युक्रेन सङ्कट: रुसी आक्रमण कुनै पनि दिन सुरु हुनसक्ने अमेरिकाको चेतावनी

बेलारुसमा रुसी सेना

तस्बिर स्रोत, EPA

युक्रेनमाथि ''कुनै पनि बेला'' आक्रमण गर्नका लागि रुसी सैन्य बल तयार रहेको चेतावनी दिँदै आफ्ना नागरिकहरूलाई ४८ घण्टा भित्रमा युक्रेन छाड्न अमेरिकाले आग्रह गरेको छ।

हवाई बम आक्रमण सुरु हुनसक्ने हुँदा त्यहाँबाट निस्कन अप्ठ्यारो पर्न सक्ने र त्यसले सर्वसाधारणहरूलाई खतरामा पार्न सक्ने शुक्रवार ह्वाइट हाउसले जनाएको छ।

युक्रेनसँगको सीमा नजिकै एक लाख भन्दा बढी सेना तैनाथ गरिएको भए पनि रुसले आक्रमणको योजना अस्वीकार गर्दै आएको छ।

यूके, क्यानडा, नेदरल्यान्ड्स, लाटभिया, जापान र दक्षिण कोरियाले पनि आफ्ना नागरिकलाई युक्रेन छाड्न आग्रह गरेका छन्

रुसी विदेश मन्त्रालयले पश्चिमा राष्ट्रहरूलाई गलत सूचना फैलाएको आरोप लगाएको छ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलेभनले रुसी सेनाहरू अब ''ठूलो सैन्य कारबाही अघि बढाउन सक्षम रहने स्थितिमा'' रहेको बताएका छन्।

युक्रेन तनाव

तस्बिर स्रोत, AFP VIA GETTY IMAGES

आफ्नो प्रशासनलाई आक्रमण बारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम निर्णय गरे / नगरेको जानकारी नरहेको तर क्रेमलीनले सैन्य कारबाहीको औचित्य सिद्ध हुने बहाना खोजिरहेको हुँदा तीव्र हवाई बम आक्रमणबाट थप कारबाही सुरु हुनसक्ने सलेभनले बताए।

यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले पनि युक्रेनमा रुसी आक्रमण जुनसुकै बेला सुरु हुनसक्ने बताएका थिए।

अस्ट्रेलिया भ्रमणका क्रममा उनले सीमावर्ती क्षेत्रमा थप सैन्य अधिकारीहरू आएसँगै तनावका बढ्दो सङ्केतहरू अमेरिकाले देखेको बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, के रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको हो?

''हामी यस्तो अवधिमा छौँ जहाँ जुनसुकै बेला आक्रमण सुरु हुन सक्छ। त्यो शीतकालीन ओलिम्पिक्सकै समयमा पनि हुन सक्छ,'' उनले भने।

रुसले उत्तर एटलान्टिक सन्धि सङ्गठन, नेटोसँग युक्रेनले कहिल्यै उक्त सङ्गठनमा सामेल हुन नपाउने विषय सुनिश्चित गर्न माग गरेको छ। तनाव कम गर्नका लागि कूटनीतिक पहल जारी छ।

बाइडनले यदि रुसले हमला गरेमा उद्धारका लागि सेना नपठाइने भन्दै आफ्ना नागरिकहरूलाई सजग गराएका छन्।

पृष्ठभूमि्

रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा लिएको र पूर्वी डोनबास क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको झन्डै आठ वर्षपछि तनाव पुन: चर्केको हो।

मस्कोले युक्रेन सरकारलाई पूर्वी क्षेत्रमा शान्ति पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सम्झौताहरू लागु गर्न असफल भएको आरोप लगाएको छ।

त्यस क्षेत्रमा हालसम्म कम्तीमा १४,००० मानिसको ज्यान गइसकेको छ र रुस समर्थित विद्रोहीहरूले अधिकांश क्षेत्रहरू नियन्त्रण गरेका छन्।

सीमाक्षेत्रमा रुसी ट्याङ्कर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, रुस-युक्रेन सीमाक्षेत्रमा रुसी बख्तरबन्द गाडीहरू

युक्रेनमा रुसी आक्रमणको निरन्तरको चिन्तामाझ गत साता युरोपमा थप सेना पठाउने पेन्टागनले जनाएको थियो।

अमेरिकी सैनिकहरूले युक्रेनमा लड्ने छैनन् तर अमेरिकी साझेदारको सुरक्षा गर्न काम गर्नेछन्।

उक्त अमेरिकी निर्णयलाई रुसले "विनाशकारी" कदम भनेको छ।

विश्वका सबैभन्दा ठूला आणविक हतियार भएका रुस र अमेरिका बीचको शीतयुद्ध कालदेखि द्वन्द्व रहेको छ।

युक्रेन कम्युनिस्ट सोभियत सङ्घको महत्त्वपूर्ण हिस्सा रहेको थियो।

2px presentational grey line
भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेनका स्वयंसेवी लडाकुहरू