तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'जहाजमा लुक्ने कुनै ठाउँ छैन' : इराननजिकै समुद्रमा फसे पानीजहाज कामदार
- Author, मोहम्मद जुबेर खान
- Role, बीबीसी न्यूज उर्दू
- Author, ये थु सान
- Role, बीबीसी न्यूज बर्मिज
- Author, ह्योजङ किम
- Role, बीबीसी न्यूज कोरिअन
- Author, एन्ड्र्यू वेव र ग्रेस चोई
- Role, बीबीसी वर्ल्ड सर्भिस
- पढ्ने समय: ७ मिनेट
अमेरिकी-इजरेली हमलाको जबाफमा इरानले हर्मुज स्ट्रेट पार गर्न कोसिस गर्ने जहाजहरूमाथि हमला गर्ने धम्की दिएसँगै खाडीमा ट्याङ्कर र मालबाहक जहाजहरूमा फसेका कामदारहरूका निम्ति ड्रोन, क्रुज क्षेप्यास्त्र र लडाकु विमानका दृश्यहरू सामान्य बन्न थालेका छन्।
"मैले इरानी ड्रोन र क्रुज क्षेप्यास्त्रहरू कम उचाइमा उडिरहेको देखेको छु," यूएईको एउटा तेल ट्याङ्करमा काम गर्ने पाकिस्तानी कामदार आमिर भन्छन्। उनी काम गर्ने जहाज उक्त क्षेत्र छाडेर अन्यत्र जान सक्दैन।
"म लडाकु जहाजको आवाज पनि सुनिरहेको हुन्छु तर ती कुन देशका हुन् हामी खुट्याउन सक्दैनौँ।"
आकासमै अवरुद्ध गरिएका ड्रोन वा क्षेप्यास्त्र आफ्नो जहाजमा खस्ने हो कि भन्ने चिन्ताले उनलाई सबैभन्दा धेरै सताउँछ।
बर्मेली पानीजहाजकर्मी हेइन हरेक दिन झडपहरू देख्छन्। "बिहानै मात्र पनि दुईवटा लडाकू जहाजहरूले एकअर्कामाथि गोली चलाए। त्यतिबेला हामी काम गर्दै थियौँ," उनी भन्छन्, "त्यस्तो बेला जहाजमा कुनै विशेष लुक्ने ठाउँ छैन र हामीलाई भित्रतिर भाग्नु पर्यो।"
उनीहरूसँगै समुद्रमा फसेका जहाजकर्मी र तिनका परिवारको सुरक्षा सुनिश्चित गर्नका निम्ति हामीले उनीहरूको नाम परिवर्तन गरेर आमिर र हेइन बनाएका छौँ।
समुद्रमा सुरक्षा
मध्यपूर्वमा कति पानीजहाज कामदार अलपत्र परेका छन् भन्ने यकिन गर्न कठिन भए पनि 'बाङ्ग्लादेश मर्चेन्ट मरिन अफिसर्स एसोसिएसन'का प्रमुख क्याप्टेन अनाम चौधरीको अनुमानमा त्यो सङ्ख्या २०,००० को आसपास हुन सक्छ।
उनका अनुसार तीमध्ये केही समुद्रमा र कतिपय बन्दरगाहमा अलपत्र परेका छन्। तर उनका विचारमा कुन स्थिति बढी खतरनाक छ मूल्याङ्कन गर्न गाह्रो छ।
"बन्दरगाहभित्र रहेका मान्छेहरूले आफू त्यहाँ सुरक्षित भएको भन्ठान्छन् तर त्यहाँ रोकिएका जहाजहरूमा पनि बमबारी भएका छन्," उनी भन्छन्।
उनको संस्थाले युद्धका क्रममा अहिलेसम्म प्रोजेक्टाइल (क्षेप्यास्त्र वा त्यस्तै गरी प्रहार गरिने शस्त्र) लागेका र क्षतिग्रस्त भएका कम्तिमा सात जहाजबारे थाहा पाएको छ।
रिपब्लिक अफ पलाउमा दर्ता भएको स्काइलार्क नामक ट्याङ्करमा मार्च १ मा एक कामदारको मृत्यु भएको चौधरी बताउँछन्। जहाजमा आगो लागेपछि उद्धार गरिएका कामदारहरू मानसिक आघातको स्थितिमा पुगेका उनले बताए।
समुद्रमा काम गर्ने अन्य पनि चौधरीका कुरामा सहमत छन्।
क्याप्टेन एम मन्सूर तेल ट्याङ्कर चलाउँछन्। उनले बीबीसीलाई बताएअनुसार आक्रमणबाट बच्ने कुरामा बन्दरगाहमा हुनु र समुद्रमा हुनुमा खासै भिन्नता छैन। "उनीहरूले मेरो जहाजलाई निशाना बनाउन चाहे भने त्यसो गर्न सक्नेछन्।"
तथापि उनका विचारमा सामान्यत: ठूला जहाजहरू तटदेखि टाढा हुँदा सुरक्षित हुन सक्छन्। "मौसम चर्को भएका बेला हामी सधैँ धेरै पानी र पर्याप्त गहिराइयुक्त खुला समुद्रतिर जान्छौँ, जहाँ स्वतन्त्र रूपमा संचालन गर्न सकियोस्। बन्दरगाह तथा साँघुरा जलक्षेत्रमा मौसमले जहाजलाई जमिनमा अड्काएर वा घाटका भित्तामा ठोक्काएर क्षति पुर्याउन सक्छ।"
सञ्चार तथा नेभिगेशन प्रणालीमा अवरोध
यो जोखिमपूर्ण अवस्थाले पानीजहाज कामदारका परिवारलाई अत्यन्त चिन्तित तुल्याएको छ।
इरानमा सरकारले इन्टरनेट र फोन बन्द गरेकाले त्यहाँका कामदारको अवस्थाबारे थाहा पाउन परिवारका सदस्यहरूलाई निकै कठिन भएको छ। कहिलेकाहीँ पहुँच खुल्छ तर त्यो अनियमित र प्रायः छोटो समयका लागि मात्र हुन्छ।
अली अब्बासका छोरा हर्मुज स्ट्रेट नजिकैको इरानी बन्दरगाहमा रहेको एउटा जहाजमा छन्। केही दिनअघि मात्र उनले छोरासँग कुरा गरेका थिए। त्यतिबेला उनी क्षेप्यास्त्र आक्रमणबारे बताइरहेका थिए। ती घटनामा उनका छोरा जोगिए पनि एक भारतीय कामदार घाइते भएका थिए।
"मैले यो कुरा मेरी श्रीमती र बुहारीलाई भनेको छैन," आँखा रसिला पार्दै उनी भन्छन्।
मङ्गलवार राति पनि उक्त बन्दरगाहमा पुन: आक्रमण भयो तर त्यसयता अलीले आफ्ना छोरासँग कुरा गर्न सकेका छैनन्।
"ईश्वरका निम्ति, कृपया मलाई सहयोग गर्नुहोस्," भावुक हुँदै उनी भन्छन्।
आफ्ना छोरा अझै जीवित र सुरक्षित छन् र सञ्चार प्रणालीमा आएको समस्याका कारण मात्र सम्पर्क हुन नसकेको हो भन्ने अलीको आशा छ।
जीपीएस प्रणालीमा वाधा
सिओ-जनले दक्षिण कोरिया र म्यानमारका २० भन्दा बढी चालकदल सदस्यहरू भएको जहाजको नेतृत्व गर्छन्।
उनका अनुसार स्याटेलाइटमा आधारित नेभिगेशन प्रणालीमा बारम्बार समस्या आइरहेको छ र त्यसले अतिरिक्त जोखिम पैदा गरेको छ।
"युद्ध सुरु भएयता कहिलेकाहीँ मात्र जीपीएसमा हस्तक्षेप हुँदै आएको थियो, तर पछिल्ला तीनचार दिनमा यो धेरै नै बढेको छ," उनी भन्छन्।
दुबईमा प्रवेश गर्दा उनीहरूले जीपीएस बिना नै जहाज चलाउनुपर्यो।
घट्दो आपूर्ति
सुरक्षा सँगसँगै जहाजका कामदारहरूलाई पानी र खानेकुरा छिट्टै सकिएला भन्ने डर पनि छ।
सिओ-जनको जहाजमा १५ दिनलाई पुग्ने पर्याप्त ताजा खानेकुरा छ तर पिउने पानीको अवस्था चिन्ताजनक बनेको छ।
"जहाजमा समुद्री पानीलाई प्रशोधन गरेर तयार गर्न त सकिन्छ तर यात्रा नगरेका बेला त्यो कठिन हुन्छ," उनी भन्छन्।
"जहाजमा सरसामान ल्याएकै दुई महिना भइसकेको छ," पाकिस्तानी जहाजकर्मी मसूद भन्छन्।
हेइनका अनुसार युद्धअघि जहाजमा बुफे खानाको व्यवस्था थियो। चालक दलका मानिसले अण्डाजस्ता ताजा खानेकुरा र पानी चाहेका बेला पाउन सक्थे।
तर अहिले उनको जहाजमा कोटा प्रणाली लागु भएको छ र उनीहरूलाई दैनिक केवल चारवटा स-साना मासुका टुक्रा र एक कचौरा तारिएको तरकारी दिइन्छ। बचेका खानेकुराले अब एक महिना धान्छ।
"यहाँ हाम्रो जीवन निकै कष्टकर छ र हामीसँग थोरै इन्धन र खानेकुरा मात्र छ," अर्का पाकिस्तानी कामदार जीशान भन्छन्।
"यस्तोमा कोही पनि आरामले बस्न सक्दैन," आमिर भन्छन्, "हामी ड्रिल तथा सुरक्षा अभ्याससहितका दैनिक काममा आफूलाई व्यस्त राख्छौँ।"
जहाजमा वरिष्ठ इन्जिनियरको रूपमा काम गर्ने हेइन पनि त्यसमा सहमत छन्। "म आफूलाई हताश हुन दिन्नँ, किनकि म्यानमार चालकदलका अन्य २० सदस्य मेरो जिम्मामा छन्।"
उनले स्थिति अझ बिग्रिएमा त्यहाँबाट निस्कने गरी सङ्कटकालीन योजना पनि तयार पारेका छन्। "मैले केही भयो भने के गर्ने, कहाँबाट हाम्फाल्ने र आफूसँग केके बोक्ने भनेर उनीहरूलाई भनेको छु।"
बीमाको सीमा
जहाजहरू सुरक्षित बन्दरगाहमा लगेर जमिनमा पुगेपछि पनि जहाजका कामदारहरू सजिलै घर फर्कन वा त्यो क्षेत्र छाड्न नपाउने अवस्था हुन सक्छ।
हाम्जाका अनुसार उनका छोरा जहाजमा अलपत्र परेका छन् र राहदानी कम्पनीसँग भएकाले उनलाई त्यहाँबाट निस्कन अनुमति छैन।
त्यस्तै कतिपयलाई करार पूरा नगरी जहाज छाड्दा शिपिङ कम्पनीहरूले कालो सूचीमा राख्न सक्ने हुँदा भविष्यमा काम नपाइने हो कि भन्ने डर पनि छ।
स्थिति अत्यन्त गम्भीर छ र आमिरका विचारमा राम्रो हुने आशा र सबै जहाजी कामदारको सुरक्षाका निम्ति प्रार्थना गर्नुबाहेक अर्को उपाय छैन।
उनी शिपिङ कम्पनीहरूलाई आफ्ना चालक दललाई हर्मुज स्ट्रेट पार गर्न बाध्य नतुल्याउन पनि आग्रह गर्छन्।
यी डर काल्पनिक हुन सक्ने भए पनि उनलाई सुरक्षामाथि आर्थिक दबाव हाबी हुने हो कि भन्ने चिन्ता छ। कुनै वाहनमाथि ड्रोन वा क्षेप्यास्त्र आक्रमण भएमा त्यसको मूल्य कामदारहरूले चुकाउनु पर्ने उनी बताउँछन्। मालसामान र जहाजमा पुग्ने क्षति बीमाले समेट्छ तर उनी भन्छन्, "मान्छेको जीवन बीमाद्वारा प्रतिस्थापित गर्न सकिन्न।"
जारी युद्धले समुद्रसम्बन्धी उद्योगमा ठूलो परिवर्तन ल्याउने आमिरको ठम्याइ छ।
"यो युद्धको शैली र उद्देश्य विगत केही वर्षमा देखिएकाभन्दा निकै फरक छ। यसले पर्सिअन खाडी भएर हुने व्यापारमा दीर्घकालीन प्रभाव पार्नेछ।"
क्याप्टेन चौधरीका अनुसार जहाजका कामदारहरू आफू जिम्मेवार नै नभएका घटनामा फस्न पुगेका छन्।
"जहाजलाई अप्ठेरो पार्नु हुँदैन, जहाजलाई अप्ठेरोमा पार्दा निर्दोष कामदारहरू मर्कामा पर्छन्," उनी भन्छन्।
टम डन्किनबाट अतिरिक्त रिपोर्टिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।