कोरोना भाइरस नेपाल: थप ४७३ जना सङ्क्रमित, एक जना शिशुको मृत्यु, ६६४ जना निको

कोरोनाभाइरस सङ्क्रमणका कारण एक जना ४९ दिनको शिशुको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

जेठ ९ गते त्रिविवि शिक्षण अस्पताल भर्ना गरिएका शिशु भेन्टीलेटरमा उपचाररत थिए।

यससँगै कोरोनाभाइरसका कारण नेपालमा ३१ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

त्यस्तै नेपालमा विगत २४ घण्टामा थप ४७३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ।

यो वृद्धिसँगै बिहीवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १४,५१९ पुगेको छ।

तीमध्ये ५,३२० जना निको भएका छन्। तीमध्ये गत २४ घण्टामा ६६४ जना निको भएका थिए।

अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९,३६० भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

दैनिक निको हुनेहरूको सङ्ख्या यो अहिलेसम्मकै उच्च हो। बुधवार ४६२ जना निको भएका थिए।

अहिलेसम्म प्रदेश नं ५ र प्रदेश नं २ मा कोभिड-१९ भएका व्यक्तिको सङ्ख्या सर्वाधिक छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।

मृतक को हुन्?

कोरोनाभाइरसका कारण ४९ दिनको शिशुको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाण्डूमा असार १७ गते बुधवार साँझ मृत्यु भएको हो।

म्याग्दी जिल्ला धौलागिरी नगरपालिकाका शिशुलाई जेठ २ गते शिक्षण अस्पताल भर्ना गरिएको र मृगौला एवम् नाकको समस्याका कारण आईसीयूमा राखी उपचार भइरहेको डा. गौतमले बताए।

कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ।

के छ अरू तथ्याङ्क?

अहिले सबै ७७ वटा जिल्लामा कोभिड-१९ पुगिसकेको छ।

विभिन्न जिल्लामा ३८,१०९ जना व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४,५३७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

ससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या २,३७,७६४ पुगेको छ।

क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।