विश्व आत्महत्या रोकथाम दिवस: आत्महत्या गर्ने सोच बनाएकाहरूसँग कुरा गर्ने तरिका

Two elderly men hugging

तस्बिर स्रोत, Getty Images

संसारमा कतै न कतै हरेक ४० सेकन्डमा कसैले आत्महत्या गर्ने गर्छन्।

झण्डै आठ लाख मानिसले हरेक वर्ष आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठन, डब्ल्यूएचओ, ले जनाएको छ।

र सडक दुर्घटनापछि सबैभन्दा धेरै १५ देखि २९ वर्षका मानिसहरूले ज्यान गुमाउने आत्महत्याका कारण नै देखिएको छ। यो विस्मयकारी तथ्याङ्क हो तर विश्व स्वास्थ्य संगठन भन्छ यो यस्तो विषय हो जसका विषयमा पर्याप्त छलफल हुनै सकेको छैन।

मानिसले गर्ने यस्तो चरम व्यवहार जति एक्लो देखिन्छ यसबाट ती मानिसको छोराछोरी, आमाबाबु, पत‌ि वा पत्नी, मित्रहरू वा सहकर्मीहरू समेत प्रभावित हुन्छन्।

गत वर्ष प्रकाशित अमेरिकामा गरिएको एक अध्ययनले त कहाँसम्म भनेको छ भने आत्महत्या गर्ने एकजना व्यक्तिको कदमबाट अन्य करिब १३५ जना मानिस प्रभावित हुन सक्छन्।

केन्टकी विश्वविद्यालयकी डा. जुली सेरेलले पत्ता लगाए अनुसार पारिवारिक सम्बन्ध भएपनि वा नभएपनि आत्महत्या गर्ने मानिससँग जसको सम्बन्ध जति निकट हुन्छ तिनमा पर्ने मानसिक आघात त्यति नै चर्को हुन्छ।

तर यस्तो अवस्था पनि आउन सक्छ जुनबेला आत्महत्या गर्ने सोच बनाइसकेका मानिसहरूसँग यस्तो निकै गाह्रो विषयमा कुराकानी गर्नु पर्ने हुनसक्छ। त्यस्तो अवस्थामा के गर्न सकिन्छ त?

कुराकानी सुरु गर्नुहोस्

Mother and daughter having a conversation

तस्बिर स्रोत, Getty Images

रिथिंक युके नामको मनोपरामर्श संस्थाकी प्रवक्ता एमा क्यारिंगटनले बीबीसीसँग कुरा गर्दै भनिन्,"मनमा आत्महत्या गर्ने विचार आएका मानिसहरूसँग कुराकानी गर्ने सही वा गलत तरिका छैन। सबैभन्दा महत्त्वपूर्ण त यस्तो गाह्रो विषयमा कुराकानी गर्नु नै ठूलो हो।"

"सबभन्दा पहिले त यो निकै गाह्रो कुराकानी हो भन्ने स्वीकार्नु पर्छ। जुन दिनका दिन गरिने सामान्य कुराकानी जस्तो होइन। त्यसैले यस्तो कुराकानी गर्नुपर्दा मन विचलित हुनु स्वाभाविक नै हो।"

"अवस्था यो भन्दा खराब हुन सक्ला भनेर चिन्ता गर्नु पर्दैन किनकी यो पहिले नै निकै कमजोर अवस्था हो। सबैभन्दा महत्त्वपूर्ण कुरा त अर्को पक्षलाई विना कुनै पूर्वाग्रह उसको कुरा सुनिदिनु नै हो।"

Presentational grey line

आत्महत्या गर्ने विचार मनमा आउनेहरूसँग कुराकानी गर्ने तरिकाबारे परोपकारी परामर्शदाताहरूले दिने सल्लाह:

•अर्को व्यक्तिले सहज अनुभव गर्न सकिने कुनै शान्त ठाउँ रोज्नुहोस्

•दुवैजनासँग कुराकानीका लागि पर्याप्त समय होस् भन्ने व्यवस्था गर्नुहोस्

•यदि तपाईँको मुखबाट गलत कुरा निस्कियो भने नआत्तिनुहोस्। आफूलाई दोषी मान्न जरुरी छैन।

•अर्को व्यक्तिमाथि ध्यान केन्द्रित गर्नुहोस्, आँखामा आँखा मिलाएर कुरा गर्नुहोस्। फोन अलग्ग राख्‍नुहोस्। आफ्नो सम्पूर्ण ध्यान त्यो व्यक्तिलाई दिनुहोस्।

•शान्त रहनुहोस्। अर्को व्यक्तिले खुलेर मनको कुरा गर्नका लागि उसलाई केही समय लाग्न सक्छ।

•हो र होइन भन्ने जवाफ ‌आउनेभन्दा भिन्न खाले खुला प्रश्नहरू सोध्नुहोस्। र उसले भनेको कुरा आफूले बुझे नबुझेको यकिन गर्नुहोस्।

•बीचैमा कुरा नकाट्नुहोस् वा समाधानको उपाय नसुझाउनुहोस्। अर्को व्यक्तिले कस्तो अनुभव गरिरहेको होला भनेर आफ्नै सोचाइ प्रस्तुत नगर्नुहोस्।

•ती व्यक्तिलाई ‌यस्तो विषयमा विज्ञहरूको सहायता कसरी लिने भन्ने थाहा छ की छैन सोधेर हेर्नुहोस्।

Presentational grey line

जोखिममा को छन्?

आत्महत्याको घटनाबाट सबै उमेरका मानिसहरू प्रभावित हुन्छन् तर विश्वव्यापी रूपमा हेर्दा पुरुषहरूमा यसको दर उच्च देखिएको छ।

सन् २०१६ मा प्रति एक लाख पुरुषमा आत्महत्या दर १३.५ रहेको थियो भने प्रति एक लाख महिलामा यो दर ७.७ रहेको थियो।

आत्महत्या दरको नक्शा

तर निश्चित देशहरूभित्र महिला/पुरुषको यस्तो दरमा ठूलो अन्तर र भिन्नता हुन सक्छ।

रुसमा संसारमा सबैभन्दा धेरै पुरुष आत्महत्या दर रहेको छ। सन् २०१६ मा प्रति एकलाखमा यो दर ४८ रहेको थियो जुन महिलाको दाँजोमा छ गुणाले बढी हो।

आत्महत्या र मानसिक स्वास्थ्यमा विचलनकाबीच (विशेषगरी, डिप्रेसन र मदिराको अम्मल) को सम्बन्ध सामान्यतया स्पष्ट नै रहेको छ।

तर धेरैजसो आत्महत्याको घटना संकटका बेला आवेशमा आएर हुने गर्छन्। त्यस्तो समयमा मानिसहरू जिन्दगीका तनावपूर्ण अवस्थाहरूमा- आर्थिक समस्या, निजी सम्बन्धहरूमा अवरोध अथवा दीर्घ पीडा वा रोगका बेला - आफूलाई सम्हाल्न सक्दैनन्।

A woman being comforted by another woman

तस्बिर स्रोत, Getty Images

ग्रामीण क्षेत्रका बासिन्दाहरूमा आत्महत्या दर उच्च देखिएको छ र भेदभाव बेहोरेका जोखिमपूर्ण समूहहरू जस्तै शरणार्थीहरू र आप्रवासीहरू, आदीवासी, तेस्रो लिङ्गी, र कैदीबन्दीहरूमा पनि यो उच्च देखिएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार द्वन्द्वको मारमा परेका, प्राकृतिक विपद, हिंसा, दुर्व्यवहारका पीडित, आफ्ना गुमाएका र आफुलाई एक्लो ठान्ने मानिसहरू पनि जोखिममा हुन्छन्।