प्रत्यक्ष निर्वाचनमा रास्वपाको १२५ सीट, बालेन र रवि लामिछानेलाई नरेन्द्र मोदीको बधाई
प्रतिनिधिसभा निर्वाचनबाट दुई तिहाइ हाराहारी बहुमत सहित एकल सरकार बनाउने देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीका दुई प्रमुख नेतालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाई दिएका छन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग आत्मीय कुराकानी गरेको उल्लेख गर्दै आगामी दिनमा नेपाल-भारत सम्बन्ध थप उचाइमा पुग्ने विश्वास आफूले लिएको बताएका छन्।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पहिलो हुनेले जित्ने प्रणालीअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ वटा सीट जितेको छ।
मतगणना भएका १६४ मध्ये साँझ ९ बजेसम्म १६३ क्षेत्रको परिणाम सार्वजनिक भएको छ। त्यसअनुसार १२५ स्थानमा जितेको रास्वपा अग्रस्थानमा छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८ क्षेत्रमा मात्र जितेको छ।
त्यसपछि क्रमशः नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपा छन्।
समानुपातिक प्रणालीतर्फ ९८ लाखभन्दा केही बढी मत गन्दा रास्वपाले ४७.५० लाखभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। उक्त दल दुईतिहाइ सीट सङ्ख्या जित्नेतर्फ उन्मुख रहेको निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन्।
समानुपातिक मतमा रास्वपापछि क्रमशः कांग्रेस, एमाले, नेकपा र राप्रपा छन्। तीन सीट जितेको श्रम संस्कृति पार्टीले गनिएको मतमा तीन प्रतिशत पुर्याएको छ भने राप्रपा पनि उक्त सङ्ख्या पुर्याउने दिशामा छ।
निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जीसीले अझै करिब १० लाख मतगणना हुन बाँकी रहेको भन्दै भोलिसम्म समानुपातिक निर्वाचन प्रणालीको अन्तिम मतपरिणाम आउन सक्ने बताएका छन्।
यी विवरणसहित हामी आजलाई यो लाइभ पेजबाट बिदा माग्छौँ। दिनभरको साथ र समर्थनका लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद।
बीबीसी नेपाली सेवाको मुख्य पेजमा यी विभिन्न सामग्रीहरू पनि छन् कृपया पढ्नुहोला।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्नयहाँ क्लिक गर्नुहोस्। तपाईँफेसबुक, इन्स्टाग्राम रट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।