कोरोना भाइरस नेपाल: महामारीबीच परीक्षाबारे शिक्षाविद्‌ले सुझाएका तीन विकल्प

"परीक्षा भनेको विद्यार्थीका लागि ठूलो कुरा हो र मनमा यसले गहिरो प्रभाव पारेको हुन्छ। यो उमेरमा पनि म जाँचमा ढिलो भएको र दौडिँदै जाँचमा गइरहेको बेलाबेला सपना देख्छु।"

"त्यसैले मेरो विचारमा शिक्षा मन्त्रालय वा सम्बन्धित निकायले विज्ञहरूसँग परामर्श गरेर परीक्षाहरूबारे सकेसम्म छिटो निर्णय लिँदा उपयुक्त हुन्छ।"

यो सुझाव मुलुककै सबैभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका भूतपूर्व उपकुलपति केदारभक्त माथेमाको हो।

कोरोनाभाइरस महामारीबीच विभिन्न तहका परीक्षाबारे अन्योल लम्बिँदै गइरहेका बेला विद्यार्थी र उनीहरूका अभिभावकमा समेत त्यसको मानसिक असर पर्ने भन्दै तत्काल टुङ्गो लगाउनुपर्ने शिक्षाविद्‌हरूको सुझाव छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सकेसम्म परीक्षाहरू गराउने सरकारको मनसाय रहेको उल्लेख गर्दै विकल्पहरूबारे छलफल भइरहेको बीबीसीलाई बताए।

कोरोनाभाइरस महामारीका कारण एसईई, कक्षा ११ र १२ का साथै विश्वविद्यालयका विभिन्न तहका परीक्षाहरू पूर्वनिर्धारित समयमा हुन पाएका छैनन्।

सरकारले चाहेमा अनेक विकल्पहरू रहेको बताउँदै त्यसका लागि इच्छाशक्ति महत्त्वपूर्ण हुने शिक्षाविद्‌हरूको तर्क छ।

प्रस्तुत छ शिक्षाविद्‌हरूले परीक्षाका सन्दर्भमा सुझाएका केही प्रमुख विकल्प -

१. आन्तरिक मूल्याङ्कनबाट

शिक्षाविद्‌हरू केदारभक्त माथेमा, विद्यानाथ कोइराला र सुशन आचार्य तीनै जना आन्तरिक मूल्याङ्कनका आधारमा एसईई, कक्षा ११ र १२ का विद्यार्थीलाई माथिल्लो तहमा पठाउन सकिनेमा सहमत छन्।

बीबीसीसित माथेमाले भने, "अहिलेलाई आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा चढाएर पछि परीक्षा लिन सकिन्छ।"

कोरोनाभाइरसको महामारीबीच विश्वको स्थापित विश्वविद्यालले समेत आन्तरिक मूल्याङ्कनबाट कक्षा चढाउने भनिसकेको पृष्ठभूमिमा त्यसलाई पछ्याउन सक्ने डा. आचार्यको तर्क छ।

विद्यार्थीहरूको मूल्याङ्कनका लागि अघिल्लो जाँचमा उनीहरूले प्राप्त गरेको अङ्कलाई आधार बनाउन सकिने डा. कोइराला बताउँछन्।

२. विद्यालयले नै परीक्षा लिने

सम्बन्धित विद्यालयलाई नै विद्यार्थीहरूको जाँच लिन लगाउने अर्को उपयुक्त विकल्प हुन सक्ने शिक्षाविद्‌द्वय कोइराला र आचार्यको सुझाव छ।

कोइराला थप्छन्, "सम्बन्धित स्कूलका शिक्षकलाई लिन लगाउने, शिक्षक आफैँले प्रश्नपत्र बनाउँछन् र दूरी कायम राख्दै जाँच लिन्छन्।"

"उत्तरपुस्तिका शिक्षकले जाँच्ने हुन्, मन्त्री वा सचिवले होइन। अतः शिक्षकलाई पत्याउनुपर्‍यो।"

आन्तरिक मूल्याङ्कन र विद्यालयले लिएको परीक्षामा विद्यार्थीको प्राप्ताङ्क जोडेर उत्तीर्ण गराउँदा हुने आचार्य बताउँछिन्।

नेपालमा कोरोनाभाइरसको सङ्क्रमणको स्थिति

३. भर्चूअल माध्यमबाट

परीक्षा लिनैपर्ने हो भने अहिलेको सूचना प्रविधिको युगमा अनेक माध्यमबाट लिन सकिने शिक्षाविद्‌हरूको तर्क छ।

त्यसका लागि इन्टरनेट, रेडिओ, टेलिभिजन, सामाजिक सञ्जालहरू लगायतका विकल्प हुन सक्ने कोइरालाको भनाइ छ।

यद्यपि ती माध्यमको खासगरी इन्टरनेटको उपलब्धतालाई हेर्नुपर्ने माथेमा र आचार्य बताउँछन्।

तर कोइराला भन्छन्, "कसैको टेलिभिजनमा त कसैको रेडिओमा मात्रै पहुँच हुन सक्छ। जहाँ जुन माध्यम उपलब्ध छ त्यसको प्रयोग गरेर परीक्षा गर्न सकिन्छ।"

क्रान्तिकारी कुरा गर्ने गरे पनि नेतृत्वमा भएकाहरूले "आँट नगरेकाले परीक्षाको विषय जटिल भएको देखिएको" कोइराला र आचार्यको दाबी छ।

"क्रान्तिकारी कुरा गर्ने तर पनि नयाँ ढङ्गले अघि बढ्नै नचाहने सोचले यो अड्किएको हो," शिक्षाविद्‌ आचार्य थप्छिन्।

के भन्छ सरकार?

तर शिक्षामन्त्री गिरिराजमणि पोखरेल यी तर्कसँग सहमत देखिँदैनन्।

नेपाली समाजको मानसिकता परीक्षामुखी खालको भएको तर्क गर्दै उनले भने, "कक्षा ११ को हकमा सोच्न सकिन्छ तर कक्षा १० को जाँच गराउनैपर्ने अवस्था छ।"

"कक्षा १२ को परीक्षा त झन् विद्यालय शिक्षाको अन्तिम भएको कारणले यो वर्ष नभए अर्को वर्ष सार्नुपर्ने हुन्छ," मन्त्री पोखरेलले थपे।

यद्यपि विभिन्न विकल्पबारे छलफल भइरहेको भन्दै उनले निष्कर्षमा अझै पुगिनसकेको बताए।

शिक्षामन्त्री पोखरेलले देशव्यापी जारी लकडाउन सकिएको केही हप्तापछि जाँच गराउन सकिने भएकोले त्यसैअनुसार तयार रहन आफूले भनिसकेको उल्लेख गरे।

तर स्पष्ट खाका अघि सारेर विद्यार्थी र अभिभावक दुवैलाई तनावमुक्त बनाउन शिक्षाविद्‌ आचार्यको सुझाव छ।

उनी भन्छिन्, "पढाउने र पढ्ने कुराको अनुगमन नगर्ने तर जाँच र नम्बर दिने कुरामा किन यसरी झुन्डिरहेका छन्, मैले बुझ्न सकेको छैन।"