इरानको खार्ग टापु कब्जा गर्नेबारे विचार गरिरहेको ट्रम्पको भनाइ

पढ्ने समय: २ मिनेट

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले "इरानको तेल [नियन्त्रणमा] लिन सक्ने" र सम्भवत: त्यहाँको मुख्य ईन्धन केन्द्र खार्ग टापुलाई कब्जा गर्न सक्ने बताएका छन्।

"साँच्चै भन्नुपर्दा मेरो मन पर्ने कुरा भनेको इरानबाट तेल लिनु हो तर अमेरिकामा रहेका केही मूर्खहरू 'तपाईँ किन त्यसो गर्दै हुनुहुन्छ?' भन्छन् तर तिनीहरू मूर्ख मानिसहरू हुन्," फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा उनले भने।

ट्रम्पका अनुसार उक्त कदमको अर्थ खार्ग टापुमा कब्जा गर्नु पनि हुन सक्छ। उनले भने, "हामी खार्ग टापु [नियन्त्रणमा] लिन सक्छौँ, नलिन पनि सक्छौँ। हामीसँग धेरै विकल्पहरू छन्।"

[यसको मतलब केही समयका लागि हामी त्यहाँ रहनुपर्ने स्थिति हुन पनि सक्छ।"

खार्ग टापु इरानी तटबाट १५ नटिकल माइल (२४ किलोमिटर) को दूरीमा रहेको सानो चट्टानी क्षेत्र हो।

आकारमा सानो भए पनि यो इरानको ऊर्जा पूर्वाधारको सबैभन्दा महत्त्वपूर्ण भागहरू मध्येको एक हो। इरानको तेल निर्यातको महत्त्वपूर्ण केन्द्रका रूपमा रहेको उक्त टापुलाई तेहरानको अर्थव्यवस्थाको जीवनरेखा मानिन्छ।

इरानमा 'सत्ता परिवर्तन'

ट्रम्पले इरानमा सत्ता परिवर्तन भएको अमेरिकाले ठानेको पनि बताएका छन्।

हालै 'एअरफोर्स वन'मा बोल्ने क्रममा उनले गतसाताको फक्स न्यूजसँगको टिप्पणीमा झैँ "उनीहरू (इरानी सत्ताको नेतृत्व) मारिएका कारण त्यहाँ साँच्चै सत्ता परिवर्तन भएको भन्न सकिने" बताएका हुन्।

विमानमा रहेका संवाददाताहरूसँग बोल्दै उनले भने, "तपाईँले हेर्नुभयो भने हामीले त्यहाँ सत्ता परिवर्तन गरिसकेका छौँ, किनकि एउटा शासनलाई हामीले नष्ट गर्‍यौँ, ध्वस्त पार्‍यौँ, तिनीहरू सबै मारिए। दोस्रो सत्ता पनि लगभग समाप्त भइसकेको छ।"

"अहिले हामीले सम्पर्क गरिरहेको तेस्रो सत्ताका मानिसहरू पहिलेका भन्दा पूरै फरक हुन्। त्यसैले म यसलाई सत्ता परिवर्तन ठान्छु र साँच्चै भन्नुपर्दा तिनीहरू निकै समझदार पनि छन्।"

"त्यसैले मेरो विचारमा सत्ता परिवर्तन भएको छ। यो भन्दा राम्रो गर्न सकिँदैनथ्यो," उनले भने।

इरानले सम्भवत: अमेरिकासँग सम्झौता गर्न सक्ने ठानेको पनि ट्रम्पले बताए।

"उनीहरूसँग हाम्रो सम्झौता हुन सक्छ तर हामी त्यो नगर्न पनि सक्छौँ," उनले भने।

"इरानको मामिलामा केही भन्न सकिँदैन। हामी उनीहरूसँग कुराकानी पनि गर्छौँ, त्यसपछि फेरि ध्वस्त पार्नु पर्ने पनि हुन सक्छ," उनले थपे।

यी घटनाक्रमबीच इरानले विश्वविद्यालयहरू तथा अमेरिकी र इजरेली अधिकारीका निवासमा जबाफी हमला गर्न सक्ने चेतावनी दिएको विवरणहरू आएका छन्।

पाकिस्तानका विदेशमन्त्रीले आफूहरूले शान्तिवार्ता आयोजना गर्ने तयारी गरिरहेको बताएका छन् तर अमेरिका वा इरानले त्यसमा भाग लिने कुरा गरे नगरेको प्रष्ट छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।