इजरेल र इरानले एकअर्कामाथि नयाँ हमला गरिरहँदा ट्रम्पले भने 'तेहरान युद्ध अन्त्य गर्न आतुर'

पढ्ने समय: ३ मिनेट

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्नेबारे "अहिले" कुराकानी चलिरहेको र अमेरिकाले कुराकानी गरिरहेका "मानिसहरू" "सम्झौता गर्न व्यग्र रहेको" बताएका छन्।

इरानी अधिकारीहरूले वार्ताका विवरणहरूलाई "भ्रामक समाचार" भन्दै अमेरिकासँगको सम्पर्क अस्वीकार गरेको भोलिपल्ट ट्रम्पको यो भनाइ आएको हो।

इरानले तेल बजारलाई प्रभावित तुल्याउन त्यसो भनिएको आरोप लगाएको थियो।

ट्रम्पको पछिल्लो वक्तव्यको प्रभाव एशियाली तेल बजारमा बुधवार बिहानैबाट देखिएको छ।

भर्खरै आएका विवरणहरूका अनुसार ब्रेन्ट क्रुडको मूल्य ६.५ प्रतिशतले झरेर ९७.६५ अमेरिकी प्रतिब्यारल भएको छ। मङ्गलवार उक्त मूल्य १०० डलरभन्दा माथि थियो।

त्यस्तै अमेरिकामा कारोबार हुने तेलमा पनि ६ प्रतिशतको गिरावट देखिएको विवरणहरू आएका छन्।

यद्यपि यी मूल्य इरान युद्ध सुरु हुनुअघिको तुलनाका निकै नै धेरै हुन्।

उक्त द्वन्द्वले विश्वव्यापी ऊर्जा सङ्कट निम्त्याएको छ र हालैका साताहरूमा विश्वभरका सरकारहरूले आफ्नो अर्थतन्त्रमा पर्ने प्रभावलाई कम गर्ने उद्देश्यले विभिन्न उपायहरूको घोषणा गरिरहेका छन्।

द्वन्द्वका कारण वित्तीय बजारमा पनि ठूलो उतारचढाव देखा परिरहेको छ।

ट्रम्पले थप के भने

ट्रम्पले आफ्नो प्रशासनले इरानमा "सही मानिसहरूसँग कुरा गरिरहेको" बताए। साथै उनले उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुविओ उक्त छलफलमा संलग्न रहेका पनि बताए।

त्योसँगै ट्रम्पले इरानी सत्ता कहिल्यै परमाणु हतियार नबनाउनेबारे सहमत भएको पनि दोहोर्‍याए। उनले यस्तो दाबी पहिले पनि गरेका थिए। राष्ट्रपति ट्रम्पले तेहरानमा गरिएको हमलाले "सत्ता परिवर्तन" निम्त्याएको पनि बताए।

उनले इरानी वार्ताकारहरूद्वारा अमेरिकालाई दिइएको एउटा "निकै महत्त्वपूर्ण पुरस्कार"को सङ्केत पनि गरे जुन उनका अनुसार तेल र ग्यास तथा होर्मुज स्ट्रेटसँग सम्बन्धित छ।

यद्यपि त्यसबारे थप विवरण दिइएको छैन।

अमेरिका र इजरेलका सञ्चारमाध्यमहरूले अज्ञात स्रोतलाई उद्धृत गर्दै अमेरिकाले युद्ध समाप्त गर्ने सम्बन्धमा इरानलाई एउटा १५ बुँदे योजना सुम्पिएको बताइरहेका छन्। बीबीसीले ती दस्तावेजहरू देखेको छैन तर ती विवरणहरूलाई पुष्टि गर्ने कोसिस गरिरहेको छ।

बीबीसीका कूटनीतिक संवाददाता पल एडम्स इरानले "शत्रुता नभएका जहाजहरूलाई" होर्मुज स्ट्रेटबाट आवतजावत गर्न दिइने बताउनुले तेहरानले कुनै सम्झौतामा नपुग्दासम्म उक्त जलमार्गमा आफ्नो नियन्त्रण कायम गर्न चाहेको प्रष्ट हुने बताउँछन्।

बीबीसीको अमेरिकी पार्टनर सीबीएस न्यूजका अनुसार पेन्टागनले मध्यपूर्वमा '८२औँ एअरबर्न डिभिजन'का सैनिक तैनाथ गर्ने ठानिएको छ।

मध्यपूर्वमा आक्रमण जारी

यी घटनाक्रममाझ इजरेल र इरानले एकअर्कामाथिको आक्रमण र प्रत्याक्रमणलाई निरन्तरता दिइरहेका छन्।

इरानी रेड क्रेसेन्टका अनुसार युद्ध सुरु भएयता अस्पतालसहित ८२,००० स्थलहरूमा क्षति पुगेको छ।

लेबननको राष्ट्रिय समाचार संस्थाले बुधवार दक्षिणी क्षेत्रमा भएको इजरेली हमलामा कम्तीमा ६ जनाको मृत्यु भएको उल्लेख गरेको छ।

त्यस्तै दक्षिणी लेबननका बासिन्दालाई इजरेली सेनाले ठाउँ खाली गर्न चेतावनी दिएका विवरणहरू आएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।