इजरेली रक्षा प्रणाली पार गर्न हमासले प्रयोग गरेको दोस्रो विश्वयुद्धकालीन अस्त्र

    • Author, मोहम्मद हम्दार र हाना राजिक
    • Role, बीबीसी न्यूज अरबिक

हमासको सैन्य शाखा “इज अल-दिन अल-कसम ब्रिगेड”ले गाजा स्ट्रिप वरिपरिका सहरहरू र एउटा मेलामा जानेहरूलाई लक्षित गर्दै आक्रमण गर्‍यो।

त्यो आकस्मिक र अप्रत्याशित रूपमा गरिएको आक्रमणलाई हमासले “अल-अक्सा फ्लड” भनेको छ।

इजरेली सेनाका प्रवक्ता रेचर्ड हेचले प्यालेस्टिनी लडाकुहरू “प्याराशूट”बाट इजरेलको समुद्री तथा स्थल क्षेत्रमा प्रवेश गरेको पुष्टि गरेका छन्।

सामाजिक सञ्जालमा शेअर गरिएका तस्वीर र भिडिओहरूमा अल-कसम ब्रिगेड प्याराशूटबाट ओर्लिँदै गरेको देखिन्छ।

इजरेलविरुद्ध हमासले यसरी आक्रमण गरेको यो नै पहिलो पटक हो।

आकाशबाट सिमानाको तारबार नाघ्दै

प्यालेस्टिनी लडाकुहरू एक वा दुई व्यक्तिका लागि सिट भएका प्याराशूटमा बसेर इजरेलबाट गाजालाई छुट्ट्याउने तारबार पार गर्न सफल भएका थिए।

एउटा जेनरेटर र ब्लेडद्वारा सञ्चालित यस्ता प्याराशूटहरूलाई गाजा स्ट्रिप वरपरका क्षेत्रमा नियन्त्रित रूपमा प्रवेश गराइयो।

दोस्रो विश्वयुद्धमा अपनाइएको रणनीति

सैन्य प्याराशूटहरू नियमित रूपमा सैन्य एकाइहरूका लागि माथिबाट बन्दोबस्तीका सामान खसाल्न प्रयोग हुँदै आएका छन्।

अग्रमोर्चामा रहेको आफ्नो सैन्य टोलीलाई विपक्षीका रेखा पार गराउन सकिन्छ भन्ने उद्देश्यका साथ त्यसो गरिन्छ।

प्याराशूट टोलीहरू पहिलो विश्वयुद्धमा युद्धरत जर्मन र मित्र राष्ट्रहरू दुवैले खटाएका थिए।

सन् १९८७ को ग्लाइडर आक्रमण

हमासले शनिवार गरेको आक्रमणले प्यालेस्टाइनको मुक्तिका लागि ‘पपुलर फ्रन्ट’-जनरल कमान्डका दुई प्यालेस्टिनी, एक सिरियाली र एक ट्युनिशियालीले ग्लाइडर प्रयोग गरी आक्रमण गरेको घटना स्मरण गराएको छ।

उनीहरू सन् १९८७ नोभेम्बरमा इजरेली सैन्य क्षेत्रमा आक्रमण गर्न लेबननबाट उडेका थिए।

स्थल प्रक्षेपण

मोटर र नियन्त्रणहरूद्वारा सुसज्जित प्याराशूटहरू प्रयोग गरेर तिनीहरूलाई नियन्त्रण गर्न र लडाकुहरू जमिनबाट प्याराशूट प्रक्षेपण गर्न सक्षम भए।

त्यसले गर्दा उनीहरूलाई पहाडमा चढ्ने वा विमानबाट ओर्लने आवश्यकता परेन।

इन्जिनले प्याराशूटलाई प्रतिघण्टा ५६ किलोमिटरसम्मको प्रोपल्सन शक्ति अर्थात् धकेल्ने शक्ति उत्पन्न गर्न मद्दत गर्छ।

प्याराग्लाइडरहरू जमिनबाट औसत ५ हजार मिटरको उचाइमा तीन घण्टासम्म उड्न सक्छन्।

प्याराग्लाइडिङ वेबसाइटहरूका अनुसार उनीहरूले २३० किलोसम्म बोक्न सक्छन् वा उनीहरू चारजना व्यक्तिसम्मलाई एकैसाथ उडाउन सक्छन्।

यी छाता जस्तै जटिल प्रकृतिका उपकरणहरूमा एक जनाका लागि सिट हुन सक्छ अथवा दुईजना व्यक्तिहरू बस्नसक्ने तीन-पाङ्ग्रे डालो हुन सक्छ।

इज अल-दिन अल-कसम ब्रिगेडको "सैन्य मिडिया"ले पोस्ट गरेका भिडिओहरूमा प्याराग्लाइडरहरूले प्याराशूटलाई जमिनबाटै प्रक्षेपण गरिरहेको देखाइएको छ र त्यसलाई एक वा दुई जनाले उडाइरहेको देखिन्छ।

अन्य भिडिओहरूमा लडाकुहरूले इजरेली स्थानमा अवतरण गर्नु र आक्रमण गर्नुअघि आकाशबाटै गोली हानेको देखिन्छ। केही प्याराशूटमा मोटरसाइकलमा लडाकुहरू बसेका थिए।

इजरेली सेनाले किन प्याराशूट पत्ता लगाउन सकेन?

हमास मिडियाद्वारा पोस्ट गरिएका भिडिओहरूमा गाजा स्ट्रिपबाट व्यापक रकेट प्रहारसँगै छलिँदै सशस्त्र प्याराग्लाइडरहरू उडिरहेको देखिन्छ।

उनीहरूमध्ये कोही कम उचाइमा उडिरहेको देखिन्थ्यो भने कोही अलि उचाइमा थिए।

गाजा वरपरको आकाशमा उनीहरूलाई नाङ्गो आँखाले स्पष्ट रूपमा देख्न सकिन्थ्यो।

इजरेली सञ्चारमाध्यमले किन सैन्य एकाइहरूले उनीहरूलाई पत्ता लगाउन सकेनन् भनेर प्रश्न उठाएका छन्।

इजरेली सेनाले अझै पनि त्यसको कारण खुलासा गर्न सकेको छैन। प्याराशूटमा उडेर आएका मानिसहरूको भिडिओ कतिपयले आफ्नो आफ्नो फोनको क्यामेरामा समेत कैद गरेका थिए।

आइरन डोम

के त्यसो भए इजरेलीहरू गस्ती गर्नुको साटो अधिक रूपमा प्रविधिमा निर्भर थिए भन्ने प्रश्न उठेको छ।

केही विवरणमा इजरेली वायु रक्षा प्रणाली आइरन डोम र रडार त्यस्ता साना वस्तुहरू सामना गर्ने गरी नबनाइएको जनाइएको छ।

यसपालिको आक्रमण

हमासले पाँच हजार वटाभन्दा बढी रकेट प्रहार गरेर आफ्नो अप्रत्याशित आक्रमण सुरु गरेको अल-कसम ब्रिगेडका कमान्डर मोहम्मद अल-डेफले पहिलो दिन जारी गरेको वक्तव्यमा जनाइएको थियो।

रकेट प्रक्षेपणसँगै हमास लडाकुहरूले जमिन र समुद्रमा गनबोट र आकाशमा प्याराशूट प्रयोग गरेर पनि आक्रमण गरे।

सञ्चार र सैन्य विवरणहरूले हवाई सुरक्षालाई छल्नका लागि प्याराशूट आक्रमण गरिएको थियो भन्ने देखाएका छन्।

त्यसले इजरेलमा निकै ठूलो जनधनको क्षति पुर्‍यायो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।