तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आगन्तुकलाई ‘झुक्याउन’ जेब्रा बनाइएको गधा
इजिप्टको एउटा चिडियाखानामाथि आगन्तुकहरूलाई झुक्याउन गधालाई रङ्ग्याएर जेब्रा जस्तो स्वरूप दिइएको आरोप लगाइएको छ।
सामाजिक सञ्जालमा सो गधाको तस्वीर 'भाइरल' भएपछि अधिकारीहरूले त्यस्तो नगरिएको दावी गरेका छन।
कायरोस्थित इन्टरन्याशनल गार्डन म्युनिसिपल पार्क घुमेपछि महमुद सरहान नाम गरेका एक विद्यार्थीले सो गधाको फोटो फेसबुकमा पोस्ट गरेका थिए।
जेब्राको तुलनामा त्यसको लम्बाइ सानो थियो र कान तथा मुखको स्वरूप पनि फरक देखिएको थियो।
नक्कली
विशेषज्ञहरूले सो तस्वीरबारे टिप्पणी गर्न थालिएपछि त्यो सामाजिक सञ्जालमा त्यो चर्चित भएको थियो।
स्थानीय एक्स्ट्रान्यूज टीभीलाई एक पशु चिकित्सकले भने, जेब्राको मुख कालो हुन्छ र त्यसको जीउमा हुने धर्का समानान्तर हुन्छन्।
सरहानले चिडियाखानामा आफूले दुईवटा जनावर देखेको र दुवैलाई रङ्ग्याइएको सो टीभीलाई बताए।
स्थानीय नोगूम एफएमले चिडियाखानाका निर्देशक मोहम्मद सुल्तानलाई सम्पर्क गर्दा त्यहाँ भएको जनावर नक्कली नभएको उनले बताए।
मूर्ख
चिडियाखानाका आगन्तुकहरूलाई यसरी मूर्ख बनाइएको यो पहिलो घटना चाहिँ होइन।
सन् २००९ मा इजरेली नाकाबन्दीका बेला गाजास्थित एउटा चिडियाखानामाथि दुईवटा गधालाई रङ्ग्याएर जेब्राको स्वरूप दिएको आरोप लगाइएको थियो।
सन् २०१२ मा गाजाकै अर्को चिडियाखानाले जिउँदो भन्दै मृत जनावरको पुत्ला देखाएको आरोप लगाइएको थियो।
सन् २०१३ मा चीनको एक चिडियाखानामाथि एउटा तिब्बती कुकुरलाई अफ्रिकी सिंहको रूपमा प्रस्तुत गरेको आरोप लागेको थियो।
सन् २०१७ मा चीनकै अर्को चिडियाखानामा सक्कली भनेर आगन्तुकहरूका लागि प्लास्टिकको पेन्गुइन राखिएको आरोप लागेको थियो।