तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कतारका प्रधानमन्त्रीसमक्ष नेपाली प्रधानमन्त्री सुशीला कार्कीद्वारा आभार व्यक्त
मध्यपूर्वमा जारी तनावबारे प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीसँग टेलिफोन वार्ता गरेकी छन्।
प्रधानमन्त्री कार्कीले कतारमा रहेका ३ लाख ६० हजार नेपाली नागरिकलाई सुरक्षा तथा संरक्षण उपलब्ध गराएकोमा थानीलाई धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ।
"हाल करिब ३,६०,००० नेपाली नागरिकहरू कतार राज्यमा बसोबास गर्दै काम गरिरहेका छन्। उनीहरू सुरक्षित छन् र राम्रोसँग हेरचाह गरिएको छ भन्ने कुरा सुन्दा मलाई अत्यन्त खुसी लागेको छ। हाम्रो जनताको हेरचाह गर्नुभएकोमा हामी तपाईँ तथा तपाईँको सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ," कार्कीको भनाई उद्धृत गर्दै उनको सचिवालयले भनेको छ।
कार्कीले कतारको सार्वभौम भूमिमा र खास गरी गैर सैनिक क्षेत्रमा भएको आक्रमणप्रति गहिरो चासो व्यक्त गरेको उनको सचिवालयले उल्लेख गरेको छ।
कतारका प्रधानमन्त्री थानीले कतारमा रहेका नेपाली नागरिकहरूले ठूलो योगदान गरेको चर्चा गर्दै उनीहरूलाई सरकारले वर्तमान परिस्थितिमा कतारी नागरिकसरह सुरक्षा र संरक्षण दिने बताएका छन्।
नेपालको योजना के छ
यसअघि इरानको क्षेप्यास्त्र आक्रमणमा आबुधाबीमा एक जना नेपाली सहित तीन विदेशी मारिएका थिए।
इरानी ड्रोन आक्रमणमा परी मृत्यु हुने नेपाली नागरिक गोरखाका दिवस श्रेष्ठ परराष्ट्र मन्त्रालयका अधिकारीहरूले जनाएका छन्। उनी २९ वर्षका थिए।
जायाद अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा कार्यरत नेपाली युवाको आक्रमणमा ज्यान गएपछि मध्यपूर्वमा रहेका नेपालीबारे चिन्ता व्यक्त भइरहेका छन्।
गैरआवासीय नेपाली सङ्घ एनआरएनएले मध्यपूर्वका विभिन्न देशहरूमा कार्यरत नेपालीहरूमा त्रास र संशय रहेको विवरण आएको यसअघि बताएको थियो।
नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्माले युद्धको चपेटामा परेको मध्यपूर्व र खाडी देशहरूमा ठूलो सङ्ख्यामा रहेका नेपालीहरूको उद्धार गर्नु पर्ने परिस्थिति आएमा समुद्री मार्गबाट घर फर्काउने विकल्पमा समेत विचार गरेर पूर्व तयारी भइरहेको यसअघि बीबीसीलाई बताएका छन्।
अहिले नै खाडी देशमा रहेका नेपाली कामदारहरूलाई "तत्कालै उद्धार गरिहाल्नु अवस्था नदेखेको" तर आवश्यक परे ओमानको बाटो हुँदै जलमार्ग भएर भारत र त्यसपछि स्वदेशसम्मको यात्राको मार्गबारे विचार गरिएको उनले बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।