रुसद्वारा युक्रेनमाथि 'भीषण' आक्रमण, कैयौँ सहर प्रभावित

तस्बिर स्रोत, Andriy Sadovyi/Telegram
- Author, लाउरा गोजी र जरोस्लाभ लुकिभ
- पढ्ने समय: ४ मिनेट
रुसले युक्रेनका देशभरका विभिन्न सहरमा युद्ध सुरु भएपछिकै २४ घण्टाको अवधिको सबैभन्दा ठूलो हवाई हमला गरेको बताइएको छ। उसले यस अवधिका ९४८ वटा ड्रोन आक्रमण गरेको बताइएको छ।
युक्रेनको वायुसेनाले भनेअनुसार मङ्गलवार असामान्य रूपमा स्थानीय समयअनुसार बिहानको ९ बजेदेखि रुसले आक्रमण गरेको छ। त्यसमा परेर कम्तीमा तीन जना मारिएका र दर्जनौँ घाइते भएका छन्।
स्थानीय अधिकारीहरूका अनुसार पश्चिमी सहर लभिभको सिटी सेन्टरस्थित युनेस्को सम्पदा क्षेत्रमध्ये एक १६औँ शताब्दीमा बनेको 'बर्नार्डिन मोनास्ट्री' क्षतिग्रस्त भएको छ।
त्यसको छिमेकी क्षेत्र इभानो फ्र्यान्किभ्स्क क्षेत्रमा एक प्रसूति अस्पताल पनि आक्रमणमा परेको छ।
पाँच मानिस मारिने गरी भएको हमलापछि यो अर्को हमला भएको हो। युक्रेनका अनुसार ३९२ ड्रोन र ३४ क्षेप्यास्त्रहरू प्रहार गरिएका थिए।
अधिकारीहरू के भन्छन्?
मङ्गलवार साँझ एक भिडिओ सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पछिल्ला आक्रमणहरूको तह हेर्दा "रुसले यो युद्ध समाप्त गर्ने कुनै मनसाय नराखेको स्पष्ट हुन्छ।"
रुसी सेनाले हमलाबारे सार्वजनिक रूपमा प्रतिक्रिया दिएको छैन।
लभिभका अधिकारीहरूले मङ्गलवार पोस्ट गरेको एक भिडिओमा बर्नार्डिन मोनास्ट्रीनजिकै रहेको मानिसहरू बस्ने एक भवनको छानोमा आगो लागेको देखिन्छ।

तस्बिर स्रोत, Reuters
सोशल मिडियामा पोस्ट गरिएको फरक फुटेजमा सहरको आकाशमा भुइँबाट नजिकै ड्रोन उडेको र मानिसहरू बस्ने भवनमा ठोकिएको देखिन्छ।
लभिभ क्षेत्रका प्रमुख माक्सिम कोजीत्स्कीले रुसी आक्रमणमा परेर ३२ जना घाइते भएको बताए।
इभानो फ्रान्किभ्स्क सहरमा दुई जना मारिएका र एक छवर्षे बच्चासहित चार जना घाइते भएका एक स्थानीय अधिकारीले बताए।
निसानामा कुनकुन क्षेत्र?
क्षेत्रीय राजधानीमा एक प्रसूति अस्पतालसहित थुप्रै भवनहरूमा क्षति पुगेको बताइएको छ।
पश्चिमी युक्रेनको एक अन्य सहर टेरनोपिल पनि मङ्गलवारको आक्रमणको निसानामा परेको थियो। क्षेत्रीय अधिकारीहरूले केही क्षेत्र प्रत्यक्ष आक्रमणमा परेको जनाए पनि त्यहाँ कसैको ज्यान गएको भने उल्लेख गरेनन्।
मध्ययुक्रेनी सहर भिनित्सियामा एक व्यक्तिको ज्यान गएको र १३ जना घाइते भएको क्षेत्रीय प्रमुख नबालिया जाबोलोत्नाले जानकारी दिइन्।

तस्बिर स्रोत, Reuters
राति भएको आक्रमणमा युक्रेनका ११ क्षेत्र निसानामा परेका र पाँच मानिस मारिएका बताइएको छ।
युक्रेनको वायुसेनाले अधिकांश रुसी ड्रोन तथा क्षेप्यास्त्र झार्न सफलता प्राप्त गरेको बताएको छ तर देशभरका कैयौँ क्षेत्रमा प्रत्यक्ष असर परेको पनि उसले स्वीकार गरेको छ।
युक्रेनी वायुसेनाका प्रवक्ता यूरी इन्हातले बताएअनुसार मङ्गलवार राति देशको उत्तरी क्षेत्रदेखि "ठूलो सङ्ख्यामा ड्रोन" युक्रेनी आकाशमा प्रवेश गरेका थिए र "समूह-समूहमा अगाडि बढेका थिए।"
उनले भने, "दिनको समयमा भएको हमलाको क्षेत्र रातको तुलनामा धेरै व्यापक छ… २४ घण्टाको अवधिभित्र भएको सबैभन्दा ठूला आक्रमणमध्ये एक भएको भन्न सकिन्छ," उनले भने।
चार वर्षभन्दा लामो समयदेखि चलिरहेको युद्धले युक्रेनको हरेक कुनामा असर पारेको छ तर देशको पश्चिमी हिस्सा रुसी सीमानिकट रहेको पूर्वी हिस्साको तुलनामा कम प्रभावित छ र कम आक्रमणमा पर्ने गरेको छ।
रुसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्ण आकारको आक्रमण सुरु गरेको थियो। अहिलेसम्म युद्ध निरन्तर जारी छ। मस्कोले युक्रेनभरका सहरमा दैनिक आक्रमण गर्दै आएको छ।
मङ्गलवार नै रुसको पश्चिमी कुर्स्क क्षेत्रका गभर्नरले एक कृषि कार्यालयमा युक्रेनी ड्रोन हमलाका कारण एक व्यक्तिको मृत्यु भएको र १३ जना घाइते भएको बताए।
अमेरिकी मध्यस्थतामा शान्ति सम्झौता गराउने उद्देश्यले सुरु भएको वार्ता फेब्रुअरीको अन्त्यमा इरानमाथि अमेरिकी-इजरेली आक्रमण सुरु भएपछि ठप्प रहेको छ।
"संसार डुब्दै गइरहेको एकपछि अर्का समाचारहरूबीच हामीले युक्रेनको दु:ख हराउन दिन हुँदैन। युक्रेनको दु:ख एकअर्को तथ्याङ्क जस्तो गरी वा शीर्षकमात्र हेरेर छोडिने समाचार बन्न दिँदैनौँ," युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्काले सोशल मिडियामा लेखेकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।


















