के इरान युद्धले उत्तर कोरियाका नेता किम जङ अनमा त्रास उत्पन्न गराएको छ?

    • Author, साङ्मी हान
    • Role, बीबीसी न्यूज कोरियन
    • Reporting from, सोल
  • पढ्ने समय: ६ मिनेट

अमेरिका र इजरेलले इरानमाथि आक्रमण गरेपछि किम जङ अनको मनमा पक्कै पनि केही जटिल सोचहरू पलाएको हुनुपर्छ।

उक्त युद्धलाई "औचित्यहीन आक्रामक" कार्य भन्दै उत्तर कोरियाले तत्कालै निन्दा गरेको थियो।

हुन पनि इरान र उत्तर कोरियाबीच सन् १९७९ यता "अमेरिकाविरोधी अग्रमोर्चा गठबन्धन" बनेको थियो। उनीहरूले क्षेप्यास्त्र विकासमा पनि साझेदारी गरेका थिए।

उत्तर कोरियाको हतियार निर्यातको एक प्रमुख गन्तव्य इरान रहँदै आएको भूतपूर्व एक उत्तर कोरियाली कूटनीतिज्ञले नाम नखुलाउने सर्तमा बीबीसीलाई बताए।

तर दुईवटा विषयले उत्तर कोरियालाई इरानभन्दा निकै सहज स्थानमा राखेको विश्लेषकहरू ठान्छन् - परमाणु अस्त्र र चीन।

सन् २००३ को इराक युद्धताका, हाल दिवङ्गत नेता किम जङ इल ५० दिन बेपत्ता भएका थिए। दक्षिण कोरियाली खुफिया निकायका अनुसार त्यतिखेर अधिकांश समय उनी राजधानी प्योङ्याङबाट ६०० किमि पर साम्ज्योन परिसरमा रहेको बङ्करभित्र लुकेका थिए।

त्यसको तुलनामा अहिले उनका छोरा किम जङ अन सार्वजनिक नजरबाट बिलाएका छैनन् - इरानका सर्वोच्च नेता अली खामेनेई आक्रमणमा मारिएपछि पनि।

यति धेरै भिन्न किसिमका प्रतिक्रियाले उत्तर कोरियामा आफ्नो शक्तिलाई लिएर बढिरहेको आत्मविश्वास झल्काउने दक्षिण कोरियाको न्याश्नल इन्टेलिजन्स सर्भिसअन्तर्गतको उत्तर कोरिया विश्लेषण टोलीका पूर्वनिर्देशक याङ् योङ्-सोकले बताए।

'परमाणु शक्तिसरह'

उत्तर कोरिया यथार्थमा परमाणु शक्ति हो - सन् २०२५ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि उक्त देश "परमाणु शक्तिसरह" भएको र ऊसँग "थुप्रै परमाणु अस्त्र रहेको" बताएका थिए।

स्टकहोम इन्टर्न्याश्नल पीस रिसर्चको सन् २०२५ को प्रतिवेदनअनुसार उत्तर कोरियासँग ५० परमाणु युद्धशीर्ष तथा थप ४० बनाउन पुग्ने 'फिसाइल' सामग्री छ। सन् २०२४ को जुलाईमा उत्तर कोरिया सामरिक परमाणु अस्त्र निर्माणको "अन्तिम चरण"मा पुगेको भनेर दक्षिण कोरियाले चेतावनी दिएको थियो। 'ट्याक्टिकल' भनिने त्यस्ता परमाणु अस्त्रको क्षमता छोटो दूरीको हुन्छ र युद्धमैदानमा प्रयोगका लागि बनाइन्छ।

गत वर्ष दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरिया अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र बनाउने चरणको निकट पुगेको बताएका थिए। त्यस्तो क्षेप्यास्त्रले परमाणु अस्त्र बोकेर अमेरिकी भूमिसम्म मार हान्न सक्छ - तथापि क्षेप्यास्त्रलाई निर्देशन गर्ने प्रणाली अनि माथि आकाशबाट तल झर्दा पनि युद्धशीर्ष सकुशल राख्न सक्ने उसको क्षमताबारे भने प्रश्नहरू बाँकी छन्।

संयुक्त राष्ट्रसङ्घको इन्टर्न्याश्नल एटमिक एनर्जी एजेन्सी (आईएईए)का अनुसार इरानसँग "ठूलो र महत्त्वाकाङ्क्षी परमाणु कार्यक्रम" थियो तर ऊसँग "परमाणु अस्त्र उत्पादनको संयोजित कार्यक्रम" पनि रहेको प्रमाण भने उसले देखेको थिएन।

सन् २०१५ मा भएको परमाणु सम्झौतामा इरानले उसको युरेनिअम प्रशोधन कार्यक्रमलाई थप नियन्त्रित बनाउन सहमति जनाएको थियो। आईएईएले गर्ने निरीक्षण पनि विस्तार गरिएको थियो, जसले गर्दा इरानको परमाणु कार्यक्रमको गति कटौती गर्न मद्दत पुगेको एशिअन इन्स्टिट्यूट फर पोलिसी स्टडिजका मध्यपूर्वविज्ञ जाङ जी-ह्याङले बताए।

तर सन् २०१८ मा ट्रम्प एकपक्षीय रूपमा सम्झौताबाट पछि हटेपछि इरानले उसका परमाणु संरचनाहरूमा आईएईएलाई दिँदै आएको पहुँच सीमित गरिदिएको थियो। सन् २०२५ को जुनमा इजरेलसँगको युद्धपछि इरानले उक्त निकायसँग सबै सहयोग सम्पर्क बन्द गरेको गत महिना एपी न्यूज एजेन्सीले जनाएको थियो।

उत्तर कोरियाले सन् २००६ मा पहिलो परमाणु परीक्षण गरेको थियो र तीन वर्षपछि उसले सबै आईएईए निरीक्षकहरूलाई देशबाट निकालिदिएको थियो। त्यसयता उसले थप पाँचवटा परमाणु परीक्षण गरिसकेको छ - सबैभन्दा पछिल्लोपटक सन् २०१७ मा।

विगतमा अमेरिकासँग सम्पर्कमा रहन उत्तर कोरिया इच्छुक थियो, त्यसै कारण दुई देशका नेताबीच सन् २०१८ र २०१९ मा गरी दुई पटक ऐतिहासिक भेटवार्ता भए। किम उनको देशमाथि लागेको अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्ध खुलाउन चाहन्थे र त्यसको बदला योङ्ब्योन परमाणु केन्द्र विघटन गर्न प्रस्ताव गरेका थिए। तर ट्रम्पले चाहिँ थप माग राखे र आखिरमा वार्ता भङ्ग भयो।

युक्रेनको युद्धले गर्दा रुससँग निकटता बढाएको र त्यसले आवश्यक आर्थिक तथा सैन्य सहयोग उपलब्ध हुने हुँदा उत्तर कोरिया अहिले आत्मविश्वासपूर्ण देखिएको अमेरिकी शोधसंस्था स्टिमसन सेन्टरको कोरिया प्रोग्रामकी जेनी टाउनले बताइन्।

ट्रम्प र किमबीच राम्रै सम्बन्ध रहेको पनि देखिन्छ। गत वर्ष अमेरिकी राष्ट्रपतिले उनको प्रशंसा गरेका थिए।

"ट्रम्पसँग काम गर्दा विशिष्ट अवसर प्राप्त हुने" किमलाई थाहा छ तर उनले "सो सम्बन्ध पुनर्स्थापित गर्न कुनै त्याग" भने गर्ने छैनन्।

तथापि इरान युद्धको निन्दा गर्ने क्रममा उत्तर कोरियाले सोझै ट्रम्पलाई गाली गरेन। अनि गत महिना भएको पार्टी सम्मेलनमा उत्तर कोरियाले उसको हैसियतको सम्मान गरिने हो भने अमेरिकासँग असल सम्बन्ध कायम गर्ने जनायो - जसको अर्थ उसले वार्ताका निम्ति ढोका खुलै राखेको भन्ने लाग्छ।

चीन, रुस र 'परमाणु बन्दी'

भूगोल उत्तर कोरियाकै पक्षमा देखिन्छ - उसको सिमाना चीनसँग जोडिएको छ र चीनले उसलाई अमेरिका र अमेरिकाको साझेदार दक्षिण कोरियाविरुद्ध महत्त्वपूर्ण साझेदार मान्छ। यदि उत्तर कोरियाली सत्ता ढल्यो भने चीनतर्फ शरणार्थीको ओइरो लाग्न सक्छ।

त्यसकारण ऐतिहासिक रूपमै यी दुई कम्युनिस्ट देशहरूबीचको सम्बन्धलाई "ओठ र दाँत" जति निकट भनेर भन्ने गरिन्छ। सन् १९६१ यता चीनले आपसी रक्षा सन्धिमार्फत् उत्तर कोरियामा अतिक्रमण भए आफूले रक्षा गर्ने वाचा गरेको छ - बेइजिङ्ले यस्तो सन्धि यही एउटा मात्र गरेको छ।

त्यसो भन्दैमा उत्तर कोरियालाई चीनले सधैँ उत्तम साझेदार मान्छ भन्ने होइन किनकि उसको परमाणु अस्त्र विस्तारले सो क्षेत्रलाई अस्थिर बनाउँछ। सोल न्याश्नल यूनिभर्सिटीका भिजिटिङ रिसर्चर जाङ योङ-सोकका अनुसार उत्तर कोरियाको रुससँगको बढ्दो सम्बन्धबाट पनि चीन धेरै खुसी नहुन सक्छ - खास गरी ती दुई देशले सन् २०२४ मा रक्षा सम्झौता गरेपछि।

तर पनि उनी भन्छन्, "चीनका निम्ति उत्तर कोरियाको रणनीतिक स्वार्थ छ… र आफ्ना रणनीतिक स्वार्थहरूमा चीन निकै दृढ रहने गर्छ, जसबारे किम जङ अन जानकार छन्।"

भौगोलिक निकटताका कारण उत्तर कोरियाले दक्षिण कोरिया र जापानलाई "परमाणु बन्दी" सरह बनाउने गरेको एशिअन इन्स्टिट्यूटका जाङले भने।

दुई कोरियालाई बीचमा रहेको २५० किमि लामो र ४ किमि चौडा असैनिकीकृत क्षेत्र (डिमिलिटराइज्ड जोन वा डीएमजी)ले छुट्ट्याउँछ। ती देशका राजधानी केवल २०० किमि वरपर छन्।

अर्थात् सोल मेट्रोपोलिटन एरिया - जसमा इन्चिअनसमेत पर्छ - उत्तर कोरियाको सोझो प्रहार क्षेत्रभित्र पर्ने जाङले बताए। उनी विगतमा दक्षिण कोरियाको न्याश्नल इन्टेलिजन्स सर्भिसमा सम्बद्ध थिए।

"इजरेल, अमेरिका वा अन्य मध्यपूर्वी देशहरूजस्तो दक्षिण कोरियाले क्षेप्यास्त्र प्रतिरोध गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न बाँकी छ," उनले भने।

जापान पनि उत्तर कोरियाको सोझो प्रहार गर्न सक्ने क्षेत्रभित्रै पर्छ र उत्तर कोरियाले परीक्षणहरूका दौरान बारम्बार जापान सागरमा क्षेप्यास्त्र प्रहार गर्ने गरेको छ।

दक्षिण कोरिया र जापानमा गरी ८० हजार अमेरिकी फौज तैनाथ छन् जब कि मध्यपूर्वमा करिब ५० हजार अमेरिकी सैनिक रहेका छन्।

इरान युद्धले किमको मनमा "परमाणु अस्त्र नभएका कारण" अली खामेनेई असहाय बनेको विश्वास पैदा भएको हुन सक्ने र साथै अमेरिकासँगको वार्ताले सत्ताको निरन्तरता ग्यारेन्टी नगर्ने सोच विकसित भएको हुन सक्ने वाशिङ्टन डीसीस्थित कोरिया-अमेरिका ईकोनमिक इन्स्टिट्यूटकी एलेन किमले बताइन्।

टाउन त्यसमा सहमत छिन्। "विगतका वर्षहरूमा परमाणु क्षमता विकास गर्ने क्रममा उत्तर कोरियाले धेरै कठिनाइ बेहोरेको थियो होला तर अहिलेको जस्तो समयमा आफूले सही निर्णय लिएको भन्ने किम जङ अनलाई पक्कै लागिरहेको होला किनभने परमाणु शक्तिसम्पन्न देशलाई आक्रमण गर्दा आइपर्ने जोखिम अति उच्च हुने उनलाई थाहा छ।"

थप रिपोर्टिङ र सम्पादन ग्रेस चोई र मार्क शीबाट

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।