निर्वाचनमा मधेशमा चलेको लहर र त्यसको दुईथरी विश्लेषण

    • Author, चन्द्रकिशोर, पत्रकार तथा विश्लेषक
    • Role, बीबीसी न्यूज नेपालीका लागि
  • पढ्ने समय: ४ मिनेट

निर्वाचनपछि मधेश र मधेशका मुद्दाहरूलाई लिएर दुई प्रकारका दृष्टिकोणले ठाउँ ओगटेको छ।

पहिलो थरीका मानिसहरू मधेश-आधारित दलहरू यसपटकको मतादेशबाट धूलिसात् भएका र उनीहरूले उठाइरहेका अजेन्डाहरू हराएको अवस्था आएको बताउँछन्।

दोस्रो थरीका चाहिँ यो चुनावमा मधेशले राष्ट्रिय विमर्शमा विशेष ठाउँ पाएको र नयाँ तथा पुराना शक्तिहरूले मधेशका आधारभूत अजेन्डाहरूलाई स्वीकार गरेको रूपमा अर्थ्याउँछन्।

रास्वपाको लहर

निर्वाचन परिणाममा मधेश प्रदेशका ३२ सीटमध्ये ३० वटा सीट राष्ट्रिय स्वतन्त्र पार्टीले जित्यो। बाँकी दुईमध्ये एक सीटमा रौतहट २ बाट नेपाली कांग्रेसका फिरदोस आलमले जिते। अर्को धनुषा १ मा नेपाली कम्युनिस्ट पार्टीका मातृका यादवले जिते।

तर रोचक तथ्य के हो भने राष्ट्रिय स्वतन्त्र पार्टीले जितेका ३० मध्ये २५ सीटमा मधेशी मूलका उम्मेदवार छन्।

मधेश-आधारित राजनीतिलाई प्रमुखता दिने दलहरू भने यसपटक शून्यमा झरेका छन्।

यसअघि मधेश-आधारित दलहरूसँगको गठबन्धनमा अन्य तत्कालीन ठूला कहलिने दलहरू नेपाली कांग्रेस, नेकपा एमाले वा माओवादी चुनावी प्रतिस्पर्धाका लागि मधेश झर्थे।

यसपटक मधेशमा आधारित दलहरूको पक्षमा चुनावी माहोल भएको देखिएन। ती दलहरू सरकारको तीन तहमै सहभागी रहँदा जनतालाई निराश बनाएको भन्ने जनगुनासा रहेका थिए।

जसरी भुईँतहमा ठूला दलहरूप्रति विकर्षण रह्यो, त्यही विकर्षणको स्थिति मधेशमा आधारित दलहरूप्रति पनि देखियो।

पुरानै नेता र नाराबाट जनता वाक्क भएजस्तो देखिए।

पछिल्लो चुनावमा सीके राउतले केही ताजा सुरुवात गर्लान् भनेर आशा थियो तर उनले चाँडै निराश बनाएको गुनासो प्रशस्त सुनिन्छ।

दुईथरी विश्लेषण

पहिलो थरीका विश्लेषण गर्नेहरूका अनुसार यसपटक हिमाल, पहाड वा तराई-मधेश भन्ने कुरै थिएन। विगतका पहिचानमा आधारित राजनीतिक मुद्दा र शक्तिहरूलाई गौण पार्दै जेन जी आन्दोलनपश्चात् विकसित घटनाक्रममार्फत् "नयाँ" भन्ने भाष्यले भुईँतहसम्मै यति विघ्न सघनता पायो कि 'नयाँ' दलका प्रत्याशी को हुन् भन्ने खोजखबर पनि राखिएन।

बालेन्द्र शाह अर्थात् बालेन 'नयाँ'को प्रतिनिधिका रूपमा उदाए र उनी आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टीलाई मात्र आम मतदाताले पत्याए।

"यो चुनाव अजेन्डाबेगरको चुनाव थियो," तराई क्षेत्रका पुराना नेता ह्रदयेश त्रिपाठीले बताएअनुसार चुनावअगाडिका सबै अजेन्डा अहिले पनि जीवित छन्।

अजेन्डाहरू ज्युँदो रहिरहँदासम्म त्यसको पक्षमा रहिरहनेहरूको राजनीति नसकिने उनले बताए।

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले चुनावी जितहार मात्रले जनसङ्घर्ष गर्ने राजनीतिक पृष्ठभूमि भएकाहरूको भविष्य निर्धारण हुँदैन भनेका छन्।

उनी "आजको राष्ट्रिय सफलता अर्थात् प्रधानमन्त्री मधेशी अनुहार बन्ने परिस्थितिलाई विगतमा मधेशी राजनीतिले देखाएको सपना र सङ्घर्षको प्रतिफल किन नमान्ने?" भनी व्याख्या गर्छन्।

तर कतिपय मधेशमा आधारित दलहरूबाट राजनीति गर्नेहरू मधेश आन्दोलनबाट प्राप्त धेरै उपलब्धिहरू धरापमा पारिए फेरि आन्दोलन हुन सक्ने बताउँछन्।

हिजोका दिनमा जुन वर्चस्वशालीहरूको दबावले प्रदेशलाई संविधानअनुसारको अधिकार दिन पनि छेकबार लगाइरह्यो, अहिले काठमाण्डूको "डार्लिङ"का रूपमा चिनिने बालेन्द्र शाहले त्यो लडाइँ कत्तिको लड्न सक्छन्, त्यसमा मधेशको भावी राजनीति निर्धारित हुन सक्छ।

'मधेशी' राजनीतिको सफलता?

राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको अनुहारका रूपमा प्रस्तुत गर्नु नै उसले चुनावी राजनीतिमा मधेशलाई महत्त्व दिनु मानियो।

सिङ्गो मधेश "बालेनमय" भएर ३० वटा सीटमा जित मिल्यो। राष्ट्रिय स्वतन्त्र पार्टीले जितेका ३० मध्ये २५ सीटमा मधेशी अनुहार छन्।

यो पनि मधेशी राजनीतिकै सफलता मानिएको छ।

बालेन्द्र शाहले आफ्नो जनकपुरको चुनावी सभामा प्रदेशलाई मजबुत बनाउने सङ्कल्प राखेका थिए। यो वास्तवमा क्षेत्रीय शक्तिहरूको 'राजनीतिक विजय' भएको बताइन्छ।

बालेनको मधेशी पहिचानका साथै सङ्घीयताप्रतिको प्रतिबद्धताले गर्दा मधेशमा उनीप्रति आकर्षण बाक्लिएको देखिन्छ।

क्षेत्रीय शक्तिहरू राष्ट्रिय राजनीतिमा केवल दबाव समूहका रूपमा मात्र उभिन सक्छन् तर प्रतिनिधिसभामा बहुमत प्राप्त दलले नै संविधान संशोधन र संविधानको मर्मअनुसार सहज कार्यान्वयन गर्न सक्छ - राष्ट्रिय स्वतन्त्र पार्टीले यस प्रकारको बुझाइको पनि लाभ पायो।

अबको बाटो?

मधेशमा आधारित दलहरू एउटै मोर्चा बनाएर एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धामा गएको भए यस खालको पराजय भोग्ने अवस्था आउँदैन थियो र तराई-मधेशमा "तेस्रो शक्ति"का रूपमा उनीहरू झुल्किन सक्थे भन्ने कतिपयको बुझाइ छ। तर चुनावमा यी दलहरूबीच बलियो गठबन्धन बन्न सकेन।

जब बालेन्द्र शाहको प्रधानमन्त्री रूपमा प्रस्तावित मुहार र मधेशका आधारभूत संरचनाप्रतिको उनको अडानले जनमतलाई आशा देखाउन थाल्यो, तब मधेश-आधारित दलहरूका कतिपय नेताहरूले बालेन्द्रको "मधेशी "हुनु प्रति आलोचना गर्न थाले।

विगतमा रास्वपा मधेशी पहिचान र प्रदेशको संरचनाप्रति अनुदार रहेको देखिन्थ्यो, यसपटक उसले आफूलाई सच्च्याएर चुनावी घोषणापत्र ल्याएको देखियो।

यसपटक पुराना र नयाँ भनेर चिनिने नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी दुवैले जसरी मधेश प्रदेशको रणनीतिक महत्त्वलाई बुझेर आआफ्ना प्रधानमन्त्रीय उम्मेदवार यहाँका क्षेत्रमा उतारे, अब उनीहरूका लागि मधेश दायित्व बन्न पुगेको छ।

मधेश आन्दोलनसँग जोडिएका शक्तिहरूलाई हालका लागि आत्ममन्थन गर्ने अवसर दिएर मधेशका मतदाताले मुख्य धारमा ल्याउने जिम्मेवारी यी दुई दललाई दिएको मान्न सकिन्छ।

रास्वपाले मधेशलाई केवल मत बटुल्ने भूगोल मात्र ठान्ने सोच राख्यो भने त्यसले राष्ट्रिय रूपमा नयाँ तनावको सृजना हुन सक्ने आकलन गर्नेहरू पनि छन्।

प्रभावकारी प्रदेश संरचना र राज्यको समावेशी बनोट दुई यस्ता मुद्दा हुन्, जसले मधेशलाई अन्य भूगोल र समुदायसँग साथसाथ हिँड्ने मौका दिन्छ। रास्वपाले अबको बाटो कसरी हिँड्छ? मधेश राजनीतिको भविष्य यसले नै परिभाषित गर्न सक्ने देखिन्छ।

यो आलेखमा व्यक्त सबै विचार लेखकका निजी हुन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।