तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

रास्वपालाई प्रत्यक्षतर्फ सर्वाधिक सीट, समानुपातिकतर्फ झन्डै आधा मत

बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचनमा सहभागी भएको रास्वपा प्रत्यक्षतर्फ घोषित मतपरिणाममा तथा समानुपातिकतर्फ जारी मतगणनामा पनि अग्रस्थानमा छ।

सारांश

  • प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ अधिकांश स्थानमा रास्वपा विजयी भएको छ
  • दोस्रो स्थानमा नेपाली कांग्रेस र तेस्रो स्थानमा एमाले देखिएका छन् भने नेकपा, श्रम संस्कृति पार्टी राप्रपा क्रमशः त्यसपछि छन्
  • समानुपातिक मत गन्ने क्रम पनि जारी छ। अहिलेसम्म गणना भएको मतमा रास्वपाले ४९ प्रतिशतभन्दा बढी पाएको देखिन्छ
  • यो निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित हुने छन्

लाइभ कभरेज

  1. प्रत्यक्ष निर्वाचनमा रास्वपाले १२२ सीट जित्दा दोस्रो स्थानमा रहेको कांग्रेस १७ सीटमा सीमित

    प्रतिनिधिसभा निर्वाचनअन्तर्गत अब केही स्थानबाट मात्रै मतगणनाको अन्तिम परिणाम आउन बाँकी छ।

    मतगणना भएका १६४ मध्ये साँझ ९ बजेसम्म १५९ क्षेत्रको परिणाम सार्वजनिक भएको छ। त्यसअनुसार १२२ स्थानमा जितेको रास्वपा अग्रस्थानमा छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ क्षेत्रमा मात्र जितेको छ।

    त्यसपछि क्रमशः नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपा छन्।

    समानुपातिकतर्फ ५७.५० लाखभन्दा केही बढी मत गन्दा रास्वपाको पक्षमा ४९ प्रतिशत गएको निर्वाचन आयोगले जनाएको छ।

    समानुपातिक मतमा रास्वपापछि क्रमशः कांग्रेस, एमाले, नेकपा र राप्रपा छन्। तीन सीट जितेको श्रम संस्कृति पार्टीले गनिएको मतमा तीन प्रतिशत पुर्‍‍याउन सकेको छैन।

    यही विवरणसहित हामी आजलाई यो लाइभ पेजबाट बिदा माग्छौँ। धन्यवाद।

    यो पनि पढ्नुहोस्

    बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  2. चुनावी परिणामसँगै पुराना दलका कार्यकर्ता भन्छन्, 'आत्मसमीक्षा गर', प्रकाश पन्त, सुर्खेत

    निर्वाचनको परिणामप्रति नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीका कतिपय नेता तथा कार्यकर्ताले चिन्ता व्यक्त गर्दै पार्टीहरूले आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।

    नसोचेको परिणाम आएको ठान्ने कांग्रेस शुभचिन्तक जाजरकोटका दीपक केसीले भन्दै थपे, “यस्तो परिणाम आउँछ होला भन्ने कल्पना नै गरेको थिएन। तर पनि सम्हालिनुको विकल्प छैन।”

    नेकपा एमाले सुर्खेतका नेता बालकृष्ण सुनारले परिणामको पुराना दलमा आबद्ध धेरै मानिसहरु निराश बनेको बताए।

    “अहिले जुन प्रकारको परिणाम देखिएको छ यसको गम्भीर समीक्षा गर्दै पुराना दलहरु सच्चिएर सुध्रिएर अघि बढ्नु विकल्प छैन ।

    नयाँहरुले केही गर्छन् कि भन्ने धेरै अपेक्षासहित यसपालि जनताले परिवर्तनको लागि मत बदलेको उनीहरुको भनाइ छ।

    जनताले चाहे भने परिवर्तन सजिलै हुने भन्दै सुर्खेतकी प्रतिभा मल्लले थपिन्, “नयाँ भनिएकाहरुले आफ्नो अजेन्डाअनुसार काम नगरे पाँच वर्षपछि फेरि पालो आउँछ। नयाँहरूले देखाएको सपना झुटो साबित भयो भने जनता चुप लागेर बस्दैनन्।”

    नेताहरुसँग रुष्ट भएको हुनाले जनताले नयाँ दल र नयाँ अनुहारलाई रोजेको कतिपयको तर्क छ।

  3. रास्वपाले गोर्खा २ मा पनि जित्यो, महामन्त्री बुर्लाकोटीले झन्डै १५ हजार मतान्तरले विजयी

    गोरखा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटी विजयी भएका छन्।

    उनले २६,६६० मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले ११,७०० भोट ल्याए।

    रास्वपाले अहिलेसम्म १२२ सीट जितिसकेको छ भने मतगणना जारी सुनसरी ४, नुवाकोट १ र गोरखा १ मा अग्रता लिएको छ।

  4. ७ क्षेत्रको परिणाम आउन बाँकी, एउटामा मतगणनाबारे विवाद, कुन पार्टी कति स्थानमा विजयी

    प्रतिनिधिसभाको प्रत्यक्षतर्फको जारी मतगणना अन्तिम चरणमा प्रवेश गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १२१ सीट जितेको छ। चार निर्वाचन क्षेत्रमा उसले अझै पनि अग्रता लिइरहेको छ।

    दोस्रोमा रहेको नेपाली कांग्रेसले जम्मा १७ सीट जितेको छ। नेकपा एमालेले सात सीट जितेको भने तीन निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ।

    निर्वाचन आयोगले धनुषा १ मा रास्वपाको उम्मेदवारी खारेज गरिदिएकाले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। आयोगले रास्वपा उम्मेदवारका पक्षमा परेको मत नगनिने जनाएको थियो। तर रास्वपा उम्मेदवारको चिह्नमा सर्वाधिक मत परेको पाइएपछि आयोगले उक्त क्षेत्रको गणनालाई आधिकारिक विवरणमा समावेश गरेको छैन

    रास्वपाको अग्रता

    • सुनसरी ४: दीपककुमार साह
    • नुवाकोट १: विक्रम तिमिल्सिना
    • गोरखा १: सुधन गुरुङ
    • गोरखा २: कवीन्द्र बुर्लाकोटी

    एमालेको अग्रता

    • इलाम १: काजीमान कागते
    • संखुवासभा १: अर्जुनकुमार कार्की
    • अछाम २: यज्ञबहादुर बोगटी
  5. समानुपातिक प्रणालीतर्फको झन्डै ५३ लाख मत गनियो, रास्वपालाई झन्डै आधा मत

    निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत झन्डै ५३ लाख मतको गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब आधा मत प्राप्त गरेको छ।

    समानुपातिक प्रणालीतर्फ पार्टीहरूले प्राप्त गर्ने सीट गणना गर्न एउटा विशेष गणितीय सूत्र प्रयोग हुन्छ। प्रत्यक्ष मतदानमा कम्तीमा एक सीट जित्ने दलले समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याएमा मात्र यो प्रणालीतर्फ सीट पाउँछ। सीट सङ्ख्याको अन्तिम निर्णय निर्वाचन आयोगले गर्छ।

    तीन सीट जितेको श्रम संस्कृति पार्टीको अहिलेसम्म गनिएको मतमा ३ प्रतिशत पुर्‍याउन सकेको छैन।

  6. केही एमाले नेताहरूले भनेको चुनावी हारको 'निर्मम समीक्षा' के हो?

    प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित कैयौँ शीर्ष नेताहरू पराजित भएपछि केही नेताहरूले पार्टीभित्र ‘निर्मम समीक्षा’ हुने बताएका छन्।

    पूर्वप्रधानमन्त्री ओलीलाई सत्ताबाट विस्थापित गर्ने गरी भएको जेन जी आन्दोलनका जगमा सम्पन्न चुनावपछिको समीक्षामा पराजयको कारणबाहेक पार्टीको पुनर्गठनबारे छलफल हुने सङ्केत गरेका छन्।

    के त्यसमा पराजयमा नेतृत्वको भूमिका र सम्भावित विकल्पबारे पनि छलफल हुन्छ? पूरा सामग्री तलको लिङ्कमा -

  7. गण्डकीबाट प्रतिनिधिसभामा पुग्दै छन् यी नेताहरू, कृष्णमणि बराल

    प्रतिनिधिसभा निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सात जिल्लाका १३ निर्वाचन क्षेत्रमा विजयी भएका छन्। गोर्खाका दुई निर्वाचन क्षेत्रमा पनि रास्वपाकै अग्रता छ।

    नेपाली कांग्रेस हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा विजयी भएको छ। म्याग्दी जिल्लामा राष्टिय स्वतन्त्र पार्टीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्।

    यसअघि २०७९ सालमा भएको निर्वाचनमा कांग्रेसले १० निर्वाचन क्षेत्रमा विजयी भएको थियो। नेकपा एमाले पाँच क्षेत्रमा, नेकपा माओवादी दुई क्षेत्रमा र राष्ट्रिय जनमोर्चा नेपाल एक क्षेत्रमा विजयी भएका थिए।

    यसपालि रास्वपाका उम्मेदवार विजयी भएका जिल्लाहरू

    कास्की

    १.खडकराज पौडेल (गनेश पौडेल)

    २. उत्तमप्रसाद पौडेल

    ३. बिना गुरुङ (महिला)

    लमजुङ

    १.धर्मराज केसी

    तनहुँ

    १.स्वर्णिम वाग्ले

    २.श्रीराम न्यौपाने

    स्याङ्जा

    १.धनञ्जय रेग्मी

    २.झविलाल डुम्रे

    नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

    १. राजन गौतम

    २. मनीष खनाल

    बागलुङ

    १. सुशील खड्का

    २. सोम शर्मा

    पर्वत

    १.सागर भुसाल

    नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका जिल्लाहरू

    मुस्ताङ

    १.योगेश गौचन

    मनाङ

    १.टेकबहादुर गुरुङ

    स्वतन्त्र उम्मेदवार विजयी भएको जिल्ला

    म्याग्दी

    १. महावीर पुन

    गोरखा जिल्लाका दुईवटा निर्वाचन क्षेत्रको मतगणना अझै जारी छ।

    गोरखा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्री भन्दा अग्रस्थानमा छन्।

    गोरखा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीभन्दा अघि छन्।

  8. इलाम १ मा रोचक प्रतिस्पर्धा, सीता निरौला

    इलाम १ मा जारी मतगणनामा एमाले र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच चर्को प्रतिस्पर्धा देखिएको छ।

    निर्वाचन आयोगले उपलब्ध गराएको ताजा विवरणअनुसार एमालेका उम्मेदवार काजीमान कागते ८,३७७ मत प्राप्त गर्दै अग्रस्थानमा छन्। तर उनको निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तर केवल १४२ छ।

    श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले ८,२३५ मतसहित उनलाई पछ्याइरहेका छन्।

    तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका निश्कल राईले ७,९३६ मत र चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ५,०७० मत प्राप्त गरेका छन्।

    हालसम्म ३५,५४२ मत गणना भइसकेको र २८,१५५ मत अझै गन्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

  9. निर्वाचन सकिएपछि जुम्लाका मतदाता के भन्छन्

    प्रतिनिधिसभाको निर्वाचनमा यसपालि जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्रबहादुर शाही पुनः निर्वाचित भएका छन्।

  10. कोशी प्रदेशबाट प्रतिनिधिसभा पुग्ने उम्मेदवारहरू, विक्रम निरौला , विराटनगर

    कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये १५ स्थानमा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन्। सुनसरीको क्षेत्र नं २ र ४ मा उक्त पार्टीका उम्म्मेदवारले अग्रता लिएका छन्।

    नेपाली कांग्रेस ,श्रम संस्कृति पार्टी र एमालेले समान तीन-तीन क्षेत्रमा विजयी भएका छन्। मतगणना जारी दुई स्थानमा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।

    कोशीबाट प्रतिनिधिसभामा निर्वाचित सांसदहरू

    • मोरङ १ - यज्ञमणि न्यौपाने (रास्वपा), मोरङ २ कृष्णबहादुर कार्की (रास्वपा), मोरङ ३ - गणेश कार्की (रास्वपा), मोरङ ४ - सन्तोष राजवंशी (रास्वपा), मोरङ ५ - आशा झा (रास्वपा), मोरङ ६ - रुबिना आचार्य (रास्वपा)
    • झापा १ निशा डाँगी (रास्वपा), झापा २ - इन्दिरा रानामगर (रास्वपा), झापा ३ - प्रकाश पाठक (रास्वपा), झापा ४ - शम्भुप्रसाद ढकाल, झापा ५ - बालेन्द्र शाह (रास्वपा)
    • सुनसरी १ - हर्कराज राई (श्रम संस्कृति), सुनसरी ३- अशोक कुमार चौधरी (रास्वपा)
    • उदयपुर १ - पारसमणि गेलाल (रास्वपा), उदयपुर २ - सूर्यबहादुर तामाङ (रास्वपा)
    • इलाम २ - सुहाङ नेम्वाङ (एमाले)
    • पाँचथर - नरेन्द्र केरुङ (कांग्रेस)
    • ताप्लेजुङ- क्षितिज थेवे (एमाले)
    • तेह्रथुम - सन्तोष सुब्बा (कांग्रेस)
    • धनकुटा - राजेन्द्र कुमार राई (एमाले)
    • सोलुखुम्बु - प्रकाशसिंह कार्की (कांग्रेस)
    • ओखलढुङ्गा - विश्वराज पोखरेल (रास्वपा)
    • भोजपुर ध्रुवराज राई(श्रम संस्कृति)
    • खोटाङ - आरेन राई (श्रम संस्कृति)
  11. रास्वपा ६ क्षेत्रमा र एमाले ३ क्षेत्रमा अगाडि

    अहिलेसम्म घोषित अन्तिम परिणाममा रास्वपा ११९ स्थानमा विजयी भएको छ। जारी मतगणनामा रास्वपाका उम्मेदवार ६ स्थानमा र नेकपा एमालेका उम्मेदवार ३ स्थानमा अगाडि देखिएका छन्।

    अग्रता लिएका रास्वपा उम्मेदवार

    • सुनसरी २ - लालविक्रम थापा (३९): ५७,३४८
    • सुनसरी ४ - दीपककुमार साह (४९): ३२,५९६
    • नुवाकोट १ - विक्रम तिमिल्सिना (४३ ): १८,१४४
    • गोरखा १- सुधन गुरुङ (३८ ): ७,०६८
    • गोरखा २ - कवीन्द्र बुर्लाकोटी (४६): २२,७०३
    • बर्दिया २ - श्रीधर पोख्रेल (५३):२७,१९२

    अग्रता लिएका एमाले उम्मेदवार

    • इलाम १ - काजीमान कागते (६४): ७,९९७
    • सङ्खुवासभा - अर्जुनकुमार कार्की (६२): ५,६१५
    • अछाम २ - यज्ञबहादुर बोगटी (५०): ८,४७३
  12. समानुपातिक गणनामा अहिलेसम्म पाँच पार्टीलाई ३% मत

    निर्वाचन आयोगले अहिलेसम्म ४५ लाखभन्दा बढी समानुपातिक मत गनिएको जनाएको छ।

    त्यसबाट रास्वपाले झन्डै आधा मत प्राप्त गरेको देखिएको छ।

    समानुपातिक प्रणालीतर्फ पार्टीहरूले प्राप्त गर्ने सीट गणना गर्न एउटा विशेष गणितीय सूत्र प्रयोग हुन्छ। प्रत्यक्ष मतदानमा कम्तीमा एक सीट जित्ने दलले समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याएमा मात्र यो प्रणालीतर्फ सीट पाउँछ।

    सीट सङ्ख्याको अन्तिम निर्णय निर्वाचन आयोगले गर्छ।

    तीन सीट जितेको श्रम संस्कृति पार्टीको अहिलेसम्म गनिएको मतमा ३ प्रतिशत पुगेको देखिएको छैन।

  13. अहिलेसम्मको परिणाम यस्तो छ

    अहिलेसम्म निर्वाचन आयोगले प्रत्यक्षतर्फ १५३ स्थानको अन्तिम मतपरिणाम घोषणा गरेको छ।

    अहिले ११ स्थानमा मतगणना जारी छ भने धनुषा १ मा रास्वपाको उम्मेदवारी खारेज गरिएकाले त्यहाँको मतपरिणामलाई आयोगले औपचारिक विवरणमा समाविष्ट गरेको छैन।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्रबहादुर शाही र स्वतन्त्र उम्मेदवार महावीर पुन म्याग्दीबाट विजयी भएका छन्। यसपालि प्रतिनिधिसभामा केवल एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

  14. एमालेलाई ठूलो धक्का लागेको छः प्रदीप ज्ञवाली, गनी अन्सारी, बीबीसी न्यूज नेपाली

    अघिल्लो संसद्‌मा दोस्रो ठूलो दल रहेको नेकपा एमाले यो निर्वाचनमा निकै कम सीटसहित तेस्रो दलमा खुम्चिने देखिएको छ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित अन्य वरिष्ठ नेताहरू ठूलो मतान्तरले पराजित भएपछि सो पार्टीका एक नेता प्रदीप ज्ञवालीले आफ्नो पार्टीलाई ठूलो धक्का लागेको बताएका छन्। उनले निर्वाचन परिणामको गम्भीर समीक्षा गरिने र नेतृत्व परिवर्तनबारे पनि छलफल हुने सङ्केत गरे।

    उनले अरू के भने?

  15. श्रम संस्कृति पार्टीबाट तीन जना निर्वाचित, भोजपुरमा पनि विजयी

    प्रत्यक्ष निर्वाचण प्रणालीबाट भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित भएको निर्वाचन आयोगले घोषणा गरेको छ।

    यो परिणामसँगै उक्त नवगठित पार्टीबाट प्रतिनिधिसभामा तीन जना पुगेका छन्। उनीहरू तीनै जना कोशी प्रदेशका भिन्नाभिन्नै जिल्लाका हुन्।

    यी हुन् श्रम संस्कृति पार्टीबाट निर्वाचित तीन उम्मेदवार -

    • भोजपुर - ध्रुवराज राई (४३): १६,६६३ मत
    • सुनसरी १- हर्कराज राई (४३): श्रम संस्कृति पार्टी: ३५,७४१
    • खोटाङ - आरेन राई (२९): १६,६१२

    समानुपातिक निर्वाचन प्रणालीको मत गन्ने क्रम जारी छ।

    प्रत्यक्षतर्फ कम्तीमा एक स्थानमा जित्ने र समानुपातिकतर्फ कुल सदर मतको तीन प्रतिशत मत पाउने पार्टीबाट समानुपातिकतर्फ पनि सांसद निर्वाचित हुने छन्। अहिलेसम्म गनिएको समानुपातिक मतमा श्रम संस्कृति पार्टीको पक्षमा २ प्रतिशत मात्र गएको देखिन्छ।

  16. यी हुन नेकपाबाट निर्वाचित ७ उम्मेदवार

    निर्वाचन आयोगले अहिलेसम्म १५३ क्षेत्रको अन्तिम मतपरिणाम घोषणा गरेको छ।

    नेपाल कम्युनिस्ट पार्टीका सात उम्मेदवार प्रतिनिधिसभामा निर्वाचित भएका छन्। मतगणना जारी क्षेत्रमा नेकपा कतै पनि अगाडि देखिँदैन।

    • सिन्धुपाल्चोक २ - युवराज दुलाल (४३): २१,६९९
    • रुकुम (पूर्वी भाग) - पुष्पकमल दाहाल प्रचण्ड (७०): १०,२४०
    • रोल्पा १ - बर्षमान पुन (५४): २७,४६०
    • सल्यान १- रमेशकुमार मल्ल (४७): २३,१८९
    • डोल्पा - धनबहादुर बुढा (५१): ६,८०२
    • कालीकोट १ - महेन्द्रबहादुर शाही (४९): ११,७३४
    • रुकुम (पश्चिम भाग) - गोपाल शर्मा (४८): २१,६०९
  17. मुगुमा कांग्रेसका खड्गबहादुरी शाही विजयी, कृष्णमाया उपाध्याय, जुम्ला

    एकमात्र निर्वाचन क्षेत्र रहेको मुगुमा नेपाली कांग्रेसका खड्गबहादुर शाही ७,९१४ मत ल्याएर विजयी भएका छन्।

    शाहीले नेकपा एमालेका पूर्णबहादुर रोकायालाई १,१९६ मतान्तरले पराजित गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    रोकायाले ६,७१८ मत प्राप्त गरेका छन् भने नेकपाका चन्द्रबहादुर शाहीले ५,५५८ मत प्राप्त गरेका छन्।

    रास्वपाका भुवन टमटाले ५३० मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत भीमबहादुर कुवँरले बताए।

    योसँगै तत्कालीन कर्णालीको हुम्ला र मुगुमा नेपाली कांग्रेस, कालीकोट र डोल्पामा नेकपा र जुम्लामा राप्रपाले विजय हासिल गरेका छन्।

  18. यी हुन् एमालेबाट निर्वाचित ७ उम्मेदवार

    अहिलेसम्म एमालेबाट सात जना प्रतिनिधिसभामा निर्वाचित भएका छन्।

    • ताप्लेजुङ - क्षितिज थेबे (३८):१३,९६२ मत
    • इलाम २ - सुहाङ नेम्बाङ (३६): २२,४२६
    • धनकुटा १- राजेन्द्रकुमार राई (५९): १८,१३२
    • बाँके २ - मोहम्मद इश्तियाक राई (४६):२४,६२८
    • दैलेख २- लक्ष्मीप्रसाद पोखरेल (६३): १३,८८९
    • बझाङ १- ऐनबहादुर महर (४१): १८,५४३
    • दार्चुला १- गणेश सिंह ठगुन्ना (५७): १८,८९१

    अपराह्न ३ बजेसम्मको मतगणनामा एमालेका तीन उम्मेदवारले इलाम १, सङ्खुवासभा र अछाम २ मा अग्रता लिएको देखिन्छ।

  19. २६ वर्षीय केपी खनाल कैलाली २ बाट विजयी, हिक्मत रावल

    कैलाली निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केपी खनाल विजयी भएका छन्।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले १९,०५७ मत प्राप्त गरेका छन्।

    छब्बीस वर्षीय खनाल जेन जी आन्दोलनमा सहभागी युवानेता हुन्।

    उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टी नेपालका पतिराम चौधरीले ११,९४९ मत प्राप्त गरेका छन्।

    तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सूर्यबहादुर थापाले ७,८८६ मत प्राप्त गरेका छन्।

    कैलाली जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू विजयी भएका छन्।

  20. यी हुन् नेपाली कांग्रेसबाट निर्वाचन १७ उम्मेदवार

    • पाँचथर- नरेन्द्रकुमार केरुङ (५३): १७,२३३
    • तेह्रथुम- सन्तोष सुब्बा (४८): ११,५६१
    • सोलुखुम्बु - प्रकाश सिंह कार्की (६२): १३,१६६
    • रौतहट २ - मो. फिरदोश आलम (३९ ): २९,५२८
    • रसुवा - मोहन आचार्य (४८): १०,६५६
    • मनाङ - टेकबहादुर गुरुङ (७१ ): २,४१५
    • मुस्ताङ - योगेश गौचन थकाली (३२): ३,३०७
    • पाल्पा १ - सन्दीप राना (३८): १८,३३६
    • कपिलवस्तु ३ - अभिषेकप्रताप शाह (४३): २३,५३५
    • मुगु - खड्ग शाही (५८): ७,९१४
    • हुम्ला - जयपति रोकाया (४७): ८,७९७
    • जाजरकोट - खडकबहादुर बुढा (४०): २०,१४२
    • दैलेख १- बासना थापा (४५): १२,३७२
    • सुर्खेत १ - विष्णुबहादुर खड्का (५८): २६,८९७
    • बाजुरा - जनकराज गिरी (६०): १७,१७३
    • अछाम १ - भरतकुमार स्वाँर (७० पुरुष): १०,७५९
    • डोटी - भरतबहादुर खड्का (६८ पुरुष): १४,८९७

    स्रोतः निर्वाचन आयोग

Trending Now