तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड यूके : इङ्ल्याण्डमा आइसोलेशन बस्नुपर्ने नियम हटाउने प्रधानमन्त्री जोन्सनको भनाइ
- Author, फ्रान्चेस्का गिलेट र जोसेफ ली
- Role, बीबीसी न्यूज
ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले सङ्क्रमितले घरमै एकान्तमा बस्नु पर्ने नियम लगायत महामारी नियन्त्रणका लागि इङ्ल्याण्डमा बाँकी रहेका सबै प्रतिबन्धहरू यसै महिनाको अन्त्यसम्ममा हटाइने बताएका छन्।
इङ्ल्याण्डमा अहिले कोभिड सङ्क्रमण पुष्टि भएका व्यक्तिहरू पाँच दिनसम्म घरमा एकान्तबास, आइसोलेशनमा बस्नुपर्ने नियम छ। हाल लागु यस्ता प्रतिबन्धहरूको आगामी मार्च २४ सम्मका लागि थिए।
तर जोन्सनले सङ्क्रमण घट्दै गए छिट्टै आन्तरिक प्रतिबन्धहरू हटाउने त्यहाँका सांसदहरूलाई बताए।
उनले संसद् अधिवेशन स्थगन भएको समयमा कोभिडसँगै बाँच्ने सरकारको रणनीति तयार गर्न आफूले काम गर्ने जानकारी गराएका छन्।
"संसद् अधिवेशनको मध्यावधि स्थगन पछिको पहिलो बैठकमा कोभिडसँगै बाँच्ने हाम्रो रणनीति लिएर आउने मेरो सोच छ," संसद्मा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमका क्रममा उनले बताए।
"अहिलेजस्तै सङ्क्रमणको तथ्याङ्क उत्साहजनक रूपमा घट्दै गएको अवस्थामा सङ्क्रमण पुष्टि भएपछि आफूलाई आइसोलेशनमा राख्नुपर्ने कानुनी बाध्यता सहितका आन्तरिक प्रतिबन्धहरू एक महिना अघि नै हटाउन सकिन्छ कि भन्ने अपेक्षा छ।"
ज्यानुअरीको अन्त्यबाट कोभिड सङ्क्रमण दर निरन्तर ओरालो लागिरहे पनि त्यहाँ बुधवारमात्रै ६८ हजारमा सङ्क्रमण पुष्टि भएको थियो।
प्रधानमन्त्री कार्यालयले कोभिड प्रतिबन्ध सम्बन्धी कानुनहरूलाई निर्देशिकाहरूले प्रतिस्थापन गर्ने र उदाहरणका लागि कोभिड भएका व्यक्तिहरूलाई काममा नजान आग्रह गरिने जनाएको छ।
गत ज्यानुअरीमा जोन्सनले मार्च २४ को अवधि सकिएपछि प्रतिबन्धहरू कायम नरहने तर त्यसअघिनै पनि प्रतिबन्धहरू हट्न सक्ने सङ्केत गरेका थिए।
स्कटल्याण्डको सरकारले भने यही महिनाबाट अवधि समाप्त हुन लागेको अनिवार्य मास्क र कतिपय स्थलमा खोप कार्ड अनिवार्य गरिएको कानुनलाई आगामी सेप्टेम्बरसम्म लम्ब्याउन लागेको छ।
प्रतिबन्धको अवधि थप गरिएको घोषणा गर्दै डेप्युटी फस्ट मिनिस्टर जोन स्वीनीले यसबारेका विकल्पहरूलाई खुला नै राख्न जरूरी रहेको र प्रतिबन्ध बीचैमा हटाउन पनि सकिने बताएका छन्।
इङ्ल्याण्डमा लेबर पार्टीका छाया स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले प्रधानमन्त्रीको प्रस्ताव "आफूलाई राजनीतिक सङ्कटबाट बाहिर ल्याउने आधार बिनाको योजना" भनेका छन्।
लकडाउनको समयमा आयोजना गरेका पार्टीहरूका कारण प्रधानमन्त्री जोन्सनले आलोचना खेपिरहेका छन्।
स्ट्रिटिङले "कोभिडसँगै बाँच्नका लागि वास्तविक योजना" चाहिने बीबीसीसँग बताए। प्रधानमन्त्री कार्यालयले यात्रा नियमहरूमा पनि परिमार्जन हुने जनाएको छ।
यूके जाने यात्रुहरूका लागि शुक्रवारबाटै यात्रा प्रतिबन्ध खुकुलो बनाइँदै छ। पूर्ण मात्रामा खोप लगाएका यात्रुहरूले अब कोभिड परीक्षण गरिरहनु पर्दैन भने खोप नलगाएका यात्रुहरूले परीक्षण गरे पुग्छ, यसअघि जस्तो आइसोलेसनमा बस्नु पर्दैन।
तर यूके जाने सबै यात्रुहरूले आफू बस्ने स्थानबारे जानकारी दिने फर्म भर्नुपर्नेछ। यूके बाहिर जानेहरूले चाहिँ गन्तव्य देशको नियम अनुसारका मापदण्ड पालना गर्नुपर्ने हुन्छ।
प्रवेशका लागि १२ वर्ष माथिका बालबालिकाले अनिवार्य खोप लगाएको हुनुपर्ने नियमका कारण यूकेका धेरै परिवारहरूले बिदा मनाउन स्पेन जाने योजना रद्द गरेका समाचारहरू आएका छन्।