तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपालः एकै दिन सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि, कुल सङ्ख्या १५ हजार नाघ्यो
नेपालमा विगत २४ घण्टामा थप ७४० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो। यससँगै शुक्रवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १५,२५९ पुगेको छ।
तीमध्ये ६,१४३ जना निको भएका र ३२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८२३ सङ्क्रमित भाइरसमुक्त भएर घर फर्किएका छन् भने असार १७ मा मृत्यु भएका एक व्यक्तिमा पनि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
अहिलेसम्म प्रदेश नं ५, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ भएका व्यक्तिको सङ्ख्या सर्वााधिक छ।
कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।
बिहीवार मन्त्रालयले ४७३ जनामा सङ्क्रमण पुष्टि गरेको थियो भने एकै दिन सर्वाधिक ६६४ जना भाइरसमुक्त भएर घर फिर्ता भएका थिए।
यसअघि गत असार ४ गते एकै दिन सर्वाधिक ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।
को हुन् मृतक?
मन्त्रालयका अनुसार असार १७ गते राति काठमाण्डूको एउटा अस्पतालमा मृत्यु भएका एक व्यक्तिमा पनि कोरोनाभाइरस पुष्टि भएको छ।
उनी नयाँबानेश्वर निवासी ८५ वर्षीय वृद्ध भएको डा. गौतमले बताए। ती व्यक्ति पार्किन्सन्स रोगबाट पीडित थिए।
छाती दुखेको र पिसाब कम भएकाले उनलाई अस्पताल भर्ना गरिएको थियो।
को हुन् सङ्क्रमित?
अहिले पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। उनीहरू विभिन्न उमेरका समूहका भए पनि युवाको बाहुल्य छ।
कुल ७४० जनामध्ये १३४ महिला र ६०६ महिला छन्।
अहिले अछाम जिल्लामा सर्वाधिक २३० जनामा सङ्क्रमण पुष्टि भएको हो।
त्यसैगरी बाजुरामा ५३, कैलालीमा ५१ , कञ्चनपुरमा ४३, बैतडीमा ३२, डडेलधुरामा २८, डोटीमा २४ र सिरहामा २४ सङ्क्रमित फेला परेका हुन्।
के छ अरू तथ्याङ्क?
अहिले सबै ७७ वटा जिल्लामा कोभिड-१९ पुगिसकेको छ। आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९,०८४ छ।
महोत्तरी, रौतहट, सर्लाही, कपिलवस्तु, पाल्पा, दाङ, दैलेख र कैलाली जिल्लामा सङ्क्रमितको कुल सङ्ख्या ५०० नाघेको छ।
निको भएकाबाहेक अहिले सुदूरपश्चिम प्रदेशमा सर्वाधिक २,८४९ सङ्क्रमित छन् भने प्रदेश नं ५ मा २,१५७ र प्रदेश नं २ मा २,१२४ जना छन्।
विभिन्न जिल्लामा ३५,००० भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।
क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।
परीक्षणको दायरा 'अझ फराकिलो'
डा. गौतमका अनुसार शुक्रवारबाट परीक्षणको दायरा अझ फराकिलो बनाइएको छ।
उनका अनुसार अब क्यान्सर तथा मधुमेह भएका बिरामी, इमर्जेन्सीमा आउने बिरामी, आईसीयूमा भर्ना भएका बिरामी, पकेट एरियाम बस्ने मानिस र स्वास्थ्यकर्मीहरूमा पनि कोरोनाभाइरसको परीक्षण हुनेछ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४,४८३ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।
यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या २,४२,२४७ पुगेको छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा