तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'इरानी शासन संयन्त्र कायम तर कमजोर': अमेरिकी कङ्ग्रेसमा गुप्तचर निकायका प्रमुखहरूले अरू के भने
संयुक्त राज्य अमेरिकाको गुप्तचर निकायको नेतृत्वमा रहेकी वरिष्ठतम अधिकारीले इरानमा शासन संयन्त्र "यथास्थान"मा रहेको तर "निकै कमजोर" भइसकेको बताएकी छन्।
अमेरिकी कङ्ग्रेसको एउटा संसदीय सुनुवाइमा न्याश्नल इन्टेलिजन्सकी निर्देशक तुल्सी ग्याबर्ड र ट्रम्प प्रशासनमा रहेका अन्य वरिष्ठ अधिकारीहरूले अमेरिकाले विश्वभरि खेप्नुपरेका खतराहरूबारे बयान दिए। सुनुवाइ बुधवार भएको थियो।
गत महिनाको अन्त्यतिर युद्ध सुरु भएपछि अमेरिकी अधिकारीहरूले पहिलो पटक गुप्तचरीको विषयमा सार्वजनिक जानकारी दिएका हुन्। सुनुवाइको अघिल्लो दिन प्रतिआतङ्कवाद हेर्ने अमेरिकी निकायका प्रमुखले इरानबाट अमेरिकालाई "तत्कालका लागि खतरा नभएको" भन्दै राजीनामा दिएका थिए।
ग्याबर्डका अनुसार अमेरिकाले 'स्ट्रेट अफ होर्मुज'मा समस्या उत्पन्न हुन सक्ने अनुमान पहिल्यै गरेको थियो। उनको संयोजकत्वमा अमेरिकाको जासुसी गतिविधि सञ्चालित हुन्छ।
"गुप्तचर समुदायले इरानमा शासनसत्ता यथास्थानमा भएको तर नेतृत्वपङ्क्ति र सैन्य सामर्थ्यमाथि आक्रमणहरू भएकाले निकै कमजोर भएको आकलन गरेको छ," उनले भनिन्।
उनी सीआईए, एफबीआई, न्याश्नल सेक्युरिटी एजन्सी र डिफेन्स इन्टेलिजन्सजस्ता अन्य निकायका प्रमुखहरूसँगै संसदीय सुनुवाइमा उपस्थित भएकी थिइन्।
डेमोक्र्याट सिनेटर जोन ओसफले ग्याबर्डलाई के उनी इरानलाई तत्काल अमेरिकाका लागि खतरा ठान्छिन् भनेर बारम्बार सोधेका थिए। तर उनले उक्त प्रश्नको उत्तर दिन अस्वीकार गरिन्।
"के तत्कालका लागि खतरा हो र होइन भन्ने कुराको निर्क्योल गर्न सक्ने एकमात्र व्यक्ति राष्ट्रपति हो," उनले भनिन्।
युद्ध सुरु भएदेखि नै रिपब्लिकन र डेमोक्र्याटिक दुवै पार्टीका सांसदहरू र टिप्पणीकारहरूले अमेरिकाले इरानमा किन धावा बोल्यो र के ट्रम्प प्रशासन इरानको दक्षिणी तटमा रहेको स्ट्रेट अफ होर्मुजमा समस्या उत्पन्न हुन सक्ने भन्ने विषयप्रति सजग थियो भन्ने प्रश्न गर्दै आएका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले परमाणुअस्त्र निर्माण गरेकाले र त्यसबाट अमेरिका र इजरेलमाथि खतरा उत्पन्न भएकाले आक्रमण गरिएको दाबी गरेका छन्।
इरानबाट कस्तो खतरा
मङ्लगवार राजीनामा दिँदा न्याश्नल काउन्टरटेररिज्म सेन्टरका निर्देशक जो केन्टले "इजरेल र इजरेलको पक्षमा रहेको शक्तिशाली अमेरिकी लबीको दबावमा परेर" ट्रम्प प्रशासनले युद्ध सुरु गरेको दाबी गरेका थिए।
उनले सामाजिक सञ्जाल 'एक्स'मा पोस्ट गरेको राजीनामापत्रमा इरानबाट अमेरिकाका लागि "तत्काल कुनै खतरा नभएको" दाबी गरिएको छ।
बुधवारको सुनुवाइमा सीआईएका निर्देशक जोन र्याट्क्लिफले आफू केन्टसँग असहमत भएको बताए।
"मेरो विचारमा इरान लामो समयदेखि संयुक्त राज्य अमेरिकाका लागि निरन्तर खतरा बन्दै आएको छ र उसले यो बेला पनि खतरा उत्पन्न गरेको छ," उनले भने।
ग्याबर्डले अमेरिकी र इजरेली हमलाहरूबाट इरानको सैन्य क्षमता "धेरै नष्ट" भएको बताइन्।
उनका अनुसार "इरानले १२ दिनको युद्धका बेला पारमाणविक पूर्वाधारमा पुगेको गम्भीर क्षतिबाट तङ्ग्रिने प्रयास गरेको अनि आफूले वहन गर्नुपर्ने पारमाणविक उत्तरदायित्व निरन्तर अस्वीकार गरेको" निष्कर्ष गुप्तचर निकायहरूको छ।
परमाणुबम निर्माण गर्न सक्ने सम्भावित क्षमता नष्ट पार्ने उद्देश्यसहित अमेरिका र इजरेलले जुन २०२५ मा इरानमा १२ दिन हमला गरेका थिए।
विरोधाभास?
सुनुवाइका लागि तयार पारिएको लिखित मन्तव्यमा ग्याबर्डले ती हमलाहरूबाट इरानको परमाणु संवर्धन कार्यक्रम "ध्वस्त भएको" र इरानले त्यसको पुनर्निमाण गर्ने "कुनै प्रयास" नगरेको उल्लेख गरेकी थिइन्। तर उनले त्यो कुरा पढेर सुनाइनन्।
डेमोक्र्याटिक सिनेटर मार्क वार्नरले त्यसबारे सोध्दा ग्याबर्डले मन्तव्य निकै लामो हुने भएकाले आफूले केही भाग छोट्ट्याएर भनेको बताइन्।
"उसोभए राष्ट्रपतिसँग विरोधाभास हुने भागहरू तपाईँले मेट्नुभयो," इरानले परमाणुअस्त्र विकास गरेकाले सैन्य कारबाही गर्नुपरेको भन्ने ट्रम्पको तर्क रहेको प्रसङ्ग उठाउँदै वार्नरले भने।
सांसदहरूले इरानमाथि आक्रमण गर्ने ट्रम्पको निर्णयमा गुप्तचर अधिकारीहरू कति संलग्न थिए भनेर पनि सोधे। ट्रम्पले "अन्तिम निर्णय" गर्दा के तपाईँहरू पनि "उक्त कक्षमा" हुनुहुन्थ्यो? स्वतन्त्र सिनेटर एङ्गस किङको प्रश्न थियो।
र्याट्क्लिफले आफू राष्ट्रपतिसँग दर्जनौँ बैठकमा सहभागी भएको तर "एकैपटक कुनै निर्णय गरिएको" आफूलाई थाहा नभएको बताए।
किङले अमेरिकासँग द्वन्द्व हुँदा इरानले स्ट्रेट अफ होर्मुजमा आक्रमण गर्न सक्ने सम्भावनाबारे ट्रम्पलाई गुप्तचर अधिकारीहरूले जानकारी गराएका थिए कि थिएनन् भन्ने प्रश्न गरे।
युद्ध सुरु भएपछि उक्त साँघुरो जलमार्गलाई इरानले निसाना बनाउँदै तेल निर्यातमा अवरोध गर्दै आएको छ।
"राष्ट्रपतिलाई गुप्तचरी सूचनाबारे निरन्तर अवगत गराइन्छ," र्याट्क्लिफले भने। उनका अनुसार त्यो क्षेत्रमा अवस्थित अमेरिकासँग सम्बन्धित ऊर्जाकेन्द्रहरूमा इरानले हमला गर्न सक्ने भएकाले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले "सुरक्षाका उपायहरू" अवलम्बन गरेको थियो।
ग्याबर्डका अनुसार गुप्तचर निकायहरूले पहिल्यै इरानले स्ट्रेट अफ होर्मुज आफ्नो नियन्त्रणमा लिन खोज्ने आकलन गरेका थिए। त्यसकै आधारमा अमेरिकी रक्षा मन्त्रालयले "पूर्वसतर्कतासहित योजनाबद्ध उपाय" रोजेको उनले बताइन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।