काठमाण्डू-रक्सौल रेलमार्गको निर्माण कहिलेबाट शुरू होला

काठमाण्डू-रक्सौल रेलमार्गबारे भारतीय पक्षले हालै सर्वेक्षण पूरा गरेसँगै उक्त महत्त्वाकाङ्क्षी परियोजनाबारे विभिन्न चर्चापरिचर्चा हुन थालेको छ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने जिम्मेवारी पाएको भारतको कोंकण रेलवे कर्पोरेशन लिमिटेडले सर्वेक्षण रिपोर्ट भारतीय रेलवे बोर्डलाई बुझाइसकेको अधिकारीहरूले बताएका छन्।

कोंकण रेलवेले अठार महिना लगाएर उक्त रेलमार्गसम्बन्धी सर्वेक्षण पूरा गरेको नेपालको रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले बताए।

“उहाँहरूले सर्भे चाहिँ पूरा गरिसक्नुभयो। हामीलाई रिपोर्ट बुझाउन बाँकी छ,” बीबीसीसँग उनले भने।

भारतको अनुदान सहयोगमा भारतीय कम्पनीमार्फत् भारतीय प्राविधिकहरूले नै अध्ययन गरेका हुन्।

हाल नेपाल र भारतका सीमावर्ती क्षेत्रलाई जोड्ने रेलमार्ग भए पनि काठमाण्डूसँग जोड्ने यो पहिलो रेलमार्ग हुनेछ।

सन् २०१८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाण्डू-रक्सौल रेलमार्गबारे अध्ययन गर्न एक समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

सर्वेक्षणले के देखाएको छ?

महानिर्देशक बिसुरालका अनुसार काठमाण्डू-रक्सौलबीच लगभग १४१ किलोमिटर लामो रेलमार्ग हुनेछ।

“रेलमार्ग निर्माणका लागि तीन खर्ब ८४ अर्ब रुपैयाँ लाग्ने देखिन्छ। त्यसमा जग्गा अधिग्रहण बापत लाग्ने रकम अझ थपिन्छ,” उनले थपे।

उक्त रेलमार्ग निर्माणका लागि करिब १,४६० हेक्टर जग्गा अधिग्रहण गर्नुपर्ने देखिन्छ।

काठमाण्डूदेखि रक्सौलसम्म कुल १२ वटा रेलवे स्टेशन बनाउनुपर्ने अध्ययनले देखाएको महानिर्देशक बिसुराल बताउँछन्।

बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलदेखि नजिकै पर्नेगरी रुट प्रस्ताव गरिएको छ।

त्यसपछि प्राविधिक मापदण्ड अनुसार कसरी घुमाउँदा सजिलो पर्छ भन्ने कुरा हेरिने रेल विभागले जनाएको छ।

“अब्लिगेटरी पोइन्ट भनेको रक्सौलबाट आइसकेपछि प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल छेउछाउ हुँदै काठमाण्डू आउँदा निर्माणाधीन काठमाण्डू-तराई द्रुतमार्गकै समानान्तर हुन्छ,” महानिर्देशक बिसुरालले भने।

काठमाण्डू-रक्सौल रेलमार्गअन्तर्गत सुरुङको मात्र लम्बाइ करिब ४१ किलोमिटर हुने अध्ययनलाई उद्धृत गर्दै अधिकारीहरूले बताएका छन्।

बिसुरालका अनुसार रेल प्रतिघण्टा १६० किलोमिटर गुड्नेछ।

“बाह्रवटा स्टेशन हुने भएकोले सबै समय जोड्दा बढीमा डेढ वा दुई घण्टा लाग्ला। नत्र त्यसको डिजाइन स्पीडको कुरा गर्ने हो भने एक घण्टाभन्दा पनि कम लाग्ला,” उनले थपे।

कहिलेबाट बन्न थाल्ला?

उक्त रेलमार्ग निर्माण कहिलेबाट शुरू हुन्छ भन्ने प्रश्नको जवाफ आफूहरूसँग अहिले नभएको अधिकारीहरू बताउँछन्।

त्यसैगरी रेलमार्ग निर्माणमा कति समय लाग्छ भन्ने कुरा पनि अहिले थाहा भइनसकेको उनीहरूको भनाइ छ।

“अहिले अध्ययन रिपोर्ट तयार भएको हो। कसले र कहिलेदेखि बनाउने भन्नेबारे कुरा हुनै बाँकी छ। रिपोर्ट आइसकेपछि त्यसमा छलफल भएर त्यो पक्षबारे थाहा होला,” महानिर्देशक बिसुरालले भने।

“उपयुक्त समयमा रिपोर्ट बुझाउँछौँ भनेर उहाँहरूले हामीलाई भन्नुभएको छ। त्यहाँको रेल मन्त्रालयले अनुमोदन गरेपछि नै हामीलाई बुझाउने हो।”

रेल विभागका अधिकारीहरूका अनुसार काठमाण्डू-रक्सौल रेलमार्ग एउटा महत्त्वपूर्ण र देशकै गौरवको आयोजना हुनेछ जुन निर्माणको हिसाबले सम्भव पनि देखिन्छ।

नेपालका धेरै आयात भारत भएरै हुने भएकोले यसबाट धेरै सस्तो पर्ने अधिकारीहरू दाबी गर्छन्।

भारतसँग भएको समझदारीअनुसार यसअघि सन् २०१९ मा भारतीय पक्षले गरेको पहिलो प्रारम्भिक अध्ययनले काठमाण्डू-रक्सौल रेलमार्ग निर्माणका लागि विभिन्न चारवटा वैकल्पिक रूट प्रस्ताव गरेको थियो।

पछिल्लो अध्ययनमा तीमध्ये कुन प्रस्ताव गरिएको छ अथवा त्यसमा संशोधन गरिएको छ भन्नेबारे नेपाली अधिकारीहरूले केही बताएका छैनन्।