरूज'को दिन इजरेलले राजधानी तेहरानमा हवाई हमला जारी राखेको छ। इरानले पनि जेरुसलेमलाई निसाना बनाएर बिहीवार राति कैयौँ क्षेप्यास्त्र प्रहार गरेको छ।

बिहीवार राति आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेतन्याहूले इरान "तहसनहस" भइसकेको र अब युरेनिअम संवर्धन वा बलिस्टिक निर्माण गर्न असमर्थ बनेको दाबी गरेका थिए। उनले डोनल्ड ट्रम्पलाई इरानसँगको युद्धमा आफूले तानेको भन्ने आरोपको खण्डन गरे।

राति जेरुसलेम र इरानको राजधानी तेहरानमा विस्फोटन भएको आवाज सुनिएको विवरण आएको छ। त्यसअघि इरानका विदेशमन्त्रीले आफ्नो देशमा थप आक्रमण भए त्यो असहनीय हुने चेतावनी दिएका थिए।

मध्यपूर्वस्थित यूएई, कुवेत, साउदी अरब र बाहरेनजस्ता देशले आफ्नो भूमिमा क्षेप्यास्त्र वा ड्रोन आक्रमण भएको जनाएका छन्। ड्रोन हमला हुँदा कुवेतस्थित एउटा तेल प्रशोधन केन्द्रमा आगलागी भएको विवरण कुवेती सरकारी सञ्चारमाध्यमहरूले दिएका छन्।

यसैबीच, अमेरिकास्थित ह्यूमन राइट्स एक्टिभिस्ट न्यूज एजन्सी (एचआरएएनए)ले फेब्रुअरी २८ मा युद्ध सुरु भएयता इरानमा मृत्यु हुने मानिसको सङ्ख्या ३,१८६ पुगेको जनाएको छ।

तेलको मूल्य

इजरेलले साउथ पार्स ग्यास खानीमा आक्रमण गरेपछि यो साता इरानले प्रत्याक्रमण गरेको थियो। त्यसपछि विश्वबजारमा ग्यासको मूल्य ह्वात्तै बढ्यो।

इजरेलले फेरि त्यस्तो हमला नगर्ने बताएपछि र अमेरिकाले तेल उत्पादन बढाउने योजना बनाएपछि मूल्य घट्न थालेको छ।

यसैबीच यूके, फ्रान्स र जापानसहित विभिन्न देशले बिहीवार राति एउटा संयुक्त विज्ञप्ति जारी गर्दै 'स्ट्रेट अफ होर्मुज'बाट पानीजहाजहरूलाई "सुरक्षित रूपमा आवतजावत गर्न दिन आफूहरू उपयुक्त प्रयास गर्न तयार" रहेको जनाएका छन्।

इजरेल र अमेरिकाले आक्रमण थालेपछि इरानले स्ट्रेट अफ होर्मुज अवरुद्ध हुने गरी उक्त जलमार्ग प्रयोग गर्ने तेलवाहक ट्याङ्करहरूमाथि हमला गर्दै आएको छ।

कतारमा ठूलो क्षति

इरानले कतारको रास लफान ऊर्जा कारखानामा आक्रमण गरेपछि यूके र युरोपमा ग्यासको मूल्य ह्वात्तै बढेको छ। कतारका प्रधानमन्त्रीले उक्त आक्रमणलाई "इरानीहरूले बढाएको सबैभन्दा खतरनाक उत्तेजना" भनेका छन्।

इरानले गरेको आक्रमणका कारण तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात गर्ने कतारको क्षमता पाँच वर्षसम्म १७ प्रतिशतले घट्ने त्यहाँका ऊर्जामन्त्रीले बताएका छन्।

उनका अनुसार त्यसबाट देशले वार्षिक २० अर्ब डलर घाटा बेहोर्नुपर्ने छ।

एलएनजी बनाउन प्राकृतिक ग्यासलाई निकै कम तापक्रममा चिस्याइन्छ। त्यसका लागि 'ट्रेन' भनिने विशेष खालका औद्योगिक प्रशोधन एकाइहरू प्रयोग हुन्छन्। कतारका अनुसार इरानी आक्रमणबाट उक्त केन्द्रमा भएका १४ मध्ये दुइटा ट्रेनमा क्षति पुगेको छ।

जापान, दक्षिण कोरिया, भारत र चीनजस्ता एशियाली देशहरू कतारमा उत्पादित एलएनजीमा बढी आश्रित छन्। युक्रेन युद्ध सुरु भएपछि रुसी ग्यास छोडेर युरोप पनि क्रमशः मध्यपूर्वमा उत्पादित ग्यासमा बढी निर्भर हुन थालेको छ।

एलएनजी घरघरमा खाना पकाउन, जाडोमा घर तताउन, पानीजहाज तथा कलकारखानामा प्रयोग हुँदै आएको छ। मल बनाउन पनि यसको प्रयोग गरिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।