तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
न युद्धविराम, न कुनै सम्झौता: ट्रम्प, पुटिन र युक्रेनका निम्ति अलास्का बैठकको के अर्थ?
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उनका रुसी समकक्षी भ्लादिमिर पुटिन शिर्ष वार्तामा युक्रेन-रुस युद्धकाबारे कुनै सम्झौता हुन नसकेपछि अलास्काबाट बाहिरिएका छन्।
तीन घण्टा लामो वार्तापछि दुई नेताले सञ्चारमाध्यम सामु संयुक्त वक्तव्य दिए तर कुनै प्रश्नोत्तरमा सहभागी भएनन्।
अलास्काको एङ्करिजमा रहेका तीनजना बीबीसी सम्वाददाताहरूले अमेरिका र रुसका निम्ति यो वार्ताको अर्थ अनि युक्रेन युद्धमा अब के होला भनेर विश्लेषण गरेका छन्।
ट्रम्पको छविमा दाग - एन्थनी जर्चर, उत्तर अमेरिकी संवाददाता
एङ्करिजमा वार्ता पछि "कुनै सम्झौतामा नपुग्दासम्म सहमति भएको भन्न नसकिने" ट्रम्पको प्रारम्भिक टिप्पणी धेरै घण्टाको वार्तापछि पनि युद्धविराम सम्झौता वा कुनै सहमति नभएको स्वीकार गर्ने घुमाउरो तरिका थियो।
भ्लादिमिर पुटिनसँगको वार्तामा "उल्लेख्य प्रगति" गरेको ट्रम्पले बताए पनि उनले त्यसबारे कुनै विस्तृत विवरण दिएनन्। जस कारण यो पनि बाँकी विश्वको अनुमानको विषय हो।
सयौँ पत्रकारहरू उपस्थित रहेको पत्रकार सम्मेलन कक्षबाट बाहिरिनुअघि ट्रम्पले कुनै पनि प्रश्नको जबाफ दिएनन्।
उनले मात्र भने, "हामी त्यहाँसम्म पुगेका छैनौँ।"
यो बैठकबाट कुनै उपलब्धि हासिल हुने अपेक्षामा लामो यात्रा गरेका ट्रम्पले अन्ततः अस्पष्ट जबाफ मात्र दिए।
ट्रम्पले भविष्यका वार्ताहरूलाई कमजोर पार्ने कुनै एकपक्षीय सहमति गर्ने अमेरिकाका युरोपेली सहयोगी देश र युक्रेनी अधिकारीहरूको चिन्तामाझ ट्रम्पले यो वार्ता तय गरेका थिए।
आफूलाई शान्ति स्थापक र सम्झौता गराउने छविको व्यक्ति देखाउन रुचाउने ट्रम्पले अलास्कामा यी दुवै कुरा हात पार्न सकेनन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई समेत सँगै राखेर तत्काल अर्को वार्ता हुने सङ्केत पनि यसले दिएको छैन।
अनि, मस्कोमा पुटिनसँग अर्को बैठक हुनेमा पनि आशङ्का जन्माएको छ।
यसअघि असफल हुने सम्भावना २५ प्रतिशत मात्रै रहेको दाबी गरिएको यो वार्ताबाट कुनै पनि ठोस सहमति नजुट्दा ट्रम्पको आन्तरिक र अन्तर्राष्ट्रिय छविमा दाग चाहिँ लागेको छ।
पुटिनलाई मौका - स्टीभ रोजेन्बर्ग, रुस सम्पादक
कस्तो अवस्थामा पत्रकार सम्मेलन वास्तविक "पत्रकार सम्मेलन" हुँदैन?
जब त्यहाँ कुनै प्रश्नहरू हुँदैनन्।
आफ्नो भनाइ राखेर कुनै पनि प्रश्नको जबाफ नदिई राष्ट्रपति पुटिन र ट्रम्प मञ्चबाट बाहिरिँदा हलमा उपस्थितहरू अचम्ममा परेका थिए।
पत्रकारहरूले सोधिरहेका प्रश्नको बेवास्ता गर्दै रुसी प्रतिनिधिमण्डलका सदस्यहरू पनि तत्कालै सम्मेलन कक्षबाट बाहिरिए।
युक्रेन युद्धबारे पुटिन र ट्रम्पबीच अझै पनि गम्भीर मतभेदहरू रहेका हुनसक्ने स्पष्ट सङ्केत यसले दिएको छ।
युक्रेनमा युद्धविराम गर्नुपर्ने डोनल्ड ट्रम्पको माग पूरा गर्न भ्लादिमिर पुटिन तयार भएनन्।
तर वार्ताअघिको वातावरण पूरै फरक थियो। राष्ट्रपति ट्रम्पले भ्लादिमिर पुटिनलाई रातो कार्पेट बिछ्याएर स्वागत गरेका मात्रै थिएनन्, सम्मानित पाहुनाको व्यवहार गरेका थिए।
विश्वकै सबैभन्दा शक्तिशाली देशका राष्ट्रपतिसँग एउटै मञ्चमा देखिने मौकासँगै रुसी राष्ट्रपतिले भूराजनीतिक चर्चामा आउने मौका पनि पाए।
युक्रेनमा रुसले जारी राखेको युद्ध अन्त्य गर्नका लागि पुटिनलाई मनाउन नसकेका ट्रम्पले अब कस्तो प्रतिक्रिया जनाउलान्? त्यो हेर्न बाँकी नै छ।
यसअघि रुसविरुद्ध कडा चेतावनीसमेत दिएका ट्रम्पले कुनै कदम चाहिँ चालेनन्।
पुटिनसँगको वार्तामा ठोस उपलब्धि हासिल नभएपछि सबैको चासो एउटै छ, अब ट्रम्पले के गर्लान्?
युक्रेनमा राहतको सास, तर अब के हुन्छ भन्ने त्रास - भिताली शेभचेन्को, बीबीसी मनिटरिङ्
भर्खरै एङ्करिजमा जे भयो त्यसबाट किएभमा चाहिँ राहतको लामो सास फेरिनेछ किनकी त्यहाँ युक्रेनको भूभागको मूल्यमा कुनै 'सम्झौता' भएन।
युक्रेनका मानिसहरूलाई थाहा छ उनीहरूले विगतमा रुससँग गरेका सबै सम्झौताहरू भङ्ग भए, त्यसैले एङ्करिजमा कुनै सम्झौताको घोषणा भइहालेको भए पनि उनीहरू विश्वस्त हुने थिएनन्।
तर सञ्चारमाध्यम सामु संयुक्त उपस्थितिका बेला पुटिनले फेरि द्वन्द्वका 'मूल कारण'हरूबारे बोलेको र तिनको निराकरणले मात्र दिगो शान्ति आउने भनेको सुन्दा युक्रेनीहरू चकित हुने छन्।
उक्त भनाइको अर्थ पुटिन अझै पनि उनको 'विशेष सैन्य कारबाही'को सुरुवाती उद्देश्यबाट टसको मस भएका छैनन् भन्ने लाग्छ – जुन उद्देश्य हो एक स्वतन्त्र राष्ट्रका रूपमा युक्रेनलाई छिन्नभिन्न पार्नु। साढे तीन वर्षदेखिको पश्चिमा जगतको प्रयासले उनको मन बदल्न सकेको देखिएन। अलास्का बैठकले पनि त्यो हासिल गर्न सकेन।
बैठकपश्चात् फैलिएको अनिश्चय पनि चिन्ताजनक छ। अब के हुन्छ? के रुसी हमला निरन्तर जारी रहने छन्?
गत केही महिनाहरूमा पश्चिमा जगतले एक पछि अर्को समयसीमा दिए पनि ती त्यत्तिकै बिते। ती चेतावनी वास्तविकतामा परिणत भएनन्। पुटिनलाई हमला जारी राख्न यसले निम्तो दिने युक्रेनीहरू ठान्छन्। एङ्करिज वार्तामा प्रगति हुन नसकेकोलाई पनि उनीहरूले यही सन्दर्भमा हेर्ने छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।