तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रचण्ड-नेपालसँगको छलफल ‘प्रतिगमन’बारे: कांग्रेस नेता रामचन्द्र पौडेल
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपाका नेताद्वय प्रचण्ड र माधवकुमार नेपालसँग गरेको भेटलाई निकै चासोपूर्वक हेरिएको छ।
दुवै पक्षले आधिकारीक रूपमा केही नबताएको उक्त छलफलबारे नेता पौडेलले बीबीसीलाई सङ्क्षिप्त जानकारी दिएका छन्। सत्ताधारी नेकपाभित्र विवाद उग्र बनेको देखिएका बेला उनीहरूबीच शुक्रवार भेट भएको थियो।
प्रचण्ड र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिन सक्नेतर्फ पौडेललाई सतर्क बनाएको खबर बाहिर आएका छन्।
त्यसबारे के कुरा भएको हो? जवाफमा पौडेलले भने, "होइन, त्यस्तो केही थिएन।"
पौडेलको 'परिवर्तन डुब्ने चिन्ता'
नेता पौडेलले आफ्नैआग्रहमा उक्त भेट भएको जानकारी दिए। 'परिवर्तन विरोधी' गतिविधिबारे छलफल गर्ने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ।
पौडेलले भने, "देशमा अहिले जुन किसिमको प्रतिगमनका स्वरहरू उठिरहेका छन् नि परिवर्तनका पक्षधरहरूले सोच्नुपर्यो, खेल्न दिनु भएन। यत्रो सङ्घर्ष गरेर ल्याएको परिवर्तन डुब्ने गरेर हामीले कुनै क्रियाकलाप गर्न हुन्न भन्ने मात्र मेरो चिन्ता हो।"
पछिल्ला दिनहरूमा सडकमा राजसंस्था पुनर्वहालीको माग उठिरहेको छ। तर त्यसैकारण धेरैले नपत्याएको ठानिएको सङ्कटको सम्भावना नेता पौडेलले देखेका हुन्?
"सङ्कटको सम्भावना देखेको त होइन। तर पनि ख्यालख्याल गर्दा गर्दै के हुन्छ कसो हुन्छ, अहिले जुन किसिमको आवाज एकाएक सडकमा उठिरहेका छन्, त्यसैबारे के छ तपाईँहरूको भनेर उहाँहरूलाई सोधेको हो," पौडेलले सुनाए।
प्रचण्ड-नेपाल पक्षले पार्टीभित्र चर्को विवादकाबीच प्रधानमन्त्रीले 'आकस्मिक कदम उठाउने' आशङ्का समेत व्यक्त गरेको पाइन्छ।
'गरिखानुस् भनेँ मैले'
प्रचण्डले पार्टीमा प्रस्तुत गरेको दस्तावेजमा पनि त्यसको सङ्केत पाइन्छ।
पौडेलका अनुसार प्रचण्ड-नेपालले नेकपाभित्रको विवादबारे 'आफूहरूबीच समस्या रहेको' सुनाएका थिए।
"त्यो तपाईँहरू जान्नुस् भनेँ," पौडेलले हाँस्दै सुनाए, "जनताले तपाईँहरूलाई सरकार चलाउन दिए, गरिखानुस्, हामी पाँच वर्ष ढुक्कै छौँ भन्दिएँ मैले त।"
नेकपा विभाजित भएमा आफूलाई सघाउन आग्रह पनि गरे कि? पौडेलको सङ्क्षिप्त जवाफ थियो, "त्यस्तो त केही होइन, त्यति धेरै चासो लिइन।"
नेता पौडेल हालै एउटा कार्यक्रमका सिलसिलामा गृहजिल्ला तनहुँमा पक्राउ परेका थिए।