युक्रेन युद्ध: खाना पकाउने तेलको सबैभन्दा ठूलो आयातकर्ता भारतलाई कसरी असर परेको छ?

विश्वको सबैभन्दा ठूलो पाम तेल उत्पादक इन्डोनेशियाले गत साता यसको सबै निर्यातलाई रोक्ने घोषणा गर्‍यो।

कोरोनाभाइरसको महामारी र युक्रेन युद्धका कारण बढेको मूल्य स्थिर बनाउनका लागि यो घोषणा गरिएको इन्डोनेशियाले जनाएको छ।

खाना पकाउने तेल भारतीय आहारको एउटा अभिन्न अङ्ग हो।

त्यतिसम्म हो कि भारत विश्वमै खाना पकाउने तेल आयात गर्ने सबैभन्दा ठूलो र उपभोग गर्ने दोस्रो ठूलो देश हो।

भारतमा आवश्यकताको करिब ५६ प्रतिशत आयात सातभन्दा बढी देशहरूबाट हुने गर्छ।

भारतीयहरूले धेरैजसो खाना पकाउनका लागि पाम, भटमास र सूर्यमुखीको तेल प्रयोग गर्छन्।

आवश्यकताको ९० प्रतिशत पाम तेल त भारतमा इन्डोनेशिया र मलेशियाबाट आयात हुन्छ। त्यसको झन्डै आधा त इन्डोनेशियाबाट मात्रै भित्रिन्छ।

भारतमा आधाभन्दा बढी सूर्यमुखी तेल रुस र युक्रेनबाट आयात हुन्छ जुन विश्वव्यापी निर्यातको करिब ८० प्रतिशत हो।

आयातमा निर्भरता

एउटा प्रतिवेदनका अनुसार युक्रेन युद्धका कारण अर्को आर्थिक वर्षमा सूर्यमुखी तेलको आपूर्तिको २५ प्रतिशतले कटौती हुने छ।

यो वर्ष भारतले खाना पकाउने तेलको आयातका लागि करिब २० अर्ब अमेरिकी डलर खर्च गर्नेछ जुन दुई वर्षअगाडि भन्दा दोबर हो।

खाना पकाउने तेल व्यापार गर्ने संस्था सल्भेन्ट एक्स्ट्र्याक्टर एशोशियसनका कार्यकारी निर्देशक बिभी मेहताले भने, "कुनै पनि देश आयातमा यति धेरै भर पर्न हुँदैन। यो ठूलो सङ्कट हो।"

"आयातमा हाम्रो निर्भरता घटाउन हामीले यो युद्धबाट सिक्न आवश्यक छ।"

सरकारले मूल्य स्थिर राख्न खाना पकाउने तेलमा भन्सार महसुलमा कटौती गरेको छ।

तर सन् २०२० यता बढ्दो मूल्य र युक्रेन युद्धका कारण आपूर्तिमा बाधा परेको छ। पाम तेलको विश्वव्यापी मूल्यमा दुई वर्षमा ३०० प्रतिशतभन्दा बढी वृद्धि भएको छ।

भारतमा घरेलु प्रयोगदेखि होटल, रेस्टुरेन्ट र बेकरीसम्म सस्तो पाम तेल नै रुचाइन्छ।

एक महिनाभन्दा कम समयमा खाना पकाउने तेलको मूल्य २० प्रतिशतभन्दा बढेको छ।

देशभरि सडकमा पाइने सस्ता खानेकुराहरू तेलमै तारिएका हुन्छन्। चामल, गहुँ र नुनसँगै भारतीयका लागि खाना पकाउने तेल पनि मुख्य उपभोग्य वस्तु हो।

भारतको खाद्य निकायका सबैभन्दा उच्च अधिकारी सुधांशु पाण्डेले भने, "खाना पकाउने तेलको मूल्य वृद्धिले पक्कै पनि असर पुर्‍याएको छ।"

देशमै उत्पादनको प्रस्ताव

यसले खाद्यान्नको मूल्य पनि सजिलै बढाउँछ।

संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनका खाद्य अर्थशास्त्री डि याङले मूल्य यही स्तरमा बढ्दै गए "छोटो अवधिमा आयात अभावलाई भरथेग गर्न झन्डै अन्य विकल्प नहुने" भन्दै आपूर्तिलाई सीमित बनाउनुपर्ने बताएका छन्।

अभावलाई आंशिक रूपमा क्षतिपूर्ति गर्न भारतले यो वर्ष तोरी र भटमासको उब्जनी राम्रो हुने आशा राखेको छ।

"हाम्रो घरेलु उत्पादनमा वृद्धि हुनुको अर्थ भारतले अझै पनि खाने तेलमा विश्वव्यापी रूपमा बढेको रकमको पूर्ण असर भोगेको छैन भन्ने हो," पाण्डेले भने।

"तर अन्त्यमा हामी आत्मनिर्भर हुनुपर्छ र यो तब मात्रै हुन्छ जब किसानहरूले तेल उत्पादन हुने बिउको राम्रो मूल्य पाउँछन्।"

एउटा योजना भनेको थप पाम तेल उत्पादन बढाउनु हो। यस अर्थमा योजना राम्रो देखिन्छ: यो एकदमै उत्पादन हुने बाली पनि हो र यसबाट भटमासजस्ता तेलहन बालीभन्दा बढी तेल उत्पादन हुने गर्छ।

पाम तेल एकदमै बहुप्रयोग हुने तेल हो जुन औद्योगिक क्षेत्रमा पनि प्रयोग हुन्छ।

पामको बिरुवालाई धेरै पानी चाहिन्छ र नयाँ बिरुवा रोप्न जङ्गलको ठूलो भूभागमा रुख कटान गर्नुपर्छ। सरकारले भारतको पहाडी पूर्वोत्तर क्षेत्रमा एकतिहाइ पामका बिरुवा रोप्न प्रस्ताव गरेको छ।

भारतमा पाम तेलको घरेलु उत्पादन बढाउने सरकारी योजना अहिले केवल २.७ प्रतिशत रहेको छ र त्यो नगण्य भएको पाण्डेले बताएका छन्।

अहिलेका लागि भने भारतीयहरू खाना पकाउने तेलका लागि "सस्तो विकल्प" तर्फ लागेका छन्।

तेलको प्रयोगमा कमी आउला?

परम्परागत रूपमा भारतीयहरू आफू बस्ने ठाउँ अनुसार तोरी, नरिवल, बदाम र तिललगायतका वासनादार तेलमा खाना पकाउँछन्।

सूर्यमुखी र पामजस्ता विदेशी तेलको प्रयोग सम्भवतः सहरीकरण र विश्वव्यापीकरणसँग जोडिएको छ। यी तेल सस्तो छ र त्यसलाई स्वास्थ्यकर भनेर बिक्री गरिएको छ।

धेरै मानिसहरू सहरमा सर्दा र देशभित्रै अर्को ठाउँमा सरेर बस्दा धेरैजसो खाना पकाउन वासना र रङ्ग नहुने तेल प्रयोग गर्छन्।

यी तेलको मूल्य वृद्धिको मारमा भारतीयहरू परेका छन् जसले जीवनयापनको खर्च खुम्चिएको समस्या झेलिरहेका छन्।

"यो मूल्यवृद्धिले हाम्रो पकाउने अभ्यासलाई धेरै असर गर्छ," खानासम्बन्धी एक कार्यक्रमका प्रस्तोता राकेश रघुनाथन भन्छन्।

"तर के थाहा यो सङ्कटले मानिसहरूलाई किफायती रूपमा तेलको प्रयोग गर्न झकझकाउँछ कि." खानेकुराबारे लेख्ने सादिया धैले भन्छिन्।

"आखिर धेरै भारतीयलाई अझै पनि एकदमै तारेको खानेकुराहरू मन पर्छ।"