तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बाँकेबाट रातारात गाईगोरु सुर्खेत छाडिएको घटना खोतल्दै नेपाल प्रहरी
- Author, प्रकाश पन्त
- Role, सुर्खेत, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ३ मिनेट
बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले बिहीवार रातारात ट्रकमा हालेर झन्डै दुई सयवटा गाईगोरु दैलेखतर्फ पठायो।
बाँके र बर्दियाका किसानले छाडेका र भारतबाट आएका भनिएका गाईगोरुले गर्दा दैनिक दुर्घटना हुन थालेपछि नियन्त्रणको निम्ति त्यस्तो कदम चालिएको बताइएको छ।
ट्रकमा पठाइएकामध्ये कम्तीमा १६ वटा गाईगोरु शुक्रवार बिहान सुर्खेतको कटकुवा जङ्गलमा मरेको अवस्थामा भेटिएपछि त्यसप्रति सर्वत्र चासो र चिन्ता देखा परेको छ।
गाईगोरु कटकुवामा छाडेर नगरपालिकाका कर्मचारी र सवारी चालकहरू भागेको अधिकारीहरूले बताएका छन्।
अहिलेसम्म दुई ठाउँमा गरेर २४ वटा गाईगोरु मृतावस्थामा फेला परेका छन्।
सामाजिक सञ्जालमा गाईगोरु त्यसरी मरेको र अलपत्र छोडिएको विषयमा धेरैले टिप्पणी गरेका छन्।
प्रहरी के गर्दैछ?
भागेकामध्ये पाँचवटा सवारी साधनसहित चालक र सहचालक गरी सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।
उनका अनुसार पशुपक्षीसम्बन्धी कसुरमा उनीहरूविरुद्ध अनुसन्धान थालिएको छ।
अनुसन्धानमा अहिले प्रहरीले यी प्रश्नको उत्तर खोज्दैछ:
- दैलेख नपुर्याएर गाईगोरु किन सुर्खेतमा बीच बाटोमै अलपत्र छाडियो?
- ती गाईगोरु कसरी मरे?
- कसैलाई थाहा नै नदिएरै उपमहानगरपालिकाका कर्मचारी र चालक किन रातारात भागे?
कसरी पुगे गाईगोरु सुर्खेत?
नेपालगन्ज उपमहानगरपालिकाले छाडा गाईगोरुले गर्दा दुर्घटना बढेको र बजार क्षेत्र अव्यवस्थित हुन थालेकोले छाडा गाईगोरु बाहिर पठाइएको दाबी गरेको छ।
दूध दिँदासम्म पालेर दूध दिन छाडेपछि गाईहरू छाडा छाड्ने गरिएकाले तिनको व्यवस्थापनमा चुनौती थपिएको नेपालगन्ज उपमहानगरपालिकाको भनाइ छ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले छाडा गाईगोरुलाई जङ्गलमा छाड्नुभन्दा पाल्ने किसानलाई दिन भनेर दैलेखतर्फ पठाइएको बताए।
राँगा र थारा भैँसी मासुका लागि प्रयोग हुने गरेकाले तिनको व्यवस्थापनमा समस्या देखिएको छैन।
तर नेपालमा गोवध निषेधित भएकाले धेरै ठाउँमा बहर, बूढा गोरु र थारा गाईलाई छाडा छोड्ने गरिएको छ।
के भन्छन् दैलेखका संस्था?
गाईगोरु नभएका किसानले पालून् भन्ने असल उद्देश्यले पठाइएको नेपालगन्ज उपमहानगरपालिकाको दाबी छ।
"दैलेखका केही धार्मिक संस्थासँग भएको कुराकानीका आधारमा गाईगोरु पठाएका थियौँ, तर पुर्याउन गएका मानिसको लापरबाहीले यस्तो घटना भयो,"उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भने।
नेपालगन्जबाट कटकुवासम्म गाडीमा र त्यहाँबाट एउटा धार्मिक स्थल रहेको शिरस्थानसम्म हिँडाएरै पुर्याउन गाईगोरु पठाएको बताउँदै उनले घटनाबारे बुझेर जिम्मेवार व्यक्तिहरूमाथि कारबाही गर्ने जानकारी दिए।
तर दैलेखका विभिन्न धार्मिक स्थलका सञ्चालक एवम् व्यवस्थापकले गाईगोरु नेपालगन्जबाट पठाउन लागेकोबारे कसैसँग समन्वय नभएको प्रतिक्रिया दिएका छन्।
दैलेखको प्रसिद्ध धार्मिक स्थल शिरस्थान ज्वालादेवी मन्दिरका मूलपूजारी गोकर्णनाथ योगीले त्यसबारे कसैसँग पनि कुरा नभएको बताए।
उनले प्रश्न गरे, "हामीसँग भएका १०/१५ वटा गाई पाल्नै त मुस्किल भइरहेको छ, अरू गाई किन ल्याउनू?"
अरू के भएको हुन सक्छ?
दैलेखको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले केही समययता गाउँघरबाट भैँसीहरू काठमाण्डू र तराईबाट गाईहरू हिमालतिर लैजाने क्रम तीव्र हुन थालेको अनुभव सुनाए।
उनले भने, "नेपालगन्जबाट दैलेख र कालीकोटका लागि भनेर ल्याइएका गाईगोरुहरू जुम्ला, मुगु हुँदै तिब्बत पुर्याउने गरेको सुनिन्छ।"
प्रश्न उठेको छ - त्यसको अर्थ कतै गाईगोरुको तिब्बततिर तस्करी त भइरहेको छैन?