हिलरी नेल्सन: महिला पर्वतारोहीहरूकी प्रेरणाकी स्रोत

    • Author, नवीन सिं खड्का
    • Role, वातावरण संवाददाता, बीबीसी विश्व सेवा

मनास्लु हिमालमा ज्यान गुमाएकी अमेरिकाकी चर्चित स्की पर्वतारोही हिलरी नेल्सनको आइतवार बौद्ध परम्परा अनुसार काठमाण्डूमा अन्तिम संस्कार गरिएको छ। सहकर्मी आरोहीहरूले उनलाई सम्झँदै उनी एउटा पुस्ताका महिला पर्वतारोहीका लागि प्रेरणादायी व्यक्तित्व भएको बताएका छन्।

सन् २०१२ मा हिलरी नेल्सन विश्वको सर्वोच्च शिखर सगरमाथा र त्यो नजिकै अवस्थित ८,५१६ मिटर अग्लो ल्होत्से हिमाल २४ घण्टाभित्र आरोहण गरेकी थिइन्।

त्यसको ६ वर्षपछि उनी र उनका प्रेमी जिम मोरिसन उक्त हिमालबाट स्की गर्दै तल झर्ने पहिलो आरोही बनेका थिए।

अघिल्लो महिनाको सेप्टेम्बर २६ मा उक्त जोडी ८,६१३ मिटर अग्लो मनास्लु हिमालको चुचुरोबाट स्की गर्दै थिए। तर त्यही बेला एउटा हिम पहिरो गयो जसका कारण ४९ वर्षको उमेरमा हिलरीको निधन भयो।

प्रेरणाकी स्रोत

उनलाई सम्मान व्यक्त गरिरहेका धेरैले उनी कुनै पनि पुरुष आरोहीको बराबरी रहेकी महिला आरोही रहेको बताएका छन्।

"उनी नाम चलेका पुरुष पर्वतारोहीहरू सहभागी हुने खालका साहसिक खेलमा सक्रिय थिइन्," हिलरी नेल्सन र जिम मोरिसन मनास्लुको शिखर आरोहणका लागि निस्कनुअघि उनीहरूसँगै रहेका अन्तर्राष्ट्रिय पर्वतारोहण गाइड डेभ वाट्सनले भने।

"उनको प्रयासले 'पहिलो पुरुष'/'पहिलो महिला' भन्ने विशेषणलाई मेटाइरहेको थियो, 'पहिलो व्यक्ति' भन्न थालिएको थियो।"

"उनी सफल पर्वतारोहण सम्बन्धी खेलकी सर्वाधिक सफल व्यक्ति थिइन् र उनले सुन्दर र प्रसन्न ढङ्गले आफ्ना गतिविधिहरू गरिन्। उनको प्रभावलाई कम आँक्न सकिँदैन।"

हिलरीको अन्तिम संस्कारमा सहभागी भएकी ३६ वर्षकी स्विडिस आरोही र साहसिक खेलाडी मारिया ग्रानबर्गले उनी उदाहरणीय व्यक्तित्व भएको बताइन्।

हिलरीलाई एक जना 'जिज्ञासु, प्रतिवद्ध, दुर्लभ र कठिनाइको सामना गर्दै अघि बढेकी महिला'का रूपमा उनले चित्रित गरिन्।

ग्रानबर्गका अनुसार आफूहरू जस्ता महिलालाई उनी प्रेरणाको स्रोत थिइन्।

हिलरी नेल्सन कस्ती थिइन्?

थप अक्सिजन बिना सगरमाथाको आरोहण गरेकी पहिलो महिला अमेरिकी आरोही मेलिसा आर्नोट रिडले हिलरी नेल्सनलाई १० वर्षअघि नेल्सनले सगरमाथा र ल्होत्से हिमाल २४ घण्टाभित्र आरोहण गर्दा भेटेकी थिइन्।

"उनी ज्यादै बलियी र प्रतिवद्ध थिइन्, जोखिम मोल्न चाहने इच्छाशक्ति उनमा थियो," उनले बीबीसीसँग भनिन्।

"यो उद्योगमा रहेको एक जना महिलाको नाताले बाहिर कमजोर नदेखिईकन जोखिम उठाउनु ज्यादै कठिन छ। तर उनले त्यो एकदमै सही ढङ्गले गरिन् र त्यस क्रममा त्यस्तो गर्नु सम्भव छ भनेर मलाई पनि देखाइन्।"

उनी थप्छिन्, "उनको आरोहण क्षमता र शारीरिक तन्दुरुस्ती मजबुत थियो। मलाई के लाग्छ भने मानवले गर्नै नसक्ने खालका कामहरू गर्दा पनि ज्यादै मानवीय गुणहरू देखाउने महिलाका रूपमा अधिकांश समयमा उनको सम्झना गरिनेछ।"

हिलरी नेल्सन १६ वटा देशमा ४० वटा आरोहणदलमा सहभागी भइन् जसमा उच्च हिमालय क्षेत्रदेखि दुर्गम म्यानमारमा अवस्थित हिमाल पनि पर्छन्।

सन् २०२० मा उनले अन्टार्कटिकाका दुई सर्वोच्च हिमालको आरोहणकी गरेकी उनी ती चुचुराबाट स्की गर्दै तल झरेकी थिइन्।

नेपाली हिमालयहरू आरोहण गर्ने टोलीहरूको तथ्याङ्क राख्ने हिमालयन डेटाबेसकी प्रमुख बिल्ली बिअरलिङले सन् २०१८ मा ल्होत्से हिमालको चुचुरोबाट फर्कने क्रममा हिलरीले स्की मार्फत् कीर्तिमान कायम राखेपछि उनलाई भेटेकी थिइन्।

"उनलाई भेट्नु सुखद थियो। उनी महान् स्की पर्वतारोही थिइन्,"उनले भनिन्।

"सम्पूर्ण पर्वतारोहण क्षेत्र अझै पनि पुरुषकै हातमा छ। केही राम्रा महिला आरोहीहरू छन् तर हिलरी एक जना कुशल स्कीअर पनि थिइन्। हिमालमा गर्ने स्की मुख्यतया पुरुष प्रधान नै छ।"

हिलरी नेल्सन र जिम मोरिसन मनास्लुको चुचुरोतर्फ जानुअघि डेभ वाटसन उनीहरूसँगै थिए। जोडले हावा चलिरहेको र हिम पहिरोको जोखिमका कारणले उनी क्याम्प तीनमै बस्ने निर्णयमा पुगे।

वास्तवमा उक्त जोडी मनास्लुको चुचुरोमा पुगेकै दिन त्यहाँ अर्को हिम पहिरो गयो जसमा परेर एक जना शेर्पाको निधन भएको थियो भने एक दर्जन भन्दा बढी आरोहीहरू घाइते भएका थिए।

हिलरी नेल्सन हिम पहिरोमा परेको देखेका जिम मोरिसन सुरक्षित रूपमा तल झरे र उनले दुई दिनपछि बुधवार उनको शवलाई फेला पारेका थिए।

बिअरलिङका अनुसार पर्वतारोहीहरूको समुदायबाट व्यक्त समवेदनाले नेल्सनको निधनले सो समुदायमा परेको गहिरो पीडालाई अभिव्यक्त गरेको बताए।

"उनी दुई जना सुन्दर बच्चाहरूलाई माया गर्ने प्रतिवद्ध आमा थिइन्…. उनले आफ्नो सपना पूरा गरिन्। उनी सुन्दर थिइन् र उनी सधैँ विनम्र थिइन्।"