तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकामा सोशल मिडियाको लतसम्बन्धी मुद्दामा मेटा र यूट्यूब 'दोषी' ठहर
बाल्यकालमा सामाजिकक सञ्जाल (सोशल मिडिया)को लत लागेको भन्दै एक युवतीले मेटा र यूट्यूबविरुद्ध हालेको मुद्दामा लस एन्जलिसको एक अदालतले ती युवतीको पक्षमा अभूतपूर्व फैसला सुनाएको छ।
अदालतमा जुरीले मेटा र गुगलले नियतवश 'लत लाग्ने किसिमका' प्ल्याट्फर्महरू बनाएको र त्यसले २० वर्षे ती महिलाको मानसिक स्वास्थ्यमा समस्या ल्याएको पाएको बताएको छ।
मेटाले इन्स्टाग्राम, फेसबुक र ह्वाट्स्याप सञ्चालन गर्छ भने गुगलले यूट्यूब।
उक्त मुद्दा हालेकी महिला केलीलाई क्षतिपूर्तिस्वरूप ६० लाख डलर उपलब्ध गराउन अदालतले आदेश दिएको छ।
अमेरिकाभरका अनेकौँ अदालतमा रहेका यस्तै मुद्दाहरूमा यो फैसलाको प्रभाव पर्ने ठानिएको छ।
मेटा र गुगलको असहमति
मेटा र गुगलले त्यो निर्णयप्रति असहमति प्रकट गरेका छन् र पुनरावेदनमा जाने बताएका छन्। मेटाले भनेको छ- किशोरकिशोरीको मानसिक स्वास्थ्य जटिल विषय हो र त्यसको समस्या एउटा एपसँग मात्र जोडेर हेर्न मिल्दैन।
"हामी आफ्नो बचाउ बलियोसँग गर्ने छौँ किनभने हरेक मुद्दा फरकफरक हुने गर्छ र किशोरकिशोरीहरूको अनलाइन सुरक्षाका विषयमा हामीले राख्ने रेकर्डमाथि हामीलाई पूर्ण भरोसा छ।"
गुगलका एक प्रवक्ताले भने, "यो मुद्दामा यूट्यूबलाई गलत बुझिएको छ किनभने यो जिम्मेवारीका साथ बनाइएको स्ट्रीमिङ प्ल्याट्फर्म हो, न कि सोशल मिडिया साइट।"
अदालतले केलीलाई ३० लाख डलर क्षतिपूर्तिस्वरूप र ३० लाख डलर दण्ड सजायका रूपमा यी कम्पनीहरूले उपलब्ध गराउनुपर्ने निर्णय गरेको छ किनभने उनीहरूले आफ्ना प्ल्याट्फर्ममा "दुर्भावना, उत्पीडन वा धोखाधडीको कार्य" गरेको उनीहरूको ठहर छ। मेटाले क्षतिपूर्तिको ७० प्रतिशत र गुगलले ३० प्रतिशत हिस्सा बेहोर्नुपर्ने भनिएको छ।
अभिभावकहरू 'खुसी'
केलीको मुद्दासँग नजोडिएका भए पनि सोशल मिडियाका कारण आफूहरूलाई नोक्सान भएको दाबी गर्ने अन्य बाबुआमाहरू बुधवार अदालतबाहिर उपस्थित भएका थिए। उनीहरू पाँच हप्तादेखिको सुनुवाइका दौरान कैयौँ दिन अदालतबाहिर आएर बसेका थिए।
फैसला आएका बेला एमी नेभिलजस्ता बाबुआमाले खुसी मनाए र अरू बाबुआमा तथा समर्थकहरूसँग अङ्कमाल गरेर खुसी साटे।
यसअघि न्यू मेक्सिकोको एक अदालतले बच्चाहरूलाई यौनसम्बन्धी विषयवस्तु र यौन दुराचारीहरूको सम्पर्कमा पुर्याएको खतरामा पारेको भनेर मेटालाई जिम्मेवार ठहर्याएको थियो।
'फरेस्टर'का अनुसन्धान निर्देशक माइक प्रोलक्सले एकपछि अर्को फैसलाले सोशल मिडिया कम्पनी र सर्वसाधारणबीच "तनावको स्थिति" रहेको देखाएको बताउँछन्।
पछिल्ला महिनाहरूमा अस्ट्रेलियालगायतका देशहरूले सोशल मिडिया प्रयोग गर्न पाउने उमेरको सीमा तोक्दै बालबालिकालाई सोशल मिडिया प्रयोगमा प्रतिबन्ध लगाएका छन्। यूकेले पनि १६ वर्षमुनिका बच्चालाई सोशल मिडिया प्रतिबन्ध लगाउनेबारे परीक्षण गर्दै छ।
प्रोलक्सले भने , "सोशल मिडियाप्रतिको नकारात्मक भाव वर्षौँदेखि बढ्दै गइरहेको छ र अहिले यो उत्कर्षमा पुगेको अवस्था हो।"
फेब्रुअरीमा न्यायाधीशहरूसमक्ष उपस्थित हुँदै मेटाका अध्यक्ष तथा प्रमुख कार्यकारी मार्क जकर्बर्गले आफ्नो कम्पनीको लामो समयदेखिको नीति १३ वर्षभन्दा मुनिकाले प्रयोग गर्न नपाउने रहेकोमा जोड दिएका थिए।
मेटालाई उनीहरूका उत्पादन बालबालिकाले प्रयोग गरिरहेका छन् भन्ने थाहा थियो भन्ने दस्ताबेज प्रस्तुत गरिएपछि जकर्बर्गले आफूले १३ वर्षमुनिका बालबालिका प्रयोगकर्ता तीव्रतर रूपमा पत्ता लगाउने उपाय खोज्न आफूले "सदैव चाहेको" बताए।
स्न्यापच्याट र टिकटक 'बचे'
विपक्षीका रूपमा गुगलको यूट्यूब पनि रहेको भए पनि सुनुवाइ धेरैजसो इन्स्टाग्राम र मेटाकेन्द्रित थियो ।
स्न्यापच्याट र टिकटक पनि सुरुमा विपक्षी थिए तर ती दुवै कम्पनीले सुनुवाइ सुरु हुनुअघि नै केलीसँग गोप्य सम्झौता गरेर मुद्दा सुल्झाएका थिए।
केलीका वकिलहरूको तर्क छ कि मेटा र यूट्यूबले लत लगाउने मशीन बनाएका छन् र तिनले बालबालिकालाई तिनका उत्पादनमा पहुँच नदिने आफ्नो जिम्मेवारीमा उनीहरू विफल भएका छन्।
केलीले नौ वर्षको उमेरदेखि इन्स्टाग्राम चलाउन र छ वर्षको उमेरमा यूट्यूब चलाउन थालेको बताएकी थिइन्। उनको उमेरको हिसाबले ती एप चलाउँदा उनले कुनै रोकावट बेहोर्नुनपरेको बताएकी थिइन्।
"मैले परिवारसँग समय बिताउन छोडिदिएँ किनभने मैले सबै समय सोशल मिडियामा बिताउन थालेँ," उनको बयान क्रममा उनले भनिन्।
केली १० वर्षकी हुँदा उनमा 'एङ्जाइटी' र मानसिक अवसाद देखिन थाल्यो, जुन वर्षौँपछि मनोविद्ले पत्ता लगाए।
केलीले इन्स्टाग्राम फिल्टर प्रयोग गरेर आफ्नो रूप परिवर्तन गर्न थालिन् र आफ्ना नाक सानो र आँखा ठूल्ठूला बनाइन्।
केलीलाई त्यसपछि 'बडी डिस्मर्फिया' भन्ने शारीरिक अवस्था भएको छ, जसले मानिसहरूबीच आफू कस्तो देखिन्छु भन्नेबारे ठूलो चिन्ता रहन्छ र त्यसकै कारण उनीहरू अरू मानिसका अगाडि पर्न चाहन्नन्।
उनका वकिलहरूले इन्स्टाग्रामका असीमित स्क्रोलजस्ता विशेषता लत लगाउने किसिमले बनाइएका भन्ने तर्क गरेका थिए।
केलीको मुद्दा लडेका वकिलहरूले यो आदेशलाई "हाम्रो बालबालिकाको सन्दर्भमा कुनै पनि कम्पनी जबाफदेहिताभन्दा माथि छैन भनेर स्पष्ट सन्देश दिएको छ" भनेका छन्।
मेटा र अन्य सोशल मिडिया प्ल्याट्फर्ममाथि बच्चाहरूमाथि पुर्याएको असरबारे आरोप लगाइएको अर्को मुद्दाको सुनुवाइ क्यालिफोर्निया सङ्घीय अदालतमा आगामी जुन महिनामा सुरु हुने तालिका छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।