तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आप्रवासी सङ्कट: अमेरिका-मेक्सिको सीमामा पठाउने बजेटबारे रिपब्लिकन र डेमोक्र्याटिक पार्टी विभाजित
अमेरिकामा रिपब्लिकन पार्टीको बाहुल्य रहेको माथिल्लो सदन सिनेटले अमेरिका-मेक्सिको सीमामा सहायता पठाउने सम्बन्धमा एउटा विधेयक पारित गरेको छ।
सिनेटले यसअघि सोही विषयमा भिन्न ढङ्गबाट डेमोक्र्याटिक पार्टीको बाहुल्यको तल्लो सदनले ल्याएको विधेयक अस्वीकृत गरेको थियो।
अस्वीकृत विधेयकमा अध्यागमन निकायमाथि प्रतिबन्धको व्यवस्था राखिएको थियो।
अब दुवै दलका सांसदहरू आफ्ना विधेयक परिमार्जन गर्नुपर्ने दबावमा छन्।
तस्बिरले तताएको बहस
आप्रवासीहरू मरिरहेका, कमजोर अवस्थामा उनीहरूलाई बन्दी बनाइएका र रेखदेखबिनै राखिएका बालबालिकाका समाचारले यस बहसलाई बल दिएको छ।
हालै अमेरिका छिर्ने प्रयासका रूपमा रियो ग्रान्ड नदी तर्न खोज्दा ज्यान गुमाएका एल साल्भडोरका बाबुछोरीको तस्बिर सार्वजनिक भएको पृष्ठभूमिमा आर्थिक व्यवस्था गर्ने प्रतिसपर्धी विधेयकहरू आएका हुन्।
एल साल्भडोरका ओस्कार मर्टिनेज रमिरेज र उनकी झन्डै दुई वर्षकी छोरी भलिराको शवको एउटा तस्बिरले आप्रवासीसम्बन्धी विषय पुन: तताएको छ।
ती बाबुछोरीको शव नदीको खासै गहिरो नभएको स्थानमा घोप्टो परेको भेटिएको थियो। बालिकाको टाउको आफ्ना बुवाको शर्टभित्र लुकेको थियो भने उनका हात घाँटी वरपर थिए।
खोला तर्ने क्रममा डुबेका उनीहरू पानीका भेलले बगाएर त्यहाँ पुगेको बताइएको छ।
सन् २०१८ मा अमेरिका-मेक्सिको सीमामा कम्तिमा २८३ आप्रवासी मारिएको अमेरिकी सीमा सुरक्षा निकायको तथ्याङ्क छ। मानवअधिकारवादी संस्थाहरूले त्यस्तो सङ्ख्या अझ बढि हुन सक्ने बताएका छन्।
आरोप
रिपब्लिकन र डेमोक्र्याटिक पार्टीको क्रमश: सिनेट र हाउस अप रेप्रिजेन्टटिभ्समा बाहुल्य छ। ती सदनमा प्रतिस्पर्धी विधेयकहरू पारित भएका छन्।
राष्ट्रपति डोनल्ड ट्रम्प र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले विधेयकमाथि पुर्नविचार हुने अपेक्षा व्यक्त गरेका छन्।
बाबुछोरीको तस्बिर सार्वजनिक हुनुभन्दा केही दिनअघि आप्रवासी बालबालिका राखिने केही बन्दी गृहको नाजुक अवस्थाबारे समाचार प्रकाशित भएको थियो।
बुधवार अमेरिकी राष्ट्रपति ट्रम्पले विकसित घटनाक्रमबारे बोल्दै डेमोक्र्याटहरूले खुला सीमा चाहेको प्रतिक्रिया दिएका थिए। उनले भने, "खुला सीमा भनेको थप मानिसहरू नदीमा डुब्नु हो।"
तर तल्लो सदनका एक वरिष्ठ डेमोक्र्याट सांसद निता लोरीले आफूहरूले ल्याएको विधेयक ट्रम्प प्रशासनका नीतिलाई चुनौती दिन आवश्यक रहेको बताएकी छन्।
रिपब्लिकन नेता मिच म्याक्कोनेलले डेमोक्य्राटहरू "निरन्तर अनुत्पादक देखिएका" र उनीहरूले "राजनीतिक दाउपेचभन्दा अन्य कुरामा रूचि नदेखाएको" आरोप लगाएका छन्।
अर्को हप्ता साताव्यापी बिदामा जानुअघि सांसदहरूले खर्च विधेयक टुङ्गो लगाउनुपर्छ।
अधिकारीहरूले सीमासम्बन्धी निकायका लागि पैसा सकिनै लागेको बताएका छन्।