तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जलवायु परिवर्तन: तपाईँले थोरै इमेल पठाउँदा के साँच्चै पृथ्वीको आयु लम्बिन्छ
- Author, डेभिड मोलोई
- Role, प्रविधि संवाददाता
के तपाईँ अरूलाई धन्यवाद भन्न बारम्बार इमेल पठाउनुहुन्छ?
यदि त्यसो हो भने पर्यावरण संरक्षणका लागि यूकेका अधिकारीहरूले खोजी गरिरहेका विकल्पअनुसार अब तपाईँले आफ्नो बानी परिवर्तन गर्नुपर्छ।
फाइनान्शल टाइम्समा प्रकाशित विवरणअनुसार हामी सबैलाई चाँडै नै एक दिनमा थोरै इमेल पठाउन प्रोत्साहन गरिनेछ।
त्यसका लागि "धन्यवाद" मात्र लेखिने एक हरफका "अनावश्यक इमेलहरू"मा कटौती गर्नुपर्नेछ।
त्यसो गर्नाले "कार्बन उत्सर्जन कम हुन्छ" आगामी वर्ष ग्लास्गोमा हुने सीओपी-२६ जलवायु सम्मेलनमा संलग्न एक अधिकारी भन्छन्।
तर के यसले साँच्चै ठूलै भिन्नता ल्याउला त?
इमेलले कसरी कार्बन उत्सर्जन गर्छ?
अधिकांश मानिस इन्टरनेट उनीहरूको कम्प्युटरबाहिर क्लाउडमा अस्तित्वमा रहेको छ भन्ठान्छन्।
तर वास्तविक रूपमा जब तपाईँ एउटा इमेल वा अन्य केही पठाउनुहुन्छ- यो ऊर्जा खपत गर्ने विद्युतीय साधनहरूको सञ्जाल हुँदै जान्छ।
तपाईँको वाईफाई राउटरले तारहरू (इमेल वा सन्देशहरू) सहितको सिग्नल स्थानीय एक्स्चेन्जमा पठाउँछ।
त्यो भनेको सडक छेउमा हुने एकखाले हरियो बाकस हो है!
अनि त्यहाँबाट त्यो तारसहितको सङ्केत दूरसञ्चार कम्पनी, त्यसपछि ठूला प्रविधि कम्पनीको स्वामित्वमा रहेका विशाल डेटा सेन्टरहरूमा पुग्छ।
त्यहाँबाट फेरि उस्तैगरी दूरञ्चार कम्पनी, स्थानीय एक्स्चेन्ज हुँदै सन्देश प्राप्त गर्नेको कम्प्युटरमा पुग्छ।
यी हरेक प्रक्रियामा विद्युत् खपत हुन्छ र यो हरेक चरणमा थपिँदै जान्छ।
तर यो ठूलो पूर्वाधारमा एउटा मात्र इमेलको असर भने निकै थोरै हुन्छ।
के मेरा इमेलहरूले समस्या सिर्जना गरेका छन्?
फाइनान्शल टाइम्सको विवरणअनुसार यो योजनालाई प्रवर्धन गरिरहेका अधिकारीहरूले एक वर्षअघि नवीकरणीय विद्युत् कम्पनी ओभो एनर्जीले एक वर्षअघि जारी गरेको प्रेस वक्तव्यलाई उद्धृत गर्ने गरेका छन्।
त्यसमा प्रत्येक ब्रिटिश नागरिकले एउटा "धन्यवाद इमेल" मात्रै पठाउन कम गर्दा १६,४३३ टन कार्बन उत्सर्जन हुनबाट जोगिने उल्लेख गरिएको छ। त्यो भनेको युरोपमा हुने दशौँ हजार उडानले निकाल्ने बराबर हो।
यूकेको वार्षिक ग्रीनहाउस ग्यास उत्सर्जन सन् २०१९ मा ४३ करोड ५२ लाख टन थियो।
त्यसैले यहाँ राष्ट्रिय तस्बिरमा उक्त उत्सर्जन घट्ने भनेको ०.००३७ प्रतिशत हो। त्यो पनि यदि हरेक ब्रिटिशले आफ्नो इमेल सङ्ख्या घटाए भने मात्र सम्भव छ।
यस विषयमा शोध गर्ने प्राध्यापक माइक बर्नर्स-लीले फाइनान्शल टाइम्सलाई यो सन् २०१० को "ब्याक-अफ-इन्भलोप" गणनाका आधारमा निकालिएको नतिजा भएको बताएका छन्।
यूनिभर्सिटी अफ ब्रिस्टलका दिगोपन तथा कम्प्युटर प्रणालीका प्राध्यापक क्रिस्ट प्रिस्ट एउटा इमेलले कति कार्बन उत्पादन गर्छ भन्ने कुरा हरेक संलग्न कुराहरूमा निर्भर हुने बताउँछन्।
यस्ता कुरामा सर्भर, तपाईँको घरायसी वाईफाई, तपाईँको ल्यापटपदेखि थोरै कार्बन उत्सर्जन गर्ने डेटा सेन्टरको भवन निर्माणसम्म संलग्न छन्।
प्राध्यापक प्रिस्ट भन्छन्, "वास्तवमा धेरै प्रणालीले अहिले पनि असर गर्छन् चाहे इमेल पठाइयोस् वा नपठाइयोस्।"
"तपाईँको ल्यापटप, वाईफाई, घरायसी इन्टरनेट अझै अन हुसक्छ, इमेलको सङ्ख्या घटाइए पनि व्यापक सञ्चालले लगभग उस्तै ऊर्जा खपत गरिरहेको हुनसक्छ।"
उनी डेटा सेन्टरहरूले केही कम सर्भरहरू प्रयोग गरेमा त्यसबाट कार्बन उत्सर्जन केही कम गर्न सकिने भए पनि त्यो प्रति इमेल एक ग्रामभन्दा कम हुने बताउँछन्।
के कुराले फरक प्रभाव पार्छ?
केही अध्येताहरू कम असर पार्ने इमेलहरूमा चिन्ता गर्नुको साटो हाम्रो ध्यान धेरै असर गर्ने गेम, भिडियो स्ट्रीमिङ र क्लाउड स्टोरमा केन्द्रित हुनुपर्ने बताउँछन्।
तर यो विषय निकै जटिल छ किनकि कसरी यो अनुमानको गणना गरिन्छ र कसलाई जिम्मेवार बनाउने भन्ने प्रश्न खडा हुन्छ।
उदाहरणका लागि गुगलजस्ता ठूला प्रविधि कम्पनीले पर्यावरण परियोजनाका लागि आफूले उत्सर्जन गर्ने कार्बन बराबरको छुट दिएर गर्वका साथ आफूहरू "कार्बन न्यूट्रल" अर्थात् तटस्थ रहेको भनिरहेका छन्।