यमनका हूथीद्वारा रेड सीमा ढुवानी अवरुद्ध पार्ने चेतावनी, मध्यपूर्वमा अमेरिकी सेना थपिँदै

पढ्ने समय: ३ मिनेट

यमनका इरानसमर्थित हूथीहरूले 'रेड सी'को दक्षिणी प्रवेशद्वारमा ढुवानी अवरुद्ध गर्ने धम्की दिएका छन्।

इरानले ठप्पप्राय: गराएको होर्मुज जलमार्गका कारण विश्वव्यापी रूपमै पहिल्यै गम्भीर आर्थिक अवरोध निम्तिएको छ। रेड सीमा तनाव उत्पन्न भएमा त्यस्तो अवस्था अझ जटिल बन्ने ठानिएको छ।

मध्यपूर्वमा एक महिनाअघि युद्ध सुरु भएदेखिको शनिवार हूथीहरूले इजरेलमा पहिलो क्षेप्यास्त्र आक्रमण गरेका थिए। इजरेलले ती क्षेप्यास्त्रहरूलाई निस्तेज पारेको थियो।

एक प्रवक्ताले आफ्नो समूहले इजरेलसँग सम्बन्धित "कैयौँ महत्त्वपूर्ण सैन्य स्थलहरू" लाई लक्षित गर्दै "क्रूज क्षेप्यास्त्र र ड्रोनहरूको ब्याराज" प्रहार गरेको जनाएका छन्।

दुई वर्षअघि हूथीको नेतृत्वमा उक्त जलमार्गमा ढुवानी प्रभावित पार्ने धम्कीले गर्दा युरोप र अमेरिका जाने अधिकांश पानीजहाजहरू अफ्रिकाको वरिपरि भएर यात्रा गर्न बाध्य भएका थिए।

यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारले भने इरानले आफ्नो देशलाई मध्यपूर्वको द्वन्द्वमा "जबरजस्ती तान्ने प्रयास" गरेको भन्दै निन्दा गरेको छ।

खाडी क्षेत्रमा पछिल्ला हमला

इरानले खाडी देशहरूमा रहेका निसानाहरूमा क्षेप्यास्त्र तथा ड्रोनहरू प्रहार गर्ने काम जारी राखेको छ।

कतार, कुवेत र यूएईमा गत रात फेरि आक्रमण भएको विवरण आएका छन्।

बाहरेनमा विश्वको सबैभन्दा ठूलो एल्यमिनिअम उत्पादकहरूमध्येको एक अल्बाले आफ्ना केन्द्रहरूमा भएका आक्रमणबाट भएको क्षतिको मूल्याङ्कन गरिरहेको जनाएको छ।

त्यसअघि इरानले बाहरेन र यूएईमा रहेका एल्यमिनिअम प्लान्टहरूलाई लक्षित गरेको बताएको थियो। तेहरानले ती केन्द्रहरूको अमेरिकी सेनासँग सम्बन्ध रहेको दाबी गरेको छ।

इजरेलले शनिवार इरानको राजधानी तेहरानमा आक्रमणको अर्को चरण पूरा गरेको जनाएको छ। त्यसमा कमान्ड सेन्टर र हतियार साइटहरूलाई लक्षित गरिएको बताइएको छ।

स्थल कारबाही हुन लागेको हो?

यसैबीच वाशिङ्टन पोस्ट पत्रिकाले प्रकाशन गरेको समाचारअनुसार पेन्टागनले इरानमा हप्तौँ चल्ने गरी स्थल कारबाहीको तयारी गरिरहेको छ।

तर त्यसलाई डोनल्ड ट्रम्पले अनुमोदन गर्ने कि नगर्ने भन्ने कुरा अझै स्पष्ट नभएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै खबरमा जनाइएको छ।

अमेरिकाले आफ्नो युद्धपोत यूएसएस त्रिपोली लिएर करिब ३,५०० सैनिकहरू यस क्षेत्रमा आइपुगेको जनाएको छ।

उक्त खबरले हालको योजनामा उक्त स्थल कारबाही पूर्ण आक्रमण नहुने, बरु स्पेशल अपरेसशन फोर्स र परम्परागत सैनिकहरूको दस्ताको मिश्रणबाट थप प्रहारहरू गर्ने कुरा रहेको उल्लेख गरेको छ।

बीबीसीले टिप्पणीका लागि ह्वाइटहाउस र पेन्टागनलाई सम्पर्क गरेको छ।

पाकिस्तानमा वार्ता

पाकिस्तानले इरानसँग पाकिस्तानी झण्डावाहक थप २० पानीजहाजहरूलाई होर्मुजको जलमार्गबाट जान अनुमति दिने सम्झौता गरेको बताएको छ।

उक्त साँघुरो जलमार्ग करिब सबैजसो पारवहनका लागि बन्द गरिएको छ।

पाकिस्तानका विदेशमन्त्री इशाक दारले मध्यपूर्वमा तनाव कम गर्ने उद्देश्यले टर्की, इजिप्ट र साउदी अरेबियाका आफ्ना समकक्षीहरूसँग आइतवार र सोमवार बैठक आयोजना गर्नुभन्दा एक दिनअघि इरानसँगको सम्झौताको घोषणा गरेका थिए।

बीबीसीका एक संवाददाताले पाकिस्तान मध्यपूर्व सङ्कटमा मध्यस्थता गर्न राम्रो स्थितिमा रहेको बताएका छन्।

इस्लामाबाद इरान र अमेरिका दुवैको नजिक छ तर उक्त देशमा कुनै पनि अमेरिकी सैन्य अड्डाहरू छैनन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।